ad ad

समाज


श्रीमती र डेढ वर्षीय छोरा भेट्न जाँदै थिए सुमन, झ्याप्लेखोलामै बिलायो बेलायत जाने सपना

सधैँ मोटरसाइकलमा हिँड्ने सुमन मौसम खराब भएपछि चढे माइक्रो
श्रीमती र डेढ वर्षीय छोरा भेट्न जाँदै थिए सुमन, झ्याप्लेखोलामै बिलायो बेलायत जाने सपना

सुनिता विष्ट
असोज १४, २०८१ सोमबार १९:५४, मकवानपुर (हेटौंडा)

बिहीबार बिहानैदेखि झमझम परेको पानी।

भेलिपल्ट अर्थात् शुक्रबारका दिन जसरी पनि काठमाडौँ पुग्नु थियो चितवनका सुमन बजगाईंलाई।

श्रीमती डिनिशा पोखरेल बजगाईंको परिक्षा थियो। श्रीमतीको परीक्षाको दिनमा सानो छोरा हेर्न पर्ने सुमनको बाध्यता थियो। सँगसँगै छोरा र श्रीमती भेट्न पनि सुमन काठमाडौँ हिडेँका थिए।

रत्ननगर नरपालिका–१२ जमुनापुरका ३५ वर्षीय सुमन काठमाडौँ जानका लागि शुक्रबार दिउँसो माइक्रोबस चढे।

सुमनकी श्रीमती डिनिशा केही महिनादेखि काठमाडौँनै बस्दै आएकी थिइन्। यूके (बेलायत) जानका लागि काठमाडौँ बसेर पढिरहेकी उनले आफ्नो परीक्षा भएको कारण सुमनलाई काठमाडौँ बोलाएकी थिइन्।

परीक्षा सकाएर सँगै चितवन फर्कने तयारीका साथ सुमन घरबाट काठमाडौँ गएको सुमनका काका कृष्ण बजगाईं बताउँछन्। 

‘बुहारी यूके जान लागेकी थिइन्, उनकै परीक्षा छ भनेर छोरो काठमाडौँ आएको थियो,’ बजगाईंले नेपालखबरसँग भने, ‘बाटोमा हुँदा छोरा बुहारीको कुरा भइरहेको थियो रे। पानीका कारण मुग्लिनको बाटोमा ठाउँ/ठाउँमा पहिरो खसेको कारण काठमाडौँ पुग्न धेरै बेर लाग्यो। जाममा परेको छु भनेर बुहारीसँग कुरा भएको थियो रे। त्यसपछि फोन, खबर खाबर केही भएन।’

उनले मलिनो स्वरमा थपे, ‘पहिरोमा परेर यस्तो अवस्था भइसकेको रहेछ।’

सुमन र डिलिशाको ५ वर्षअघि बिवाह भएको थियो। उनीहरूका डेढ वर्षका एक छोरा छन्। सुमनले रत्न नगरमा पोल्ट्रि व्यवसाय गर्दै आएको रत्ननगर नगरपालिका–१२ का वडाअध्यक्ष सुन्दरमणी सुवेदीले बताए।

अरु समयमा प्रायः मोटरसाइकलमै यात्रा गर्ने सुमनले त्यो दिन बाटो खराब छ भन्दै माइक्रोमा काठमाडौँ निस्किएका थिए। सोही वडाका वडासदस्य किसन बजगाईंका अनुसार सुमन चितवन आसपासमा यात्रा गर्दा प्रायः कहिल्यै सार्वजनिक सवारीमा यात्रा गर्दैनथे।

सुमनका दाजु समेत नाता पर्ने वडासदस्य किसनले नेपालखबरसँग भने, ‘टाढा जाँदा मौसम सफा भएको बेला मोटरसाइकल नै लान्थ्यो। पानी परिरहेको कारण त्यो दिन गाडिमा गएछ। यस्तो घटना घट्न पुग्यो।’

सुमनमा ६५ बर्षका बुवा हरि बजगाईँ र ६१ वर्षकी आमा चन्द्रामाया बजगाईं हाल आफ्नो कान्छो छोराको शवको पर्खाइमा तड्पिरहेका छन्।

सुमन बा ३ ख १३४५ नम्बरको माइक्रो बसमा सवार थिए। 

नारायणगढको पुलचोकबाट काठमाडौँका लागि छुटेको थियो। झ्याप्ले खोलाको पहिरोमा ४ वटा बसबाट ३५ वटा शव निकालिएको छ। 

शव पोष्टमार्टमका लाथि त्रिवि शिक्षण अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक प्रल्हाद सिलवालले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .