ad ad

समाज


सूर्यदर्शन ठगीमा लीला पछाईं पक्राउ

जीबीसँगको साँठगाठले बचतकर्ताको ३ करोड लीलाको खातामा
सूर्यदर्शन ठगीमा लीला पछाईं पक्राउ

नेपालखबर
असोज १५, २०८१ मंगलबार १८:५६, पोखरा

सूर्यदर्शन सहकारीको बचत रकम ठगी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले गुल्मीको मुसीकोट नगरपालिका–४ स्थायी घर भइ ललितपुर १५, खुमलटार बस्ने ३२ वर्षीया लीला पछाईंलाई पक्राउ गरेको छ।

प्रहरीले उनलाई आइतबार पक्राउ गरेको हो।

उनीमाथि सूर्यदर्शनका अध्यक्ष तथा बचत हिनामिनाका मुख्य अभियुक्त गीतेन्द्रबाबु राईसँग मिलेर ३ करोडभन्दा बढी रकम आफ्नो खातामा सारेको अभियोग रहेको छ।

प्रहरीका अनुसार सहकारीबाट लगेको सो पैसाबाट उनले चल–अचल सम्पत्ति खरिद गरेको तथा शेयर कारोबारसमेत गर्ने गरेको कास्की प्रहरीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले बताए।

लीला पछाईं र जीबी राईबीचको सम्बन्ध के हो भन्ने प्रहरीले खुलाएको छैन। लीला यो सहकारी प्रकरणमा नाम किटान भएकी र फरार सूचीमा भएकी व्यक्ति पनि हैनन्।

तर, छानबिनको क्रममा सहकारीबाट अवैध रुपमा उनले सहकराीबाट रकम गएको देखिएको हो। जीबी राईको नजिककी मित्रको रुपमा रहेकी र राजनीतिक नेतृत्वलाई रिझाउने उपक्रममा खर्चने पैसासमेत सूर्यदर्शनबाट उनकै नाममा लगिएको स्रोतको दाबी छ। 

सूर्यदर्शन सहकारी प्रकरणको अनुसन्धान गर्न आएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली पोखरामै छ। सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठका अनुसार सीआइबीको टोलीसँग उनीहरूले आफ्ना कुरा राखेका छन्। 

‘अहिले राष्ट्रमै नभएको एउटा सहकारीको पाँचपटक छानबिन चलिरहेको छ। हामीले किटानी जाहेरी दिएका पूर्वगृहमन्त्री रवि लामिछानेसहित अन्य व्यक्तिमाथिको मुद्दामा सबैको चासो छ। उहाँहरूको अनुसन्धानको पाटो अर्कै हो। हाम्रो चासो भने बचत फिर्तामै छ,’ उनले भने, ‘राजनीतिक नेतृत्वसँग गुहार मागेर हामी हैरान भएका छौँ। कानूनी उपचार खोज्ने त हो तर हाम्रो कति दिन कुर्ने हो? जीबी राईको सम्पत्ति बेचबिखन गरेर पीडितलाई केही रकम उपलब्ध गराओस् भन्ने कुरा भएको छ। हामीले उहाँहरूलाई भेटेर पोखराका यी–यी व्यक्तिबारे छानबिन गर्नुपर्‍यो भनेका छौँ। नामै तोकेर भनेका छौँ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .