समाज


वाल्मिकी विद्यापीठको नक्कली पत्रबाट आठ विदेशी नागरिकलाई अध्ययन भिसा

वाल्मिकी विद्यापीठको नक्कली पत्रबाट आठ विदेशी नागरिकलाई अध्ययन भिसा

नेपालखबर
जेठ २८, २०८३ बिहिबार १७:४७, काठमाडौँ

वाल्मिकी विद्यापीठको नक्कली पत्रबाट आठ विदेशी नागरिकलाई अध्ययन भिसा जारी भएको पाइएको छ। अध्यागमन विभागका अनुसार ६ चिनियाँ, एक जना कोरियन र एक जना रसियाका नागरिकहरूलाई नक्कली पत्रका आधारमा भिसा जारी गरिएको हो। 

वाल्मिकी विद्यापीठको नक्कली पत्र प्रयोग गरी १० विदेशी नागरिकका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा कागजात पेस भएको र सोही आधारमा मन्त्रालयको जेठ २१ को निर्णयका आधारमा अध्यागमन विभागलाई भिसा सिफारिस भएको थियो। 

सोही सिफारिसका आधारमा आठ जनालाई भने यसअघि भिसा जारी गरिसकेको विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए।उनका अनुसार थप दुई जनाको भिसा जारी गर्ने क्रममा शंका लागेपछि कागजात जाँच गर्दा पत्र नक्कली रहेको खुलेको थियो। 

उनीहरू यसअघि पर्यटक भिसा लिएर नेपाल आवतजावत गरेको अध्यागमनको अभिलेखबाट देखिएको छ। कतिपय विगत सात वर्षदेखि नै नेपालमा आउने गरेको ढकालको भनाइ छ। 

नक्कली पत्रमा वाल्मिकी विद्यापीठमा संस्कृत साहित्यको दुईवर्षे आचार्य तहमा भर्ना भएको दाबी गरिएको छ। 

घटनामा संलग्न रहेको आरोपमा बिहीबार वीरगञ्ज महानगरपालिका –९, पर्साका सुबोध शुक्ल र एक चिनियाँ महिला वाङ जिन्काओ पक्राउ परेका छन्। पक्राउ परेका चिनियाँ नागरिकले पेस गरेको कागजातमा नेपाल संस्कृत विश्वविद्यालयको नाममा जारी भएको संस्कृत साहित्य प्रशिक्षण शुल्क भनी उल्लेख भएको आम्दानी भरपाई समेत बरामद् भएको छ। 

शुक्लले यसअघि पनि भिसा सिफारिस सहित विदेशी नागरिक ल्याउने गरेको स्वीकार गरेका ढकालले जानकारी दिए। उक्त सिफारिसहरुको आधिकारिकताको विषयमा विभागले थप अनुसन्धान गरिरहेको जनाएको छ भने जारी भइसकेका भिसा रद्द गर्ने प्रक्रिया अघि बढाएको छ।

भिसा लिइसकेका अन्य विदेशी नागरिकहरूको खोजी तथा थप अनुसन्धान गरिने प्रवक्ता ढकालले बताए।

अनुसन्धानबाट थप कसुर देखिएमा पक्राउ, जरिवाना, निष्काशन तथा भविष्यमा नेपाल प्रवेशमा रोक लगाउनेसम्मको कारबाही हुन सक्छ। नेपालीको हकमा सरकारी कागज किर्तेको कसूरमा अनुसन्धान तथा कारबाही हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad