जनकपुरधाम-जटही छोटी भन्सार कार्यालयमा कार्यारत नायव सुब्बा नविनकुमार पाण्डेले समाचार संकलन गर्न गएका पत्रकारमाथि दुर्व्यवहार गरेका छन्। नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सभासद् सन्तोष बराइली र नेपाल समाचारपत्र दैनिकका सिरहा सम्वाददाता शुभेन्दर दासलाई समाचार संकलनका क्रममा नेपाल भारत सीमास्थित भन्सार कार्यालयमा दुर्व्यवहार गरिएकाे महासंघले जनाएको छ।
महासंघका अनुसार मंसिर १८ गते सेवाग्राहीसँग भन्सार कार्यालयका कर्मचारीले खुल्लमखुल्ला पैसा असुली गरिरहेको दृश्य क्यामेरामा कैद गरिरहेको अवस्थामा पत्रकार बराइली र दासलाई नायव सुब्बा पाण्डेले एक्कासि क्यामेरा खोसेर दुर्व्यवहार गरेका थिए।
महासंघले घटनाको विरोध गरेको छ। नागरिकलाई सुसूचित गर्ने कार्यमा खटिएका पत्रकारलाई गरिएको दुव्र्यवहारले पत्रकारको संवैधानिक स्वतन्त्रताको हनन् भएको महासंघको ठहर छ। उक्त प्रेस स्वतन्त्रताविरोधी घटनाको छानबिन गरी दोषी कर्मचारीमाथि कानुनी कारवाही गर्न माग गरेको छ।

प्रतिक्रिया