वैशाख २० मा झुन्डिएको अवस्थामा मृत भेटिएका चितवनका पोल्ट्री व्यवसायी एवम् नेपाली कांग्रेसका नेता शंकर कँडेल प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निष्पक्ष अनुसन्धान हुनु पर्ने बताएका छन्।
चितवन क्षेत्र नम्बर २ का सांसदसमेत रहेका लामिछानेले कँडेलको आत्महत्या प्रकरणमा आफू प्रहरी प्रशासनसँग निरन्तर संवादमा रहेको पनि उनले बताएका छन्।
‘चितवनका सफल व्यवसायी शंकर कँडेल आत्महत्या प्रकरणमा म परिवारसँग निरन्तर संवादमा छु, प्रशासनसँग निरन्तर समन्वयमा छु, अनुसन्धानमा कुनै कमी नहोस् भनेर निरन्तर खबरदारी गरिरहेको छु,’ रविले भनेका छन्, ‘घटनामा राजनीतिको रंग नपोतियोस् भनेर सचेत छु। म सत्य, न्याय र पीडितको पक्षमा छु। प्रहरी प्रशासनलाई घटनाको अनुसन्धानमा कसैले प्रभावित नपारोस् भनेर घच्घच्याइरहेको छु।’
उनले आर्थिक समस्यासँग लडिरहेको चितवनमा बन्द हड्ताल केही नहोस् भनेर सम्यमपूर्वक सबै घटनाक्रमलाई नजिकबाट नियालिरहेको उनको भनाइ छ।
चितवनका व्यवसायी कँडेलको देहत्याग घटनाका कांग्रेस चितवनको ध्यानाकर्षण
‘म जिम्मेवार जनप्रतिनिधिको भूमिका निरन्तर निर्वाह गरिरहेको छु। चितवनले एउटा असल मानिस गुमाएकोमा अत्यन्तै दुखी छु। परिवारलाई सहन सक्ने शक्ति मिलोस् भनी निरन्तर प्रार्थना गरिरहेको छु’, उनले अगाडि भनेका छन्।
यसअघि नै कँडेलको आत्महत्या दुरुत्साहन आरोपमा एकजना पक्राउ परेका थिए। यो घटनाका अर्का व्यक्ति फरार छन्।
नेपाल दाना उद्योग संघका वरिष्ठ उपाध्यक्ष एवम् अनमोल फिड्सका सञ्चालकसमेत रहेका कँडेलको आत्महत्या दुरुत्साहन आरोपमा प्रहरीले अनमोल फिड्सका चार्टर्ड एकाउन्टेन्ट जीवनबहादुर रावललाई पक्राउ गरेको छ।
कँडेलबाट कम्पनी खरिद गरेका प्रदीप रुङ्गटा अझै फरार रहेका प्रहरीले जनाएको छ। कँडेलले आत्महत्या गर्नुअघि लेखेको चिट्ठीमा चार्टर्ड एकाउन्टेन्ट रावल र रुङ्गटाका कारण आत्महत्या गर्न बाध्य भएको उल्लेख गरेका थिए।
ब्यापारमा घाटा खाएका कँडेलसहित १५ जना सञ्चालकले अनमोल फिड्सको ८५ प्रतिशत शेयर स्वामित्व रुङ्गटालाई बिक्री गरेका थिए। तर, रुङ्गटाले पैसा नदिएर धोका दिएको कँडेलले नोट लेखेको प्रहरीले जनाएको छ।
कांग्रेस चितवनका पूर्वकोषाध्यक्ष कँडेल मंगलबार साँझ नारायणगढस्थित आफ्नै कार्यालयमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए।
Shares

प्रतिक्रिया