समाज


जेल छल्न बैंकका सिइओ सेटिङमा ४० दिनदेखि अस्पतालमै

जेल छल्न बैंकका सिइओ सेटिङमा ४० दिनदेखि अस्पतालमै

दीपक खरेल
कात्तिक २२, २०७६ शुक्रबार ६:४९,

बैंक अफ काठमाडौंका पूर्व प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ ४० दिनदेखि बीर अस्पतालको क्याविन नम्बर २ मा भर्ना भएर बसिरहेका छन्।

बैंकिङ कसुर मुद्दामा पूर्पक्षका लागि उच्च अदालत पाटनले सदरखोर डिल्लीबजार पठाएका सिइओ श्रेष्ठ जस्तै बैंक अफ काठमाडौं (बिओके) कै पूर्व शाखा प्रमुख किरणकुमार बोहरा पनि बीरकै क्याबिन नम्बर ५ मा उपचाररत छन्।

बीर अस्पतालको बिरामी सूचनापाटीमा जनाइए अनुसार श्रेष्ठ असोज ११ र बोहरा असोज १२ गतेदेखि क्याबिनमा भर्ना भएर बसेका हुन्। दुबैलाई ‘ग्यास्ट्रो मेडिसिन’ का डाक्टरले हेरिरहेका छन्।

यी दुई जनाको उपचारमा संलग्न बीरका वरिष्ठ चिकित्सक विधानिधी पौडेलको सिफारिसमा बीर अस्पतालका निर्देशक डाक्टर केदारप्रसाद सेन्चुरीले कार्तिक १९ गते सदरखोर डिल्लीबजारलाई पत्र लेख्दै भनेका छन्, ‘अझै उहाँहरुको रोग पत्ता लागिसकेको छैन, केही समय लाग्न सक्छ।’

सदरखोरले ताकेता गरेपछि मात्र बीर अस्पतालले चलानी नम्बर १०७० को सो पत्र पठाएको थियो।

Bir3

पाटन उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र रामप्रसाद ओलीको संयुक्त इजलाशले बैंकिङ कसुरमा श्रेष्ठसहित तीन जनालाई थुनामा राख्ने आदेश असोज १० मा दिएको थियोे।

पूर्पक्षका लागि थुनामा बस्न सदरखोर गएका श्रेष्ठ र बोहराले त्यहाँ पुगेको दुईघण्टा नबित्दै स्वास्थ्य समस्या रहेको जानकारी कारागार प्रशासनलाई गराए। कारागार प्रमुख जेलर अरुण पोखरेलले दुबैलाई सुरक्षाकर्मीका साथ स्वास्थ्य जाँचका लागि बीर अस्पताल पठाए। तर पूर्पक्षका लागि आएका बन्दीहरु त्यसपछि कारागार फर्किएका छैनन्।

‘हामीले दुई पटक ताकेता गरिसक्यौं’, जेलर उपसचिव पोखरेलले बुधबार नेपालखबरसँग भने, ‘सँगै रहेका सुरक्षाकर्मीले उहाँहरुको स्वास्थ्यमा गम्भिर समस्या छैन भन्छन्, अस्पतालले रोग पत्ता लागेन भन्छ।’

कारागार प्रशासनका अनुसार असोज २७ मा चलानी नम्बर १३३९ र कार्तिक १४ मा चलानी नम्बर १६३३ बाट सदरखोर डिल्लीबजारले बीरलाई पत्र लेख्दै बन्दीहरुको स्वास्थ्य उपचार पूरा गरेर फिर्ता पठाउन ताकेता गरेको हो।

बीर अस्पतालका निर्देशक डाक्टर केदारप्रसाद सेन्चुरी आफुले उपचारमा संलग्न चिकित्सकको सिफारिसका आधारमा श्रेष्ठ र बोहरालाई थप उपचार हुनुपर्ने आशयको पत्र लेखेको बताए। साथै आफु व्यस्त भएकाले दुबै बिरामीमा देखिएको स्वास्थ्य समस्याका विषयमा जानकारी लिन नपाएको बताए।

Bir2

‘मेडिसिन विभाग प्रमुख डाक्टर सापले नै सिफारिस गरेकाले पत्र लेखेको हुँ’, डाक्टर सेन्चुरीले बिहीबार नेपालखबरसँग भने, ‘के भएको रहेछ, राउण्डमा समेत जान पाएको छैन्।’

नेपालखबरको टिम बिहीबार बीर अस्पताल पुग्दा दुबै क्याबिनको ढोका बन्द थियो। दुबै क्याबिन कारागारबाट खटिएका सुरक्षाकर्मी सहित श्रेष्ठ र बोहराले ओगटेर बसेका थिए। करिब साढे तीनबजे आफुले खाएका तयारी खाना र जुसको फोहोर फ्याल्न श्रेष्ठ बाहिर निस्के।

नेपालखबरले ड्यूटिमा रहेकी नर्ससँग यी दुई जनाको स्वास्थ्य समस्याका विषयमा जिज्ञासा राख्दा ‘दुबैलाई उच्च रक्तचापको समस्य देखिएको’ जवाफ दिइन।

‘उहाँहरुको वीपी हाई देखिएको छ, अरु त खासै केही होइन’, बिहीबार साढे तीनबजे ड्यूटिमा रहेकी नर्सले भनिन्।

बीर अस्पतालमा रहेका जम्मा सातवटा क्याबिनमध्ये श्रेष्ठ र बोहराले दुईवटा ओगटेका छन्। यस्तै छोराको हत्यारालाई कारबाहीको माग सहित लामो समयदेखि अनशनरत गोरखाकी गंगामाया क्याबिन नम्बर ७ मा छिन्। बाँकी रहेका चारवटा क्याबिन कब्जा गर्न गम्भिर रोगका बिरामीका आफन्तहरुबीच सधैं तँछाडमछाड चल्ने गर्छ।

बिहीबार अस्पतालमा भेटिएका एकजना ब्लड क्यान्सरका रोगीका आफन्तले १० दिन लामो प्रतिक्षापछि क्याबिन पाएको बताए। बीरको क्याबिन नम्बर ४ ढुकेर बसेका उनले यो सुविधा पाउनु ठूलो उपलब्धी भएको सुनाए। जबकी तर पूर्पक्षका लागि कारगार गएका बन्दीहरूले उपचारका नाममा ४० दिनदेखि क्याबिन कब्जा गरेर बसेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले कर्जा दुरुपयोग गरेको आरोपमा ५ असोजमा श्रेष्ठ र बोहरासहित ११ जनालाई पक्राउ गरेको थियो।

सिइओ श्रेष्ठ विरुद्ध स्वर्णिम एण्ड श्रीजन कम्पनीका नाममा सञ्चालक सुरेन्द्र श्रेष्ठले ऋण लिँदा जालसाजी गरी बैंकलाई २ करोड ५० लाख १२ हजार रुपैयाँ हानी नोक्सानी पुर्याएको आरोप छ।

२०७१ सालमा हेटौंडा घर भई काठमाडौं बस्ने सुरेन्द्र श्रेष्ठले झापाको ४ कट्ठा १० धुर सहितका विभिन्न स्थानका जग्गा धितो राखेर बैंक अफ काठमाण्डूबाट करिब ५ करोड रुपैयाँ ऋण लिएका थिए। उनले नक्कली धितो राखेर ऋण लिएको अनुसन्धानमा खुलेपछि त्यसलाई स्विकृती दिने सिइओ श्रेष्ठ र शाखा अधिकृत बोहरा सहित १६ जना प्रतिवादी कायम गर्दै ब्यूरोले उच्च अदालत पाटनमा मुद्दा बुझाएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .