सशस्त्र प्रहरीले रौतहटबाट दुईवटा बलेरो जिप बरामद गरेको छ। बौधिमाई नगरपालिका–७ स्थित बंकुलबाट करिव ३२ लाख रुपैयाँ बराबरको दुईवटा बलेरो जिप बरामद गरेको एपीएफले जनाएको छ।
बी आर ३० ए ०३६८ र बी आर २५ ए ७७३१ नम्वरको बलेरो जिप स्थानीय बंकुलबाट बारातर्फ जाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सरमझुवाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा कागजपत्र फेला नपरेपछि उक्त बलेरो बरामद गरिएको हो। एपीएफ टोलीले बरामद भएको दुवै बलेरो भन्सार कार्यालय गौरमा बुझाएको छ।
चोरीपैठारीको सामान बरामद
यता, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका ४ स्थित बसपार्क ईलाकाबाट एपीएफ टोलीले करीव पाँच लाख २८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ। भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउदै गरेको उल्लेखित मुल्य बराबरको ४८० जोर लेडिज उनी सुट सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण हेक्वा बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अमर थारुको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।खएपीएफ टोलीले बरामद सामान भन्सार कार्यालय जमुनाहमा बुझाएको छ ।
यसैगरि सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित पूर्वीटोलबाट पौष १ गतेदएपीएफ टोलीले करीव एक लाख ५१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ। भारतबाट अवैध रुपले नेपालतर्फ दुईवटा साईकलमा राखेर ल्याउदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा, सुर्ती तथा बिभिन्न औषधीहरु सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो। एपीएफ टोलीले बरामद सामान भन्सार कार्यालय कोशी ब्यारेज सुनसरीमा बुझाएको छ।
यसैगरि सशस्त्र प्रहरी बल, नेपाल नम्वर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले पौष १ गते करीव एक लाख ४२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ। भारतबाट अवैध रुपले नेपालतर्फ साईकलमा राखेर ल्याउदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा हार्डवेयरको सामान एपीएफ टोलीले पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित बाईपास ईलाकाबाट बरामद गरेको हो। एपीएफ टोलीले बरामद सामान भन्सार कार्यालय बीरगंजमा बुझाएको छ।

प्रतिक्रिया