मंगलबार राष्ट्रपति कार्यालय शीतलनिवासमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कविता प्रतियोगिताका विजेतालाई पुरस्कृत गरियो।
प्रतिष्ठानले २०७५ र ०७२ गरी दुई वर्षका कविता प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने कविलाई पुरस्कृत गरेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले क्रमशः प्रथम, द्वितीय र तृतीयलाई स्वर्ण, रजत र कास्य पदकसहित नगद र ताम्रपत्र प्रदान गरिन्।
पुरस्कार प्राप्त गरेको २४ घण्टा नबित्दै २०७२ मा प्रथम भएका कवि प्रोल्लास सिन्धुलीयले राष्ट्रपतिले प्रदान गरेको ताम्रपत्र नक्कली भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखे। त्यसपछि यस विषयमा विभिन्न टीका–टिप्पणी तथा चर्चा सुरु भयो। धेरैले लामो समयदेखि विभिन्न कारणले विवादमा रहेको प्रज्ञा प्रतिष्ठानप्रति आक्रोश व्यक्त गरेका छन्।
प्रोल्लासले नेपालखबरसँग कुरा गर्दै प्रतिष्ठानले कविहरुलाई हेपेको बताए। ‘पहिल्यैदेखि ताम्रपत्र दिने चलन थियो, यसपाली प्लास्टिकको स्टिकर टाँसेर दिइयो’ उनले भने, ‘यिनीहरुलाई जे दिए पनि हुन्छ भनेर हामीलाई हेपेका हुन्।’
२०७२ मा जितेको पुरस्कार मुद्दामालिलाका कारण ४ वर्ष ढिला पाउँदा पनि नक्कली परेको भन्दै उनले फेसबुकमा आक्रोश पोखेका छन्। ‘ताम्रपत्रको डुब्लिकेटिङ गरी प्लास्टिकको स्टिकर टाँसेर सम्माननीय राष्ट्रपति, प्रज्ञाप्रतिष्ठान र कविहरुलाई समेत एकसाथ झुक्याउन र कविता महोत्सवको खिल्ली उडाउन सफल हुनुभएकोमा सम्बन्धित पदाधिकारीहरुप्रति हार्दिक बधाईं अर्पण गर्दछु।’
प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँला, संस्कृतविद् सत्यमोहन जोशीलाई साक्षी राखेर राष्ट्रपतिद्वारा पुरस्कार प्रदान गरिएको थियो। सो समारोहमा प्रज्ञाका कुलपति गंगाप्रसाद उप्रेती र सदस्य–सचिव जगतप्रसाद उपाध्याय लगायतका पदाधिकारी र सदस्यहरु उपस्थित थिए।
सदस्य–सचिव उपाध्यायले भने २०७१ देखि नै कागजको प्रमाणपत्र दिन थालिएको बताए। ‘कविहरुलाई झुक्याउनुभएछ नि?’ भन्ने नेपालखबरको प्रश्नमा उनले भने, ‘पहिले पित्तलको दिने गरिएको थियो तर, पछि ३–४ वर्षमा मेटल खुइलियो, अक्षर बुझिएन भन्ने गुनासो आएपछि २०७१ देखि कागजको स्टिकरमा दिन थालिएको हो।’
प्रोल्लासको भनाइलाई पुष्टि गर्दै साहित्यकार निलम कार्की ‘निहारिका’ले आफूले पनि प्रज्ञाबाट ताम्रपत्र नै पाएको बताइन्। उनी २०५७ मा तृतीय भएकी थिइन्। २०७१ र त्यसपछिका विजेतासँग सम्पर्क गर्दा उनीहरु आफूहरुले पाएको प्रमाणपत्र पित्तलको थियो या कागजको भन्ने थाहा नभएको बताउँछन्।
२०७१ मा प्रथम भएका एकल यात्री बाहिरबाट हेर्दा पहेलो देखिए तापनि ताम्रपत्र हो वा कागजमा लेखिएको हो भन्ने ठ्याक्कै आफूले ख्याल नगरेको बताउँछन्।
२०७२ मा प्रोल्लासको ‘गाउँको विद्यालय’ कविता प्रथम भएको थियो। तर, कविता प्रतियोगितामा वाचन गर्नुअघि नै मधुपर्कमा प्रकाशित भएको भन्दै प्रज्ञाले पुरस्कार नदिने निर्णय गरेको थियो। प्रज्ञाको निर्णयविरुद्ध प्रोल्लासले अदालतमा मुद्दा हालेका थिए। अदालतले उनको पक्षमा निर्णय गरेपछि ४ वर्षपछि मात्रै उनले सो पुरस्कार पाएका हुन्।
२०७२ का प्रथम कवि प्रोल्लास सिन्धुलीय र २०७५ का प्रथम फूलमान बल
यता, सदस्य–सचिव उपाध्याय र प्रज्ञाका प्रशासक प्रमुख सुमन अधिकारीको भनाई भने बाँझिएको छ। अधिकारी आफूलाई यसबारे धेरै जानकारी नभएको बताउँछन्। ‘म प्रशासन प्रमुख भएको धेरै भएको छैन त्यसैले यसबारे मलाई खासै आइडिया छैन’ उनी भन्छन्, ‘सायद ताम्रपत्र दिँदा धेरै पैसा लाग्ने भएका कारण कागजको दिन थालिएको हो कि भन्ने मेरो अनुमान हो।’
प्रज्ञाका पूर्व कुलपति बैरागी काइँलाले नेपालखबरसँग संक्षिप्त कुरा गर्दै आफ्नो कार्यकालमा विजेतालाई ताम्रपत्र प्रदान गरिएको बताए। पूर्व कुलपति काइँलाको भनाइले पनि प्रतिष्ठानले यसअघि ताम्रपत्र दिँदै आएको पुष्टि हुन्छ।
प्रतिष्ठानका प्रशासन प्रमुखको भनाईले पनि यो केही पदाधिकारीको निर्णय भएको पुष्टि गर्दछ।

प्रतिक्रिया