श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेकोमा माफी मागेका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्तिबारे परराष्ट्रमन्त्री शिशिर खनालले प्रस्टीकरण दिएका थिए। प्रधानमन्त्रीको भनाइ दशगजा क्षेत्रको अतिक्रमण र ‘क्रस बोर्डर अक्कुपेसन’सँग सम्बन्धित भएको उनले प्रस्टीकरण दिए।
त्यसपछि सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलका सांसदलाई बोल्न समय दिएका थिए। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे, नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद प्रमेश हमाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले बोलेका थिए।
उनीहरूले बोल्दा ‘रोस्टम’ प्रयोग गरेका थिए। तर, श्रम संस्कृति पार्टीबाट बोल्न समय माग गरिएको थियो।
सभामुख अर्यालले श्रम संस्कृति पार्टीबाट बोल्न समय माग नभएको र नाम पनि नटिपाएकाले बोल्न समय नदिएको बताए। त्यसपछि भने श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङसहित सांसदले ‘रोस्टम’ अगाडि गएर नाराबाजी गरेका थिए।
उनीहरूको नाराबाजीबीच सभामुख अर्यालले प्रतिनिधि सभाको बैठक सञ्चालन गरेका थिए। तर, श्रम संस्कृति पार्टीका सांसदले नाराबाजी जारी राखेपछि सभामुख अर्यालले बोल्न दिने बचन दिएर आफ्नो आसनमा बस्न आग्रह गरेका थिए।
उनीहरूले नाराबाजी रोकेर श्रम संस्कृति पार्टीको तर्फबाट बोल्ने सांसदको नाम टिपाइएको थियो। त्यसपछि साम्पाङले बोलेका थिए।
त्यस क्रममा उनले प्रधानमन्त्री शाह संसद्मा आउनुपर्ने बताए। त्यसका लागि सभामुखलाई ‘रुलिङ’ गर्न आग्रह गरे।
आफ्नो मन्तव्यको अन्तिममा साम्पाङले संसद् बैठकमा अवरोध गरेकोमा माफी मागे। ‘हामी श्रम संस्कृति पार्टीको कारणले आजको संसद्को कारबाही पर्न गएको अलिकति असुविधा थोरै थियो होला। हामी क्षमा पनि माग्छौँ,’ साम्पाङले भने।
उनले संसद्को गरिमा जोगाइराख्न सबैले भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो। संसद्को गरिमा जोगाउनका लागि आफूहरूले प्रतिबद्ध रहेको साम्पाङले बताए।
Shares

प्रतिक्रिया