ad ad

समाज


दोलखाका तत्कालीन सीडीओ रिजालविरुद्ध भ्रष्टाचार मुद्दा

दोलखाका तत्कालीन सीडीओ रिजालविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
माघ २०, २०७६ सोमबार १०:१९,

घुससहित पक्राउ परेका जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालविरुद्ध आरोप पत्र दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रिजालविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। उनीविरुद्ध छुट्टाछुट्टै रुपमा पाँचवटा विगो कायम गरी मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ। कूल विगो रकम ६ लाख ५२ हजार ६ सय कायम गरी पाँचवटा आरोप पत्र दायर गरिएको हो।

रिजाललाई रिजालले आफ्नो क्षेत्राधिकार भित्रका मुद्दाका अभियुक्तहरुलाई धरौटीमा रिहा गर्न निजहरुसँग घुस, रिसवत लिई भ्रष्टाचारजन्य कार्य गरेको सम्बन्धमा थप अनुसन्धानको लागि नियन्त्रणमा लिएको थियो।

सेवाग्राहीसँग घुस लिएकाे आराेप लागेका दाेलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी रिजाललाई मंसिर २४ गते गृह मन्त्रालयले निलम्बन गरेकाे थियाे। उनलाई अख्तयारकाे टाेलीले गत पुस १५ गते नियन्त्रणमा लिएकाे हाे।

अनुसन्धानको सिलसिलामा रिजालले आफ्नो ओहदाले गर्नुपर्ने कार्य नगरी महिलासम्बन्धी केश लाग्छ, थुनिदिन्छ, जागिर जान्छ, जिल्ला प्रशासन कार्यालयमा हाजिर गराउँछु भनी मोलाहिजा गरी डरत्रास देखाई गालीगलौज गरी धरौटी भनी झुक्याई सेवाग्राहीहरुबाट घुस/रिसवत लिएकाे अख्तियारले जनाएको छ।

यस्तै, उनले भ्रमण खर्च नियमावली २०६४ बमोजिम भ्रमण अभिलेख खातामा दर्ता नगरी, खाता नै खडा नगरी र कुनै प्रतिवेदन पेश नगरी, कतिपय भ्रमण आदेश र दैनिक तथा भ्रमण खर्चको बिलमा स्वीकृत गर्ने अधिकारी पदाधिकारीको दस्तखतसमेत नगरी तथा अनुगमन गएको भनी भ्रमण भत्तासमेत बुझेका दिनहरुमा अनुगमनमा नै नगई कार्यालयमै बसी आफैले सुरक्षा समितिको बैठक राखी उपस्थित भई हस्ताक्षरसमेत गरी बिभिन्न पत्रहरुमा हस्ताक्षर गरी र म्याद थपको आदेशसमेत गरेको देखिएको जनाइएकाे छ।

रिजालको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर भएकोले ठहरसहित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय गरी हिनामिना, हानिनोक्सानी गरेको बिगो रकम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम असुलउपर हुन समेत मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .