अपराध


व्यवसायी शंकर कँडेलले ‘सुसाइड नोट’मा नाम लेखेका चार्टर्ड एकाउन्टेन्ट पक्राउ

व्यवसायी शंकर कँडेलले ‘सुसाइड नोट’मा नाम लेखेका चार्टर्ड एकाउन्टेन्ट पक्राउ

फाइल तस्बिर : व्यवसायी शंकर कँडेल


नेपालखबर
बैशाख २२, २०८० शुक्रबार ९:४७, चितवन

व्यवसायी शंकर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अनमोल फिड्सका चार्टर्ड एकाउन्टेन्ट जीवन रावल छन्। 

भरतपुर महानगरपालिका–८ का ३७ वर्षीय रावललाई बाराको सिमाराबाट गएराति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए। राति नै उनलाई चितवन ल्याइएको छ। आजैदेखि अनुसन्धानको प्रक्रिया अघि बढाउने उनले बताए। 

भागेर लुकेको अवस्थामा रावललाई प्रहरीले पक्राउ गरेको हो। कँडेलले आत्महत्याअघि लेखेको ‘सुसाइड नोट’मा रावल र सोही कम्पनीको ८५ प्रतिशत सेयर किनेका प्रदीप रुङ्गटाका कारण आफूले आत्महत्या गर्नुपरेको उल्लेख गरेका छन्। सो घटनापछि निरन्तर दबाबमूलक कार्यक्रम भइरहेका छन्। 

रुङ्गटा पक्राउका लागि नेपाल र भारतीय भूमिमा खोजी भइरहेको प्रहरीले जनाएको छ। पण्डितले नेपाल प्रहरी, सीआईबीलगायत सङ्गठनका निकाय परिचालन भएकाले छिट्टै पक्राउ पर्ने बताए। कँडेल मङ्गलबार साँझ चितवनको नारायणगढस्थित आफ्नै कार्यालयमा झुन्डिएको अवस्थामा मृत भेटिएका थिए। नेपालका परिचित पोल्ट्री व्यवसायी कँडेल नेपाली कांग्रेसका महासमिति सदस्यसमेत थिए। 

कांग्रेससहित उद्योगी व्यवसायीको अगुवाइमा बुधबार र बिहीबार भरतपुरमा बृहत् प्रदर्शन भएको थियो। कँडेलले आफूले नेतृत्व गरिरहेको अनमोल फिड्सको ८५ प्रतिशत सेयर रुङ्गटालाई बिक्री गरेपछि सो समूहले मानसिक तनाव दिएकै कारण आत्महत्या गर्नुपरेको ‘सुसाइड नोट’मा लेखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .