कारोबार


व्यापार र लगानीबारे छलफल गर्न काठमाडौंमा नेपाल र युरोपेली संघबीच बैठक

व्यापार र लगानीबारे छलफल गर्न काठमाडौंमा नेपाल र युरोपेली संघबीच बैठक

नेपालखबर
कात्तिक २२, २०७६ शुक्रबार ६:५१,

नेपाल–युरोपेली संघ संयुक्त आयोगको बैठक राजधानीमा सुरु भएको छ। बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्र सचिव शङ्करदास वैरागी र एसिया–प्रशान्त क्षेत्रका लागि संघका नायब प्रबन्धनिर्देशक पाओला पम्पालोनीले संघको प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन्।

बैठकमा आपसी हितका क्षेत्रीय र बहुपक्षीय विषयका साथै नेपाल र युरोपेली संघबीचको सम्बन्धका सबै पक्षबारे विचारविमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। बैठकमा व्यापार–वाणिज्यका साथै आर्थिक तथा विकास सहायता, संयुक्त लगानी, ऊर्जा, विज्ञान तथा प्रविधि, कृषि, पर्यावरण, मानव संसाधन विकासका क्षेत्रमा संघद्वारा प्राप्त सहयोग अभिवृद्धिलगायत विषयमा पनि विचारविमर्श हुनेछ। बैठकमा नेपालको राजनीतिक स्थितिबारे पनि छलफल हुनेछ ।

संघले मानवीय सहायताका साथै युरोपेली लगानी बैंकमार्फत भौतिक पूर्वाधार तथा ऊर्जा क्षेत्रको विकासका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराउँदै आएको छ। एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका निम्ति उक्त बैंकले पाँच करोड ५० लाख युरो ऋण सहयोग गरेको छ। भुटानी शरणार्थीलाई खाद्य सहयोग तथा शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालयमार्फत पनि सहयोग गर्दै आएको छ।

हरेक दुई वर्षमा काठमाडौँ र ब्रसेल्समा पालैपालो उक्त बैठक हुँदै आएको छ। पारस्परिक लाभका विषयमा विचारविमर्श गर्न सन् १९८६ मा संयुक्त आयोग स्थापना भएको हो । नेपाल र युरोपेली सङ्घबीच सन् १९७५ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता सङ्घले नेपालको राजनीतिक एवं आर्थिक क्षेत्रमा पनि निरन्तर सहयोग गर्दै आएको छ । नेपालको निर्यात प्रवर्द्धनका निम्ति सङ्घले नेपाली उत्पादनलाई सन् २०१५ सम्मका लागि ‘ड्युटी फ्री, कोटा फ्री’ सुविधा प्रदान गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .