समाज


टुकुचामा फसेकै हो त बालेन्द्रको डोजर?

टुकुचामा फसेकै हो त बालेन्द्रको डोजर?

अरुण बराल
असोज ३ , काठमाडौँ

काठमाडौंका मेयर बालेन्द्र शाहले जयनेपाल सिनेमा हलको प्राङगणमा डोजर लगाएर टुकुचा खोलो उधिनेको समाचारले देशभर तरंग आयो। अतिक्रमित खोलो उधिनेर बाहिर ल्याइएको भन्दै मेयर बालेन्द्रको प्रशंसा भयो।

भूमिगत टुकुचा खोलो खोज्दै महानगरपालिकाको डोजर अन्य ठाउँमा समेत चल्न थाल्यो। खोलो अतिक्रमण गरेर संरचना निर्माण गरेको भन्दै ५ सय भन्दा बढी मानिसको नाम मिडियामा छापिन थाल्यो। टुकुचा करिडोरमा दुबैतर्फ बाटो र पार्किङसहितको सुन्दर संरचना बनाउने बालेन्द्रको योजना प्रशंसा पायो, पाइरहेको छ।

यही क्रममा मिडियामा केही प्रश्न पनि उठे। राणाकालमै सुरुङ बनाएर भूमिगत गरिएको टुकुचालाई अहिले उधिन्नु ठीक नहुने तर्कहरु आउन थाले। राणा कालमा टुकुचामा बनाइएको ईंटाको गुम्बज पुरातात्विक महत्वको भएकाले भत्काउन नमिल्ने बहस पनि उधिनिएर सतहमा आयो।

महाराजगञ्जबाट शुरु भएर थापाथलीको कालमोचन घाटमा बागमतीसँग मिसिने टुकुचालाई पुरानै संरचनामा फर्काउन सम्भव नभएको तर्क पनि बहसमा आएको छ।

टुकुचा वास्तवमा खोलो नभएर खोल्सो वा ढल बग्ने नाला मात्रै भएकाले ६ अर्ब खर्च गरेर ६ किलोमिटर टुकुचालाई उधिन्नुु उपयुक्त नहुने तर्कहरु पनि आइरहेका छन्। यसलाई उधिन्दा गन्धबाहेक केही प्राप्त नहुने विचार पनि प्रकट भएका छन्। मेयर बालेन्द्रले टुकुचाको साटो वागमती र विष्णुमतीलाई सौन्दर्यकरण गर्नु उचित हुुने तर्क पनि उठिरहेका छन्।

टुकुचामा डोजर चलाइरहँदा बालेन्द्रमाथि सकारात्मक–नकारात्मक दुबैखाले टिप्पणी सुरु भएका छन्। अब टुकुचाले बालेन्द्रलाई  खान्छ, उनी टुकुचामा फसे, प्राविधिक पक्षलाई मात्र ध्यान दिए, सामाजिक र आर्थिक पक्ष विचार गरेनन्, टुकुचालाई पुरानै अवस्थामा फर्काउन सम्भवै छैन.... आदि–इत्यादि कमेन्टहरु आइरहेका छन्।

तर, अर्को पाटोबाट बालेन्द्रलाई हिम्मत नहार्न र टुकुचाको अतिक्रमण हटाएरै छाड्न हौसला प्रदान गर्ने काम पनि सशक्त रुपमा भइरहेको छ।

यही द्वन्द्वात्मक अवस्थामै पाटन उच्च अदालतमा रिटसमेत परेको छ। टुकुचामा बनेका संरचना रीत नपुर्याई नभत्काउन र उच्च अदालतले आइतबार अल्पकालीन अन्तरिम आदेशसमेत दिएको छ।

यही पृष्ठभूमिमा टुकुचामा चलिरहेको बालेन्द्रको डोजरसम्बन्धी प्रकरणले केही अहम प्रश्नहरु जन्माएको छ–

जमीनमुनि छोपिएको टुकुचामा डोजर चलाउने मेयर बालेन्द्र शाहको अभियान ठीक छ कि गलत? यो परियोजनाको कार्यान्वयन गर्न सम्भव छ या असम्भव? अनि यो कदमले काठमाडौंमा बालेन्द्रको लोकप्रियता बढ्ला या घट्ला?

यो आलेखमा बालेन्द्र शाह र उनको कदमबारे उठेका प्रश्नहरुको जवाफ दिन खोजिएको छैन। बालेन्द्रले ठीक गरे कि गलत भनेर न्यायाधीश बन्न खोजिएको पनि छैन। बरु यहाँ बालेन्द्रले टुकुचामा डोजर चलाउनुपूर्व मेयर विद्यासुन्दर शाक्यकै पालामा तयार पारिएको टुकुचासम्बन्धी ८० पृष्ठको पुरानो प्रतिवेदन स्मरण मात्र गर्न खोजिएको छ।

मेयर बालेन्द्र शाहले टुकुचामा डोजर चलाउने निर्णय कुनै लहडमा गरेका होइनन्। बरु उनले दुई वर्ष पहिले नै सरकारी निकायले गराएको विस्तृत अध्ययन एवं त्यसबाट प्राप्त सुझावमा टेकेर यो काम गरेको देखिन्छ। बालेन्द्रले दुई वर्ष पहिलेकै सरकारले गरेको सिफारिसलाई कार्यान्वयन गर्न खोजेको देखिन्छ।

अब टुकुचा खोलाबारे दुई वर्ष पहिले सरकारले परामर्शदाता मार्फत गरेको अध्ययन र त्यसको निष्कर्ष के थियो भन्नेबारे विश्लेषण गरौं -

शहरी विकास मन्त्रालय, वागमती सभ्यताको पहल
वाग्मती सभ्यता (गुहेश्वरी, काठमाडौं) को एकीकृत विकासका लागि नेपाल सरकार सहरी विकास मन्त्रालयले उच्चस्तरीय समिति बनाएको थियो। समितिले ललितपुरको सानेपामा कार्यालय रहेको बोनाफाइड इञ्जिनियरिङ कन्सल्टेन्सी प्रालिलाई टुकुचा खोलाको अध्ययन गर्न लगायो।

सो कन्सल्टेन्सीले सन् २०२० सेप्टेम्बर १५ मा समितिलाई ८० पृष्ठको प्रतिवेदन सरकारलाई बुझायो। प्रतिवेदनमा टुकुचाको अतिक्रमण हटाएर सौन्दर्यकरण गर्न सम्भव रहेको दाबीसहित विभिन्न सिफारिसहरु गरिएको छ। अहिले बालेन्द्रले त्यसैलाई कार्यान्वयनमा ल्याउन खोजेका हुन्।

वाग्मती सभ्यता एकीकृत विकास समितिले परामर्शदाता हायर गरेर तयार पारेको ‘काठमाडौं महानगरपालिकाको चण्डोलदेखि बागमती संगमसम्म टुकुचा नदीको दुवै किनाराको कामको प्रतिवेदन’ मा टुकुचा खोला करिडोर व्यवस्थापन आयोजनाको पूर्वसम्भाव्यता अध्ययन, प्रारम्भिक डिजाइन, अनुमान, बत्ती व्यवस्थापन, पार्किङ क्षेत्र र ल्यान्डस्केपिङबारे निष्कर्ष प्रस्तुत गरिएको छ।

प्रतिवेदन भन्छ– टुकुचामा अतिक्रमण भएकै हो
परामर्शदातृ कन्सल्टेन्सीले नदीको वर्तमान अवस्थाको मूल्याङ्कन गर्न साइट भ्रमणसमेत गरेको थियो। चिनियाँ दूतावास, नारायणहिटी दरबार संग्रहालय र भद्रकालीमा रहेको सैनिक मुख्यालयजस्ता प्रतिबन्धित क्षेत्रबाहेक अन्य भागमा ड्रोनको समेत प्रयोग गरिएको थियो।

प्रतिवेदनमा भनिएको छ, ‘टुकुचा नदी काठमाडौं उपत्यकामा स्थानीयरूपमा उत्पत्ति भएको नदी हो। ५ किलोमिटर लामो यस नदीमा काठमाडौं उपत्यकाका अन्य नदी प्रणालीको तुलनामा कम पानीको बहाव छ। यसको चौडाइ माथिल्लो क्षेत्रमा ३ मिटरदेखि तलको क्षेत्रमा केही भागमा ८ मिटरसम्म हुन्छ। खोला धेरै ठाउँमा अतिक्रमणमा परेको र ढलको लाइनसमेत मिच्ने काम भएकाले खोलाको चौडाइ एक रूप छैन।’

प्रतिवेदनमा भनिएको छ, ‘मुख्यतः खोलाको किनारमा बस्ती निर्माण भइरहेका कारण धेरै भागमा नदी पहुँचयोग्य छैन।’

प्रतिवेदनले टुकुचालाई नदीका रुपमा परिभाषित गरेको छ। र, यसलाई अतिक्रमणबाट मुक्त गर्ने परिकल्पनासहितको डिजाइनसमेत प्रस्ताव गरेको छ।

टुकुचाको दुबै किनारमा पैदल मार्ग र साइकल लेनहरू बनाउने प्रस्ताव गरिएको छ। जहाँ ठूला खुला क्षेत्रहरू छन्, त्यहाँ पार्किङ, खुला पार्क, सडक बजार र अन्य संरचनाहरु बनाउने प्रस्ताव गरिएको छ।

मुख्यतः नारायणहिटी दरबार संग्रहालय, इच्छामती तरकारी बजार र भृकुटीमण्डपमा त्यस्ता पार्किङ स्थल र खुल्ला पार्कहरु बनाउने प्रस्ताववसहितको डिजाइन तयार गरिएको छ।

‘यसले पैदल यात्रु र साइकल यात्रीहरूलाई फाइदा पुर्याउँछ। उनीहरूलाई सार्वजनिक यातायातमा बेहोर्नुपर्ने झन्झटबाट मुक्त गर्दछ’ प्रतिवेदनमा भनिएको छ, ‘यसले छेउछाउका घरहरू र जग्गाहरूलाई पनि फाइदा पु¥याउँछ र तिनीहरूलाई भीडभाडयुक्त शहरका बीचमा ताजा वातावरण प्रदान गर्दछ।

अध्ययन प्रतिवेदनले भनेको छ, ‘वर्तमान नदीको परिदृश्यलाई परिमार्जन गर्न र यसलाई सुन्दर एवं उद्देश्यपूर्ण नदी कोरिडोरमा रूपान्तरण गर्न सकिन्छ।

‘टुकुचा, जसलाई इच्छामती पनि भनिन्छ, यो बागमती नदीको धेरै प्रदूषित सहायक नदीमध्ये एक हो। यो थापाथलीको कालमोचन घाटमा बागमतीमा मिसिन्छ’ प्रतिवेदन भन्छ, ‘यसले धेरै विद्यालय, क्याम्पस, बैंक, प्रशासनिक भवन, साना व्यावसायिक एकाइ एवं निजी घरहरूलाई छोएको छ। तीमध्ये धेरैजसो ढल निकास प्रणालीमा जोडिएका छन्, जुन टुकुचा खोलामा सिधै बग्छ। उचित ढल व्यववस्थापन र फोहोर पानी प्रशोधन प्लान्टको अभावमा टुकुचाखोला खुला ढलको नाली बनेको छ।’

खोला किनारमा सुकुम्बासी, आवासीय भवन र सडक निर्माणले व्यापक रूपमा अतिक्रमण गरेको बताउँदै प्रतिवेदनमा भनिएको छ, ‘दरबारमार्ग र कमलादीजस्ता केही भागमा भवनमुनि नदी बग्छ। फोहोरमैला र फोहोर पानी नदीमा फ्याँक्नका लागि नदीको पूरै भाग प्रयोग हुने गरेको छ।’

भाटभटेनी मन्दिर, नील सरस्वती र टुँडाल देवी टुकुचाको किनारमा अवस्थित महत्वपूर्ण धार्मिक स्थल रहेको प्रतिवेदनमा औंल्याइएको छ। वाग्मती सभ्यता एकीकृत विकास समितिले टुकुचाको पुरानो रुपलाई दीर्घकालीन रूपमा पुनःसथापित गर्न प्रयास गरिरहेको प्रतिवेदनमा भनिएको छ।

प्रतिवेदन भन्छ, ‘काठमाडौं उपत्यकाको शहरी क्षेत्रमा नदी करिडोर सम्भवतः एकमात्र खुला ठाउँ हो। अव्यवस्थित ढल निकास, जथाभावी फोहोर फाल्ने कार्य अनि नदी किनारमा अनियन्त्रित सुकुम्बासी बस्तीको विकासले वातावरणीय अवस्थालाई बिगारेको छ। यसले सौन्दर्य मूल्य मात्र नभई नदी करिडोरको जग्गाको आर्थिक अवसरलाई पनि असर गरेको छ। सहरी क्षेत्रका लागि सम्पत्ति बन्न सक्ने खुला ठाउँ र खोला उपेक्षित एवं प्रदूषित बनेका छन्।’

नदीको सिमाना र जलमार्गको चौडाइको अस्पष्ट सीमाङ्कनका कारण नदी छेउको जग्गा जनताले अतिक्रमण गरेको प्रतिवेदनमा औंल्याइएको छ। प्रतिवेदन अगाडि भन्छ, ‘पूरै नदी करिडोर अस्तव्यस्त अवस्थामा छ। तर, उचित योजना र प्रभावकारी कार्यान्वयन रणनीतिले यो भद्रगोल परिदृश्यलाई परिवर्तन गर्न सकिन्छ।’

प्रतिवेदनले टुकुचालाई १० खण्डमा विभाजन गरेको छ।

पहिलो खण्ड : टुँडालदेवी मन्दिरदेखि चिनियाँ दूताबाससम्म

टुकुचाको पहिलो खण्ड टुँडालदेवी मन्दिरदेखि चीनको दूतावाससम्म रहेको छ। यस खण्डमा नदीको प्रवाह दायाँतर्फ ६ मिटर चौडा सडक छ।

लम्बाइ ७८० मीटर रहेको यो खण्ड मुख्यतः आवासीय छ। बायाँ साइडमा धेरैजसो भागमा अतिक्रमणमा परेको छ।

यो खण्डमा टुकुचा स्ल्याबले ढाकिएको छ र विपरीततर्फको सडकको फुटपाथका रूपमा प्रयोग गरिएको छ। खोलाको छेउमा पर्खाल बनाइएको छ भने अधिकांश भागमा ४ मिटरको सेटब्याक स्पेसको नियम पालना हुन सकेको छैन।

यस खण्डमा टुकुचाको बहाव तुलनात्मक रूपमा सानो छ। नदीमाथि कभर स्ल्याब लगाइएका कारण नदीको भित्री अवस्था जाँच्न नसकिएको प्रतिवेदनमा उल्लेख छ।

दोस्रो खण्ड : चिनियाँ दूताबासदेखि नारायणहिटीसम्म
टुकुचाको दोस्रो खण्डको लम्बाई १ किलोमिटर छ। यो खण्डमा चिनियाँ दूतावासबाट नारायणहिटी दरबार संग्रहालयको उत्तर (गैरीधारा) सम्मको भाग पर्छ।

यो खण्डमा पनि टुकुचा स्ल्याबले ढाकिएको छ। सडकको पहुँच गर्न पुलको रूपमा समेत प्रयोग गरिएको छ। नदीको छेउमा पर्खाल बनाइएको छ भने अधिकांश भागमा ४ मिटरको सेटब्याक स्पेसको नियम पालना हुन सकेको छैन।

नील सरस्वती मन्दिर यस खण्डको बीचमा अवस्थित छ। यस स्थानमा नदीसमेत पूजा गर्न प्रयोग गरिन्छ। नदीको यो खण्ड धार्मिक मूल्यसँग जोडिएको छ।

तेस्रो खण्ड : नारायणहिटीदेखि नारायणहिटीसम्म
यो खण्ड नारायणहिटी दरबार संग्रहालय हुँदै जान्छ। दरबारको पूर्वोत्तर भागबाट दक्षिणमा रिपब्लिक मेमोरियल पार्क हुँदै जान्छ। यस खण्डमा कडा प्रतिबन्धका कारण ड्रोन उडाउन नपाइएको प्रतिवेदनमा जनाइएको छ।

स्याटेलाइट तस्बिरबाट हेर्दा यस खण्डमा रहेको नदी संरक्षित देखिएको  प्रतिवेदनमा बताइएको छ। नारायणहिटी दरबार संग्रहालयभित्र टुकुचाको वायाँतर्फको करिब २५ हजार २७० वर्गमिटर खाली जमिनमा कार पार्किङ स्थल र पार्कहरू बनाउन सकिने प्रतिवेदनमा प्रस्ताव गरिएको छ।

चौथो खण्ड : नारायणहिटीदेखि तीनधारा मार्गसम्म
टुकुचाको चौथो खण्ड नारायणहिटी दरबार संग्रहालय बाहिर तीनधारा मार्गदेखि सुरु हुन्छ।

यस चौथो खण्डको लम्बाई ४४० मीटर छ। यस खण्डको लगभग सबै सडक वा भवनमुनि गाडिएको हुनाले नदी देख्न सकिँदैन।

पाँचौं खण्ड  : तीनधारा मार्गदेखि बागबजारसम्म
टुकुुचाको पाँचौं खण्ड तीनधारा मार्गदेखि शुरु भएर बागबजार सडकसम्म पुग्छ। ४६५ मीटर लामो यस खण्डमा केही खुला क्षेत्रहरू उपलब्ध छन् भने केही क्षेत्रमा घना बस्ती छ। छेउछाउमा निर्माण भइरहेका भवनको अतिक्रमणका कारण टुकुचा पहुँचयोग्य नभएको प्रतिवेदनमा उल्लेख छ।

छैठौं खण्ड : बागबजारदेखि शंकरदेव क्याम्पस
टुकुचाको छैठौं खण्ड बागबजार रोडदेखि अद्वैत मार्गसम्म २८० मीटरमा समेटिएको छ। शंकरदेव क्याम्पस पनि यसै खण्डमा अवस्थित रहेको प्रतिवेदनमा जनाइएको छ।

यस खण्डमा प्रायः टुकुचा बाहिरैबाट देखिन्छ। तर, किनारामा निर्माण गरिएका भवनहरूका कारण साँघुरिएको छ। यो खण्डमा पनि घना बसोबास छ। यहाँ कुनै नियम कानूनको पालना नगरिएको र टुकुचा अतिक्रमित भएको प्रतिवेदनमा उल्लेख छ। 

सातौं खण्ड : ईच्छामती तरकारी बजार
टुकुचाको आठौं खण्डमा १६० मिटर लामो ईच्छामती तरकारी बजार क्षेत्र समावेश छ। टुकुचाको दायाँपट्टि इच्छामती तरकारी बजार छ भने बाँया पट्टि पैदल मार्ग बनाइएको छ। तर, तरकारी बजारले बहाबको ठाउँ समेत ओगटेको छ।

आठौं खण्ड : भृकुटीमण्डप
टुकुचाको आठौं खण्ड भृकुटीमण्डप क्षेत्रको पूर्वीभाग हुँदै बग्छ। यस खण्डमा दायाँपट्टि हाल सडक र बजारले ओगटेको छ भने बायाँतिर भवनहरूले ओगटेको छ। भृकुटीमण्डप क्षेत्रको ठूलो हिस्सा प्रयोगमा ल्याउन सकिने प्रतिवेदनमा उल्लेख छ।

नवौं खण्ड : सैनिक मुख्यालय आसपास
टुकुचाको नवौं खण्ड अन्तरगत भद्रकालीको पूर्वी भाग हुँदै सैनिक मुख्यालयले ओगटेको जमीनबाट ३५० मीटर तलसम्म जान्छ। यो खण्ड सेनाले अकुपाई गरेको क्षेत्रमा परेकाले ड्रोन उउडाउन नपाइने प्रतिबन्धित क्षेत्र रहेको प्रतिवेदनमा जनाइएको छ।

यस खण्डमा खुला ठाउँहरू रहेकाले यसलाई पैदल मार्ग र साइकल लेनहरूसहित खुला पार्कका रूपमा विकास गर्न सकिने प्रतिवेदनमा प्रस्ताव गरिएको छ।

दसौं खण्ड : थापाथली हुँदै बागमतीसम्म
टुकुचाको अन्तिम खण्ड भद्रकालीदेखि बागमती नदीमा पुगेर मिसिन्छ। थापाथलीदेखि त्रिपुरेश्वर सडकसम्मको खण्डमा केही घना बस्तीले ओगटेको छ भने थापाथली क्याम्पस वरपरका क्षेत्रमा केही खाली ठाउँ छन्।

दसौं खण्डमा पर्ने त्रिपुरेश्वर सडकबाट अगाडि कालमोचन महादेव मन्दिर क्षेत्र  छ। त्यहाँबाट टुकुचा खोला बागमती नदीमा मिसिन्छ र यसको अन्त्य हुन्छ।

टुकुचा उपत्यकाभित्र महाराजगञ्जमा उत्पत्ति हुन्छ। यो लगभग ५.९१ किमी लामो छ। यो सहायक नदी नभएको एकल नाला हो। तर, सहर अतिक्रमणका कारण यसको उद्गमस्थल सारिएको र च्यानलको लम्बाइसमेत घटाइएको प्रतिवेदनको निष्कर्ष छ।

प्रतिवेदनमा जनाइएअनुसार टुकुचाको जलग्रहण क्षेत्र करिब ८.३१ वर्ग किलोमिटर छ। प्रतिवेदनमा भनिएको छ, ‘यो वागमतीका सबै सहायक नदीमध्ये सबैभन्दा प्रदूषित हो। अहिले टुकुचा खुला ढलको नाली बनेको छ। नदी किनारमा सुकुम्बासी, आवासीय भवन र सडक निर्माण द्वारा व्यापक अतिक्रमण भएको छ।

टुकुचाबाट बागमतीमा मिसिने ढलको फोहोर पानीलाई प्रशोधन गर्न प्रशोधन केन्द्रको व्यवस्था गर्ने प्रतिवेदनमा प्रस्ताव गरिएको छ।

१० वटै खण्डमा केके बन्छ?
प्रतिवेदनमा खण्ड १ देखि १० सम्म सौन्दर्यकरणको डिजाइन प्रस्तुत गरिएको छ र केही सिफारिस गरिएको छ, जस्तै–

पहिलो खण्डमा नदीको पुनर्स्थापना गर्ने र खुलाउने। अवरोध हटाएर उपयुक्त फुटपाथ बनाउने प्रस्ताव छ।

दोस्रो खण्डमा पनि नदीको पुनर्स्थापना गर्ने खुलासा गर्ने भनिएको छ। यहाँ पनि अवरोध हटाएर दुबैतर्फ फुटपाथ वा साइकल लेन बनाउने डिजाइन गरिएको छ। उपयुक्त ठाउँमा सार्वजनिक शौचालय र खुला पार्कहरू बनाउन सकिने प्रस्ताव छ।

तेस्रो खण्डमा नारायणहिटी दरबार संग्रहालयभित्रको करिब २५ हजार २७० वर्गमिटर खुला ठाउँमा सवारीसाधन पार्किङ र सार्वजनिक पार्क बनाउने प्रस्ताव गरिएको छ। अर्को छेउमा सुरक्षा प्रयोजनका लागि अग्लो बाउन्ड्री पर्खालसहितको बफर जोन बनाउन सकिने प्रस्ताव छ।

चौथो खण्डको लगभग सबै भाग सडक वा भवनहरू मुनि गाडिएको  अवस्थामा रहेकाले यहाँको अवरोध हटाई दुबै किनारामा फुटफाथ र साइकल लेनसहितको कोरिडोर बनाउने प्रस्ताव गरिएको छ।

पाँचौं खण्डमा केही खुला क्षेत्र रहेता पनि छेउछाउमा निर्माण भइरहेका भवनले अतिक्रमण गर्दै टुकुचालाई पहुँचयोग्य हुन दिएको छैन। यहशाँ पनि टुकुचाको दुबै छेउमा पैदल मार्ग र साइकल लेन बनाउनुका साथै पकेट स्पेसमा खुला पार्क र सार्वजनिक शौचालयको व्यवस्था गर्ने प्रस्ताव गरिएको छ।

छैठौं खण्ड (बागबजार रोडदेखि अद्वैत मार्गसम्म) मा टुकुचा प्रायः बाहिरबाट देखिन्छ। तर, किनारमा भवनहरू निर्माण भएका कारण डिलमा जाने स्थिति छैन। यस खण्डमा पनि दुबै किनारामा पैदल मार्ग र साइकल लेन बनाउने अनि शैक्षिक संस्था नजिकका खुला ठाउँमा पुस्तक स्टलसहित पार्क बनाउने प्रस्ताव गरिएको छ।

सातौं खण्डमा रहेको इच्छामती तरकारी बजार क्षेत्रमा व्यवस्थित पैदलमार्ग र साइकल लेनको व्यवस्था गरी सवारी साधन पार्किङ गर्ने ठाउँ समेत बनाउने प्रस्ताव गरिएको छ।

आठौं खण्डमा पर्ने भृकुटीमण्डप क्षेत्रको ठूलो भूभागमा खुला सार्वजनिक पार्क र सवारी साधन पार्किङका लागि प्रस्ताव गरिएको छ।

नवौं खण्ड भद्रकालीस्थित सैनिक क्षेत्र हुँदै गएता पनि यस खण्डलाई खुला ठाउँहरू भएकाले पैदल मार्ग र साइकल लेनहरूसहित खुला पार्कको रूपमा विकास गर्न सकिने प्रस्ताव छ। प्रतिबन्धित क्षेत्रमा सीमा पर्खाल र बिरुवा लगाउन सकिने सुझाव प्रतिवेदनमा दिइएको छ।

दसौं खण्ड अर्थात् बागमतीमा मिसिने ठाउँमा दुबैतिर पैदल मार्ग एवं साइकल लेन बनाउने प्रस्ताव छ। थापाथली क्याम्पस वरपरको खुला ठाउँहरूमा पुस्तक स्टल, पैदल मार्ग एवं साइकल लेनहरू बनाउने प्रस्ताव गरिएको छ।

बागमती नदी संगम नजिकै ढलबाट संकलन हुने फोहोर पानीलाई प्रशोधन गर्न प्रशोधन केन्द्र बनाउने प्रस्ताव गरिएको छ।

कार्यान्वयन चुनौतीपूर्ण
अध्ययन प्रतिवेदनले टुकुचाको पुनस्र्थापना चुनौतीपूर्ण रहेको स्वीकार गरेको छ।

प्रतिवेदनमा भनिएको छ, ‘नारायणहिटी मार्गदेखि तीनधारा मार्गसम्मको खण्डमा खोला भवनहरु मुनि पुरिएको छ। त्यसैले यो खण्डमा नदीको मार्ग मुक्त गर्न धेरै चुनौतीपूर्ण छ।’

प्रतिवेदनमा अगाडि भनिएको छ, ‘चिनियाँ दूतावास, नारायणहिटी दरबार संग्रहालय र भद्रकालीको सैनिक क्षेत्र जस्ता धेरै प्रतिबन्धित क्षेत्रहरू छन्। यी प्रतिबन्धित क्षेत्रमा सुरक्षा चासोका कारण योजनाको स्वीकृति र कार्यान्वयन चुनौतीपूर्ण हुन सक्छ।’

प्रतिवेदनको निष्कर्ष छ, ‘यो परियोजनालाई समग्ररूपमा कार्यान्वयन गर्नु चुनौतीपूर्ण कार्य हो।’

उसोभए कसरी कार्यान्वयन हुन्छ?
प्रतिवेदन कार्यान्वयन चुनौतीपूर्ण भएता पनि तत्कालीन कार्ययोजना, अल्पकालीन कार्ययोजना र दीर्घकालीन कार्ययोजना गरी तीन चरणमा कार्यान्वयन गर्न सकिने प्रतिवेदनमा प्रस्ताव गरिएको छ।

तत्कालीन कार्ययोजना : तत्कालीन कार्ययोजनामा २ वर्ष वा सोभन्दा कम अवधिमा सम्पन्न गर्न सकिने काम समावेश गरिएका छन्। खण्ड ७ र ८ (इच्छुमती तरकारी बजार र भृकुटीमण्डप) अन्तर्गतका काम कम जटिल भएकाले तुरुन्तै कारबाही गर्न सकिने प्रतिवेदनमा जनाइएको छ।

तरकारी बजारको उचित व्यवस्थापनले बजारसँगको मानव आवत जावतलाई सहज बनाउने र पैदल मार्ग तथा साइकल लेनले उपभोक्ता र व्यवसायी दुवैलाई फाइदा पुग्ने बताइएको छ।

त्यस्तै, भृकुटीमण्डप क्षेत्रमा टुकुचा किनारको खुला सार्वजनिक पार्क र शहरी सवारी साधन पार्किङ पनि दुई वर्ष वा सोभन्दा कम अवधिमा बनाउन सकिने प्रस्ताव छ।

अल्पकालीन कार्ययोजना : अल्पकालीन कार्य योजनामा ५ वर्ष वा सोभन्दा कम अवधिमा सम्पन्न गर्न सकिने कामलाई समावेश गरिएको छ। यस अन्तर्गत, टुकुचाको खाली रहेका ठाउँमा प्रारम्भिक डिजाइन अनुसार दुबै छेउमा पैदल मार्ग र साइकल लेनहरू बनाउन सकिने प्रस्ताव छ।

नारायणहिटी दरबार संग्रहालय, पद्मकन्या क्याम्पस, थापाथली क्याम्पस, शंकरदेव क्याम्पस अन्तर्गतका क्षेत्रलाई अल्पकालीन कार्ययोजनामा राखिएको छ। प्रतिवेदनमा भनिएको छ, ‘प्रत्येक ५०० मिटरको दुरीमा उपयुक्त ठाउँमा सार्वजनिक शौचालयको व्यवस्था गरिनुपर्छ।

दीर्घकालीन कार्ययोजना : दीर्घकालीन कार्ययोजनामा विभिन्न जटिलताका कारण ५ वर्षभन्दा बढी लाग्न सक्ने योजना समावेश गरिएका छन्।

टुकुचा किनारलाई अतिक्रमणमुक्त बनाउन धेरै समय लाग्न सक्ने बताउँदै प्रतिवेदनमा भनिएको छ, ‘अतिक्रमित क्षेत्रलाई दीर्घकालीन कार्ययोजनाको हिस्सा बनाउनुपर्छ।

नदीको चार मिटर सेटब्याकमा बनेका संरचनाहरु भत्काउन आवश्यक रहेको र त्यसका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गर्न मुआब्जाको नीति तर्जुमा गर्नुपर्ने प्रतिवेदनमा बताइएको छ।

प्रतिवेदनको निश्कर्ष छ, ‘यस परियोजनालाई कार्यान्वयनमा ल्याउन सम्बन्धित निकायबाट स्वीकृति लिएर विस्तृत योजना एवं डिजाइन आवश्यक हुनेछ। सरकारी निकायका सबै तहबाट उचित समन्वय भएमा यो अवधारणालाई यथार्थमा परिणत गर्न सम्भव छ।’

कति जग्गा अधिग्रहण गर्नुपर्छ?
स्थलगत सर्वेक्षणमा देखिएअनुसार धेरै ठाउँमा खोला अतिक्रमण गरी नदीको नियम उल्लङ्घन गरिएको प्रतिवेदनमा जनाइएको छ। करिडोर स्पेसमा रूपमा प्रयोग गर्न अवैध निर्माणहरू हटाउने र क्षतिपूर्ति उपलब्ध गराउने प्रस्ताव छ।

यो प्रस्तावित योजना कार्यान्वयन गर्न अवैध बस्ती हटाउनुपर्ने र जग्गा अधिग्रहण गरी मुआब्जा दिनुपर्ने प्रतिवेदनमा उल्लेख छ।

टुकुचा पुनस्थापना परियोजनामा ४३ हजार २३४ दशमलव ७०५ वर्गमिटर जमिन प्राप्त गर्नुुपर्ने हुन्छ। यो भनेको काठमाडौंको महंगो जग्गा १ हजार ३६० आना हो। प्रतिआना १० लाखका दरले १ अर्ब ३५ करोड ९२ लाख ५६ हजार १७४ रुपैयाँ ७३ पैसा पर्ने प्रतिवेदनमा आकलन गरिएको छ। तर, यो दुई वर्ष पहिलेकै मूल्यांकन भएकाले अब यसको लागत अरु बढ्न सक्छ। अर्थात, करिब डेढ अर्ब रुपैयाँ मुआब्जाका लागि छुट्याउनुपर्ने हुन सक्छ। घर लगायतका संरचनाको क्षतिपूर्ति यसमा जोडिएको छैन।

यो परियोजना सम्पन्न गर्न ५ अर्ब, १६ करोड, ५१ लाख ११ हजार ४४९ रुपैयाँ ७३ पैसा लाग्ने इस्टिमेट प्रतिवेदनमा गरिएको छ। ट्रिटमेन्ट प्लान्टलाई मात्रै २ अर्ब लाग्ने अनुमान गरिएको छ।

क–कसको जग्गा पर्छ?
टुकुचा किनारको ४ मिटरभित्र भएका जग्गाधनीहरूको विवरण मालपोत कार्यालय डिल्लीबजारबाट लिइएको प्रतिवेदनमा उल्लेख छ। मालपोत कार्यालयको डाटाबेसमा फेला पर्न नसकेका प्लटहरू नापी कार्यालय, डिल्लीबजारको फिल्डबुकबाट प्राप्त गरिएको जनाइएको छ। करिब ६ किमि लामो टुकुचाको ४ मिटर चौडाइभित्र पर्ने जग्गाधनीको सूची–

असोज ३, २०७९, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad