ad ad

समाज


कर्णालीका नागरिकलाई हवाई भाडामा सहुलियत दिन माग

कर्णालीका नागरिकलाई हवाई भाडामा सहुलियत दिन माग

नेपालखबर
साउन ३०, २०८० मंगलबार १९:१०, काठमाडौँ

कर्णाली पर्यटन उद्यमी समाजले दिउँसो १२ बजेपछि कर्णालीमा हवाई उडान हुन नदिने नागरिक उड्डयन प्राधिकरणको निर्णयलाई सच्याउन माग गरेको छ।

मंगलवार काठमाडौंमा एक अन्तरक्रियाको आयोजना गर्दै कर्णाली पर्यटन उद्यमी समाजले अनुकुल मौसम हुँदा पनि दिउँसो १२ बजेपछि कर्णालीमा हवाई उडान हुन नदिने निर्णय गरिएको भन्दै सो निर्णय तत्काल सच्याउन नागरिक उड्डयन प्राधिकरणसँग माग गरेको हो।

प्राधिकरणको सो निर्णयले कर्णालीका आम जनता, विद्याथी, कर्मचारी, पर्यटक तथा दैनिक उपभोग्य सामग्रीको ओसार–पसारमा समस्या भएको कर्णाली पर्यटन उद्यमी समाजका अध्यक्ष देवीकृष्ण रोकायाले बताए।

उनले मौसम अनुकुल भएको बेलामा दिनभर उडान गर्न सक्नेगरी निर्णय गरिदिनुपर्ने बताए। त्यसैगरी हवाई टिकटमा १३ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था हटाउन पनि समाजले माग गरेको छ।

कर्णालीका नागरिकहरुको हवाई सेवा बाहेक अरु विकल्प नभएको भन्दै अध्यक्ष रोकायाले बिरामी, शव, खाद्यान्न सामग्रीमा समेत कर तिर्नुपर्ने बाध्यतालाई हटाउन सरकार समक्ष माग गरिएको बताए।

त्यसैगरी भारतीय पर्यटकहरुलाई नेपाली बाटो हुम्लाको हिल्सा हुँदै मानसरोबरसम्म जान दिनका लागि चीन सरकारसँग कुटनीतिक पहल गर्न सरकारसँग माग गरिएको छ।

अध्यक्ष रोकायाले कर्णालीका हिमालहरु पहिचान गरी पर्यटकहरुलाई आरोहणका लागि खुला गर्नुपर्ने बताए। कर्णालीको समग्र विकासका लागि रारा पर्यटन विकास प्राधिकरण वा कर्णाली विकास बोर्डको स्थापना गर्नुपर्ने पनि उनको भनाई छ।

त्यस्तै कर्णालीमा सेवा दिँदै आएका बिमान कम्पनीहरुलाई हवाई इन्धन, ल्यान्डिङ, पार्किङ र करमा विशेष छुट दिई सहुलियत भाडा दर कायम गराउनुपर्ने पनि माग गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .