मकवानपुरको मनहरी गाउँपालिका–७ रमनटारस्थित पूर्वपश्चिम राजमार्गमा बस दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका छन्।
मंगलबार राति करिब ११ः ५ बजे वीरगञ्जबाट लमजुङतर्फ जाँदै गरेको ना.५ ख ५३१९ नम्बरको बस दुर्घटनामा परेको हाे। स्टेरिङको टाइरड भाँचिएपछि बस अनियन्त्रित भई सडकको दाहिने किनारमा पल्टिएको प्रहरीले जनाएको छ।
दुर्घटनाको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय मनहरीबाट ट्राफिक प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो। बसमा चालकसहित १६ जना सवार थिए।
दुर्घटनामा पाँच जना घाइते भएका मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) माधव प्रसाद काफ्लेले जानकारी दिए।
‘घाइतेहरूलाई तत्काल उद्धार गरी मनहरी अस्पताल लगिएको थियो,’ काफ्लेले नेपालखबरसँग भने, ‘त्यहाँ प्रारम्भिक उपचारपछि घाइतेहरूलाई थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर रिफर गरिएको छ।’
दुर्घटनामा बस चालक सर्लाहीका ३९ वर्षीय भिमबहादुर विकको टाउकोमा गम्भीर चोट लागेको छ।
त्यसैगरी, चितवनको भरतपुर महानगरपालिका–४ निवासी ३० वर्षीय सञ्जय तामाङको दाहिने हातमा, पर्साको परवानीपुर नगरपालिका–२३ निवासी ५४ वर्षीय मोहम्मद आजादको निधार र बाँया खुट्टामा, बाराको देवताल गाउँपालिका–१ निवासी २३ वर्षीय राजकुमार रामको दाहिने हातमा तथा भारतको मोतिहारी निवासी २५ वर्षीय सुदिर कुमारको बाँया हातमा चोट लागेको प्रहरीले जनाएको छ।
चालकको अवस्था भने गम्भीर रहेको डीएसपी काफ्लेले बताए। चालक बाहेक अन्य चार जना घाइतेको अवस्था भने सामान्य छ।
दुर्घटनापछि स्थानीयवासीको सहयोगमा बसलाई सडकबाट हटाई सुरक्षित स्थानमा पार्किङ गरिएको र यात्रुलाई गन्तव्यतर्फ पठाइसकिएको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया