नेकपा कम्युनिष्ट पार्टी (नेकपा)ले जनवर्गीय तथा पशेगात संगठनहरु संयोजक र सह संयोजक तोकेको एक महिना हुँदा समेत उनीहरुको सपथ हुन सकेको छैन।
जनवर्गीय संगठनहरुबारे कुनै निर्णय नगर्दा जिम्मेवारी पाएकाहरु रनभुल्लमा परेका छन्।
पार्टी एकीकरणको एक वर्षपछि जनसंगठनहरुले संयोजक र सहसंयोजक पाएको थियो। नेकपा सचिवालयले जेठ ३ मा २२ वटा जनवर्गीय संगठनका संयोजक र सह संयोजक तोके पनि कसरी अघि बढ्ने भन्ने कुनै निर्णय गरेको छैन।
औपचारिक निर्णयहरु तल्लो कमिटीलाई जानकारी गराउन समेत आन्तरिक सर्कुलर भएको छैन।
जनवर्गीय संगठनका संयोजक तथा सह संयोजकहरुले एकीकरणको विषयमा सचिवालयले आफैँले निर्णय नगर्ने र संगठनलाई पनि जिम्मेवारी नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। नेकपाले जनवर्गीय संगठन निर्माणका लागि २ सय ५१ सदस्यीय बनाउन निर्देशन दिएको छ। उनीहरुको गुनासो छ, ‘न हामीलाई स्वतन्त्र रुपमा काम गर्न दिए न सचिवालयले कार्ययोजना दिएर यसरी अघि बढ भने।’
युवा संगठनका संयोजक तोकिएका रामप्रसाद सापकोटा दिपशीखा जनवर्गीय संगठनको एकीकरणको विषय शीर्ष नेतृत्वको प्राथमिकतामा नपरेको बताउँछन्।
‘अहिले जनवर्गीय संगठन एकीकरणको विषयमा नेताहरुको प्राथमिकतामा परेको दखिँदैन,’ उनले नेपालखबरसँग भने, ‘पार्टीले न हामीलाई काम गर्न छाडिदिएको छ न यसरी अघि बढ्ने भनेर निर्देशन नै छ। यसले अन्यौलको अवस्था छ।’ निश्चित निर्देशन नहुँदा एकीकरणपछि पनि जनवर्गीय संगठन नेतृत्व पंक्तिमा कुनै उत्साह छैन।
विद्यार्थी संगठन संयोजक तोकिएका ऐन महर अहिले अनौपचारिक छलफलहरुमा मात्र सहभागी भइरहेको बताउँछन्।
‘सपथग्रहण भएको छैन। औचापरिक रुपमा काम गर्न पाएको छैनौं,’ उनी भन्छन्, ‘अहिले साथीहरुसँग अनौपचारिक छलफल मात्र भइरहेको छ। दसैँसम्ममा जिल्ला तहसम्म एकीकरण गर्ने योजना छ।’ महिला र युवा संगठन प्रमुखहरुको अवस्था पनि महरको भन्दा फरक छैन।
महिला संगठनकी संयोजक अमृता थापा मगर पार्टीले ठोस निर्णय गरेको कारण काम अघि बढ्न नसकेको बताउँछिन्। ‘पार्टीका ठोस कार्ययोजना दिएको भए सहज हुन्थ्यो। अहिलेसम्म आउन सकेको छैन’ उनले नेपालखबरसँग भनिन्, ‘नाम, नेतृत्व र संख्याको विषय मिल्न सकेको थिएन। पार्टीले संख्यालाई टुङयायो तर नामबारे केही बताइएको छैन। पार्टीले सचिवालयले ठोस कार्यनीति निर्माण गरे त्यसमा अघि बढ्न सजिलो हुन्थ्यो।’
महिला संगठनका लागि अखिल नेपाल महिला संघ, अखिल नेपाल महिला महासंघ, अखिल नेपाल महिला संघ एकीकृत वा अखिल नेपाल महिला संघ क्रान्तिकारी नाम प्रस्ताव भएको थियो। ‘पार्टीले २ सय ५१ सदस्यीय कमिटी बनाउन भनेको छ तर त्यसमा अटाउन गाह्रो छ’, उनी भन्छिन्।
पार्टीले जनवर्गीय संगठनहरुलाई बढीमा २ सय ५१ सदस्यीय कमिटी बनाउने निर्देशन दिएका छन्। किसान महासंघ, मजुदर, विद्यार्थी, युवा, महिला, भारत प्रवास, पेशागत महासंघ, जनसंस्कृतिक महासंघ, मुस्लिम संगठन, इन्जिनियर, वकिल, खेलकुद, उद्योगी व्यवसायी, पत्रकार, अपांग संघसहितका जनवर्गीय तथा पेशागत संगठन रहेका छन्।

प्रतिक्रिया