ad ad

समाज


दलित अगुवाको दाबी- बझाङमा बाहुनको घरभन्दा माथि दलितको घर बनाएको भनेर भत्काइएको हो

दलित अगुवाको दाबी- बझाङमा बाहुनको घरभन्दा माथि दलितको घर बनाएको भनेर भत्काइएको हो

घर भत्काइएको दृश्य


नेपालखबर
साउन १४, २०८० आइतबार २०:४३, काठमाडौँ

दलित समुदायका अगुवाले बझाङमा भएको घटनाका दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन्। 

यहाँ आज आयोजित पत्रकार सम्मेलनमार्फत उनीहरुले वित्थडचिर गाउँपालिका वडा नं ७ स्यालढुङ्गाको बाहुनबस्तीनजिकै पुड्के ओखडाले बनाउँदै गरेको घर केही समूहले भत्काएको र उक्त घटनामा संलग्नलाई कारबाही गर्न माग गरेका हुन्। 

यही साउन १० गते स्थानीय कृष्ण जोशी, भवानी जोशी, कित्थे जोशीलगायत ४० भन्दा बढी बाहुनले बाहुनको घरमाथि दलितले घर बनाउन नमिल्ने भन्दै निर्माणाधीन घर भत्काइ दिएका थिए। जातीय भेदभावजन्य गालीगलोज, कुटपिट र निर्माणाधीन घर भत्काउँदै उनीहरुले रु १२ लाख बराबरको चलअचल सम्पत्ति नष्ट गरिदिएको दलित अगुवाको दाबी छ। 

त्यसैगरी कैलालीको गैरीगङ्गा नगरपालिका–७ की सरस्वती खड्का र गोदावरी नगरपालिका–९ का सुरेश विश्वकर्माले अन्तरजातीय विवाह गर्दा भोग्नुपरेको पीडाबारे पनि दलित अगुवाहरुले सरकारको ध्यानाकर्षण गराएका छन्। 

सोही अवसरमा पूर्वराज्यमन्त्री एवं नेकपा एमालेका केन्द्रीय सदस्य आशा विकले जातीय विभेदका कुनै पनि घटनालाई राजनीतिकरण गर्न नहुने बताइन्। नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा दलित मुक्ति सङ्गठनका केन्द्रीय अध्यक्ष गणेश विकले सार्वजनिक जग्गामा घर बनाएको भनेर बझाङको उक्त घटनालाई तोडमोड गर्ने काम भइरहेको दाबी गरे।

संविधानसभाका सदस्य तथा नेकपा एमालेका केन्द्रीय सदस्य अफिलाल ओखेडाले अझै पनि सिङ्गो दलित समुदाय विभेदले आक्रान्त रहेको बताए। जातीय विभेदका घटनामा संलग्न सबै व्यक्तिलाई जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८ बमोजिम कडाभन्दा कडा कारबाही गर्न अगुवाहरुको माग छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .