ad ad

समाज


ललिता निवास जग्गा प्रकरण : बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ आज पनि, आउला आदेश?

ललिता निवास जग्गा प्रकरण : बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ आज पनि, आउला आदेश?

नेपालखबर
साउन २, २०८० मंगलबार १०:१९, काठमाडौँ

ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका चारजनाको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा आज (मंगलबार) पनि सुनुवाइ हुने भएको छ। 

उक्त निवेदन आज पनि सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा हुनेछ। सोही इजलासमा हिजो सुरु सुनुवाइ निवेदकका तर्फबाट बहस गर्ने धेरै जना हुँदा नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो। 

गत असार १२ गते पक्राउ परेका मीनबहादुर गुरुङ, सुधीरकुमार शाह, धर्मप्रसाद गौतमले असार १३ गते रिहाइको माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका हुन्। 

यस्तै सचिव कृष्णबहादुर राउतले पक्राउ परेको तीन दिनपछि असार २७ गते रिहाइको माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका छन्।  उनीहरूले रिहाइको माग गरिरहँदा प्रहरी प्रधान कार्यालयले भने पहिल्यै सर्वोच्चले दिएको अन्तरिम आदेश खारेज गर्न माग गरेको छ।

सर्वोच्चले प्रतिवादीमध्ये १७ जनालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेपछि प्रहरी प्रधान कार्यालयले उक्त आदेश खारेज गर्न माग गरेको हो। 

पक्राउ नगर्न माग गर्दै निवेदन दिएका टीकाराम घिमिरेसहितका निवेदन पनि साथै राखिएको छ। 

मंगलबार अदालतले अब एकसाथ आदेश सुनाउने सम्भावना छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बालुवाटार जग्गा प्रकरणमा उनीहरूसहितलाई पक्राउ गरेर किर्ते र संगठित अपराधको कसुरमा अनुसन्धान गरिरहेको छ।

सर्वोच्चले रिहा गर्न आदेश नदिए सीआईबीले उनीहरूलाई ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउने छ। सीआईबीले ४०६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ। यसअघि बालुवाटार जग्गा प्रकरणमै अख्तियारले पनि मुद्दा चलाएको थियो।

तर अख्तियारले सीआईबीले भन्दा कमलाई प्रतिवादी बनाएको थियो। अहिले पनि यो मुद्दा विशेष अदालतमा विचाराधीन छ। मीनबहादुरसहित अख्तियारको मुद्दामा धरौटीमा रिहा भएका हुन्। 

तर, सचिव राउत लगायतविरुद्ध भने अख्तियारले मुद्दा चलाएको थिएन।

सम्बन्धित समाचार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .