काठमाडौँको बालुवाटारस्थित 'मारिया हस्पिटल' (मारिया हेल्थ सेन्टर प्रालि) मा काउन्सिलले स्थलगत अनुगमन गर्दा बिनाअनुमति अस्पताल सञ्चालन गरेको र विदेशी चिकित्सकबाट अवैध रूपमा स्वास्थ्य परीक्षण गराएको पाइएकाले कारबाही प्रक्रिया अघि बढाइएको छ।

नेपाल मेडिकल काउन्सिलका अनुसार 'मारिया हस्पिटल'विरुद्ध निम्नबमोजिम कानुनी कारबाही अगाडि बढाइएको हो।
१. आवश्यक अनुमति र क्लिनिकल मापदण्ड पूरा नगरी चिकित्सा अभ्यासमा संलग्न ३ चिनियाँ नागरिकको अस्थायी दर्ता (एफएनडी) तत्कालका लागि निलम्बन गरिएको छ।
२. संस्थाको बोर्डमा नाम राखी आचारसंहिता उल्लंघन गर्ने नेपाली चिकित्सकहरूलाई ३ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ।
३. उक्त अवैध संस्थालाई तत्काल भौतिक रूपमा बन्द (सिलबन्दी) गर्न र सञ्चालकहरूमाथि कारबाही चलाउन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौँमा पत्राचार गरिएको छ।
४. भिसा सर्तविपरीत कार्य गर्ने ती विदेशी नागरिकहरूको गैरपर्यटकीय भिसा र श्रम इजाजत खारेजीका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा विस्तृत प्रतिवेदन पठाइएको छ।
यसैबिच मेडिकल काउन्सिलले बिनाअनुमति सञ्चालित स्वास्थ्य संस्था वा दर्ता नभई लुकिछिपी बिरामी जाँच्ने चिकित्सकबारे तत्काल काउन्सिल वा स्थानीय प्रशासनमा प्रमाणसहित उजुरी दिन नागरिकलाई आग्रह गरेको छ।
मेडिकल काउन्सिलका निमित्त रिजिस्ट्रार डाक्टर दीपेन्द्र पाण्डेले जारी गरेको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘उजुरीकर्ताको गोपनीयता पूर्ण रूपमा सुरक्षित राखिनेछ। जनस्वास्थ्यमा खेलबाड गर्ने र काउन्सिलको आचारसंहिता विपरीत कार्य गर्ने जो कोहीलाई पनि कानून बमोजिम कडा दायरामा ल्याउन काउन्सिल प्रतिबद्ध छ।’


Shares

प्रतिक्रिया