जिन्दगीको लामो समयसम्म प्रेमका कुरा गरिनँ। म गाउँले, बन्दी जीवन बिताएको मान्छे। गाउँको बन्द समाजमा धेरै कुराहरु बर्जित हुन्छन्। संस्कृति भनेको कृत्रिम चीज हो। संस्कृतिले बन्देजहरु निर्माण गर्छ, बन्चनाहरु निर्माण गर्छ। जीवनमा धरै कर्महरु गरिन्छन्, तर भनिँदैनन्।
जीवनमा प्रेम गर्न बडो गाह्रो छ। गरिएको प्रेमबारे भन्न त्यो भन्दा गाह्रो छ। तपाईंको प्रेमको प्रारम्भ कसरी भयो भनेर प्रश्न गर्दा सबैको जवाफ यस्तो आउला, ‘मेरो प्रेमको प्रारम्भ पत्नीबाट भयो। मेरो प्रेमको उत्कर्ष पनि मेरो पत्नीमै भयो। मेरो प्रेमको अवसान पनि पत्नीमै हुने छ। जीवनमा कुनै महिलालाई स्पर्श गरिनँ, आँखा पनि जुधाएको छैन।’
मलाई लामोसम्म डर लागिरह्यो। मैले आफ्नो प्रेम पत्रको कुरा गरेँ भने, प्रेमको पोल खोलेँ भने, भण्डाफोर गरेँ भने मेरो पत्नीको मनमा त्यसको के प्रभाव पर्ला? मलाई पिरलो लागि रह्यो।
जीवनमा बन्देजमा राखिएका कुराहरु, निषेध गरिएका कुरालाई साहित्यको माध्यमबाट व्यक्ति गरिन्छ। साहित्य यस्तो सशक्त माध्यम हो, जहाँ संस्कृतिले बन्देज लगाएका कुराहरु र तानाशाहीले बन्देज गरेका कुराहरु प्रतीकको माध्यमले र रुपकको माध्यमले व्यक्त गरिन्छ। मेरो प्रेम पनि साहित्यबाट प्रारम्भ भयो। मेरो जन्म पाँचथरमा भयो। पाँचथर र तेह्रथुमलाई छुट्याउने बीचमा तमोर नदी छ। मेरो गाउँमा हाइस्कुल थिएन। तेह्रथुम गएर हाइस्कुल पढ्नु पथ्र्याे। ९–१० कक्षा पढ्दा मलाई कसैप्रति भावुक अनुराग उत्पन्न भएछ। तर मलाई थाहा थिएन। त्यसबेला साहित्यिक गोष्ठीहरु हुन्थ्यो।मैले साहित्य गोष्ठीहरु प्रेमबारे कथा लेख्थेँ। अव्यक्त प्रेम, भिजेको रुमाल, एउटा दूरदेशकी परीलाई प्रेमपत्र जस्ता कथा लेख्थेँ। त्यस्ता प्रेमका कथा लेख्दा आम जीवनको भावना व्यक्त गरिरहेको छु जस्तो लाग्थ्यो। अहिले फर्केर हेर्दा के लाग्छ भने, कसैप्रति मेरो अनुराग थियो। भावुक अनुराग थियो। अहिले साहित्यको माध्यमबाट भनेको रहेछु भन्ने लाग्छ।
स्कुलमा पढ्ने केटीहरुको संख्या धेरै थिएनन्। केटीहरुको संख्या थोरै थिए। त्यो थोरै केटीहरुतिर धेरै केटाहरु आँखा पथ्र्याे। तीनमाथि देख–अदेख, व्यक्त–अव्यक्त अत्यन्त तृष्ण र कठोर प्रतिस्पर्धा हुन्थ्यो। त्यो प्रतिस्पर्धामा स्वाभवत म पनि थिएँ। म अझै पनि कपितय कुरामा अत्यन्त संकोची छु। यद्यपि कतिपय कुरा बहिर्मुखी, कता वाकपटु जस्तो पनि देखिन्छु।
यो समाजको लागि म अभद्र किन देखिने? अरुको दृष्टिमा किन गिरौं भन्ने मनशायले आफूलाई नै ढाँटिरहन्छु। कतिपय यस्ता कुराहरु म भन्न सक्दिनँ। संस्कृतिले धेरै बर्जित गरेको छ। मैले प्रेमका कथा लेख्न थालेपछि साथीहरुले खिज्याउँथे। तर मनमा ठूलो उत्साह जाग्थ्यो।
मेरो रुम पार्टनरले प्रेम पत्र लेखिदिए ‘म पुर्याइदिन्छु' भन्यो। मलाई डर लाग्यो। म कक्षामा सधैं प्रथम हुने हुनाले मसँग एउटा शक्ति पनि थियो। सानोतिनो कसुरमा मुक्त हुन्थेँ, म कुटिन्न थिएँ। प्रेमपत्रको भण्डाफोर नै भएछ भने पनि मेरो शक्ति र सामथ्र्यले जोगिन्छु कि भनेर मैले प्रेमपत्र लेखेँ। तर प्रेमपत्र लेख्ने प्रारम्भदेखि नै मलाई डर लागि रह्यो।
मेरो नोट उसको कापी सरिदिने सर्तमा मेरो प्रेम पत्र मैले मन पराएको केटीलाई दिने। त्यो नोट उसको कापीमा सारिदिन्थेँ। मेरो प्रेमपत्र मैले मन पराएको केटीकहाँ पुर्याइदिने सर्त भयो। तर पुर्याउने कसरी। चिठी लेखियो, खाममा पनि हालियो। अर्काे फसाद पर्यो।
सल्लेरीको नजिकबाट त्यो केटी आने। उसँग अरुपनि मान्छे पनि हुन्थे। त्यो केटीलाई चिठ्ठी दिन महाभारत भयो। चार–पाँच दिन सल्लेरीमा कुरेपछि चिठ्ठी हात पारिदियो। उसले मलाई आएर भन्यो चिठ्ठी हात पर्यो। मलाई रातभरि निद्रा लागेन। त्यो केटीले हेडसरलाई उजुर गर्ली, त्यसको बाउ सिस्नु लिएर आउला, मलाई त डर लाग्यो। मलाई कतै भागौँ जस्तो लाग्यो। यस्तो ठाउँ होस् जहाँ विलुप्त हौं, हराउँ जस्तो भएँ। उज्यालो भयो, निदहराम भएर आँखा पोलिरहेका छन्।
सीताराम प्रसाई मेरो साथी थियो, मेरो प्रेम पत्रको हुलाकी थियो। म बिहानको स्कुलको प्रार्थनामा गएँ। केटीको अनुहारमा कुनै परिवर्तन देखिन। कतै मेरो प्रेम पत्रको प्रतीक्षामा त थिइन? उसमा त्यो आँट आएन होला मैले प्रेम पत्र लेखेँ। त्यो दिन केही भएन। धन्य भगवान जोगियो भन्ने लाग्यो।
पत्रको त प्रतीक्षा हुन्छ। त्यो पत्र व्यर्थ लेखिएछ जस्तो लाग्यो। त्यत्रो जोखिम उठाएर व्यर्थ लेखिएको होइन थियो। दोस्रो चिठ्ठी चाहिँ कम डरका साथ लेखेँ, सीतारामले चिठ्ठी दियो। त्यसपछि जवाफ आयो। केटीको परिवार मेरो परिवारभन्दा धनाढ्य थियो। चिठ्ठीमा जवाफ के आयो भने मेरो विवाह हुने कुरा चलिरहेको छ, यसलाई म काट्न सक्दिनँ। त्यसैले तिमीसँग विवाह हुन सक्दैन, तिमी भानुभक्त बन भनिन्। पछि फर्केर हेर्दा के लाग्यो भने ठूलो कुरा भनिएको थियो। उसको कुनै आरोप थिएन। 'तिमीसँग विवाह सम्भव छैन। भानुभक्त बन।’ मेरो मन खिन्न भयो।
मलाई केको भानुभक्त बन्नु छ? मलाई त केटी चाहिएको थियो। त्यो प्रेमले स्वरुप र आकार ग्रहरण गर्नु पहिले टुंगियो। वास्तवमा त्यो प्रेम थिएन, भावुकता थियो। तथापि, केही थियो। अहिले ७७ वर्ष भएँ, त्यो धेरै पुरानो घटनाको याद अझै छ। यदाकदा त्यो केटीसँग भेट हुन्छ। तर, अचम्म के भयो भने, स्कुलमा हुँदासम्म उनीसँग एक वचन पनि बोलचाल भएन। एउटै कक्षाकी केटी भएकाले नोट साट्ने बहाना एकदुई बचन बोलिथ्यो होला। त्यो सकियो।
अस्वीकृति थिएन, बाध्यता थियो। मैले जीवन जहाँदेखि जहाँसम्म यात्रा गरेँ। तीनको उद्धारका कारणले पनि हो। तिमी भानुभक्त बन भन्ने केटीले ठूलो उद्धार गरिन् जस्तो लाग्छ। उसको र मेरो प्रेमसम्बन्ध जोडिएर विवाह भएको भए तपाईंहरुसँग भेट हुने थिएन। दाम्पत्य जीवनमा बाधिन्थेँ। परिवारको बोझ शिरमाथि हुन्थ्यो। मेरो जीवन त्यही परिवेशमा हुन्थ्यो। त्यही बिलाउँथेँ। उनको स्वीकार नै उद्धार भयो।
(पोखरामा भएको नेपाल साहित्य सम्मेलनको क्रममा लेखक खगेन्द्र संग्रौलाले आफ्नै प्रेमबारे दिएको अभिव्यक्तिको सम्पादित अंश )
Shares

प्रतिक्रिया