समाज


यी हुन् डिप्रेसनका लक्षण, बच्न यसो गर्नुहोस्

यी हुन् डिप्रेसनका लक्षण, बच्न यसो गर्नुहोस्

नेपालखबर
असार २४, २०८० आइतबार १०:४, काठमाडौँ

हामी सबै जीवनको कुनै न कुनै बिन्दुमा दुःखी र आशाहीन महसुस गर्छौँ। असफलता, संघर्ष र बिछोडको कारण दुखी हुनु सामान्य र सर्वभोगग्य हो।

तर यदि दुख, असहायता, निराशाजस्ता भावनाहरू लामो समयसम्म रहेमा र दिनचर्या चलाउन नै मुस्किल भएमा त्यो डिप्रेसन भनिने मानसिक रोगको लक्षण हुनसक्छ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर ३० करोडभन्दा बढी मानिस यो समस्याबाट पीडित छन्। जुन निकै गम्भीर समस्या हो। डिप्रेसन सामान्यतया किशोरावस्थामा वा ३० र ४० वर्षको बीचमा सुरु हुन्छ। सामान्यतया यो उमेरमा दबाब बढी हुने भएकाले डिप्रेसनको सम्भावना बढी हुन्छ। तर यो होइन कि उक्त उमेर समूहबाहेकलाई डिप्रेसन हुँदैन, डिप्रेसन जुनसुकै उमेरमा हुन सक्छ।

पुरुषको तुलनामा महिलाहरु डिप्रेसनको शिकार हुने सम्भावना बढी हुन्छ। मानसिक कारकहरू बाहेक, हार्मोनल असंतुलन, गर्भावस्था र आनुवंशिक विकारका कारण पनि डिप्रेसन हुनसक्छ।

डिप्रेसनका विभिन्न प्रकार हुन्छन्। लक्षण र अवस्थाअनुसार फरक हुनसक्छ। यसको सफल उपचारको लागि गहन परीक्षण आवश्यक पर्दछ।

डिप्रेसनका लक्षण यस प्रकार हुन्छन्-

-दिनभरि वा बिहानदेखि नै उदास हुने
-प्राय: हरेक दिन थकित र कमजोर महसुस हुने
-आफूलाई अयोग्य वा दोषी मान्ने
-ध्यान केन्द्रित गर्न र निर्णय गर्न कठिन हुने
-सामान्यभन्दा धेरै वा धेरै कम सुत्ने
-सबै प्रकारका क्रियाकलापमा अल्छी लाग्ने
-मृत्यु वा आत्महत्याको विचार आइरहने 
-बेचैनी वा सुस्त महसुस हुने
-अचानक तौल बढ्ने वा घट्ने

यी मध्ये ५ वा सोभन्दा बढी लक्षण २ हप्ता वा सोभन्दा बढी समय देखियो भने तपाईंलाई डिप्रेसन भएको हुनसक्छ।

डिप्रेसन एक मानसिक समस्या हो। तर यसले बिरामीलाई शारीरिक रूपमा पनि असर गर्छ। जस्तै थकान, पातलोपन वा मोटोपन, मुटु रोग, टाउको दुख्ने, अपच आदि हुनसक्छ। यही कारणले गर्दा कयौंपटक बिरामीहरु यस्ता शारीरिक लक्षणहरुको उपचार लिन भौतारिने गर्छन् तर यी लक्षणहरुको जराभित्र लुकेको डिप्रेसनको ख्याल गर्दैनन्। यस्ता लक्षण देखिएपछि मनोचिकित्सकसँग परामर्श गर्नुपर्छ। जुन धेरै महत्वपूर्ण हुन्छ।

आजकल डिप्रेसनका लागि विभिन्न उपचारहरू उपलब्ध छन्। यसको प्रकार र गम्भीरतामा निर्भर गर्दै मनोचिकित्सकहरूले परामर्श, व्यवहार परिवर्तन, समूह थेरापी, औषधि, वा मिश्रित विधिमार्फत यसको उपचार गर्छन्। सही उपचारपछि डिप्रेसनका अधिकांश बिरामीहरू पूर्ण रूपमा निको भएर आफ्नो सामान्य जीवनमा फर्किएका छन्।

यदि तपाईं वा तपाईंको नजिकको कसैलाई उल्लेखित समस्या छन् भने यसो गर्न सकिन्छ-

-राम्रो मनोचिकित्सकको सल्लाह लिने।
-आफूलाई एक्लो हुन नदिने। साथीहरूसँग बाहिर घुम्न जाने। मानिसहरूसँग घुलमिल हुने। कुराकानी गर्ने।
-लक्ष्य निर्धारण गर्ने।
-बिहान र साँझ घुम्न जाने।
-आफूलाई काममा व्यस्त राख्ने।
-आफूलाई के भइरहेको छ? नजिकको विश्वासिलो साथी वा मनोचिकित्सकसँग कुरा राख्ने।
-काम गर्ने नयाँ तरिका खोज्ने। 
-उदास र दुखी गीत वा फिल्म नहेर्ने/नसुन्ने। आफूलाई राम्रो महसुस गराउने संगीत र सिनेमा हेर्ने।  
-सहकर्मीसँग हाँस्नु स्वास्थ्यको लागि राम्रो हुन्छ। जब हामी रुन्छौं तब हामीसँग कोही पनि रुदैन। तर जब हामी हाँस्छौं, हामीसँगै हाँस्न ततयार एक संसार हुन्छ।
-पढ्ने र सकारात्मक कुराहरू सोच्ने।
-योग र व्यायाम गर्ने। 
-सामाजिक सञ्जालबाट टाढा राख्ने। इन्टरेनटमा सकारात्मक कुरा हेर्ने। चुटकिला र मेम हेर्ने।

डिप्रेसन कुनै जटिल मानसिक रोग होइन। डिप्रेसन भएका अधिकांश मानिसहरूले पूर्ण रूपमा निको हुन सक्छन्। डिप्रेसनको उपचारको लागि सही जानकारी धेरै महत्त्वपूर्ण छ। यस समस्याबाट छुटकारा पाउनका लागि डाक्टर र बिरामीको साथसाथै उनको परिवार र साथीभाइको सहयोग अति आवश्यक छ।

(नोट: यो डिप्रेसनसम्बन्धी मनोचिकित्सकहरूले दिएको सामान्य जानकारी मात्र हो। तपाईंलाई डिप्रेसनको शंका लागेमा मनोचिकित्सकसँग परामर्श गर्नुहोस्।)
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad