राजनीति


कांग्रेसबाट निर्वाचित पालिकाका जनप्रतिनिधिले पनि बोलाए राष्ट्रिय भेला

कांग्रेसबाट निर्वाचित पालिकाका जनप्रतिनिधिले पनि बोलाए राष्ट्रिय भेला

नेपालखबर
साउन ७, २०८३ बिहिबार १९:३५, काठमाडौँ

नेपाली कांग्रेसभित्र देखिएको विवाद थप पेचिलो भन्दै गएपछि कांग्रेसबाट निर्वाचित नगर र गाउँपालिकाका जनप्रतिनिधिले पनि राष्ट्रिय भेला गर्ने भएका छन्। 

कांग्रेसको संस्थापन इतर पक्षले साउन २९ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएर नयाँ पार्टी गठनको दिशा समातेपछि पालिकाका जनप्रतिनिधिले पार्टी एकताका लागि दबाब अभियान सुरु गरेका हुन्। स्थानीय तहमा निर्वाचित मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यसमेतलाई काठमाडौँ बोलाएर दबाब मुलक भेला गर्न लागिएको हो। 

बिहीबार गोकर्ण रिसोर्टमा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीको नेतृत्वमा भएको बैठकले साउन १६ गते राष्ट्रिय भेला बोलाउने निर्णय गरेको छ। बैठकले शुक्रबार बिहानैदेखि पार्टीका शीर्ष नेतासँग मिल्न नसक्नुका कारणबारे भेटेर छलफल गर्ने र मिल्नका लागि दबाब दिने निर्णय पनि गरेको छ। 

दबाब अभियानले नेपाल नगर पालिका संघका केन्द्रीय अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगानालाई संयोजक र गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष तथा हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेलाई सहसंयोजक तोकेको छ। त्यस्तै, मञ्च तथा जनसम्पर्कमा शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारी, स्रोत ब्यवस्थापनमा तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन र प्रचारप्रसारमा सरोज अधिकारीलाई जिम्मेवारी दिएको छ।

आगामी स्थानीय र प्रदेशको निर्वाचन तथा पार्टी एकताका विषयमा छलफल गर्न भेला आयोजना गर्न लागिएको अभियानका संयोजक ढुंगानाले जानकारी दिए.

‘जुन पार्टीको कार्यकर्ता भएर यहाँ पुगियो, त्यो पार्टी जोगाउनु हामी सबैको कर्तब्य हो,’ ढुंगानाले भने, ‘पार्टीलाई एकताबद्ध बनाउनका लागि नै हामीले दशभरका जनप्रतिनिधि काठमाडौँ बोलाएर दबाब दिन खोज्दै छौँ।’

उनले समूहको कुरा नभई पार्टीलाई मात्र केन्द्रमा राखेर भेला बोलाइएको बताए। पार्टीलाई मिलाउने बिन्दु खोज्ने सन्दर्भमामा शुक्रबारदेखि नै पार्टी सभापति गगन थापासहित पदाधिकारी र असन्तुष्ट नेताहरूसँग छलफल गरिने उनको भनाइ छ। 

स्थानीय तहमा कांग्रेसका शुभेच्छुक तथा कार्यकर्ता पार्टी नफुटोस् भन्ने पक्षमा रहेकाले त्यसकै प्रतिनिधित्व गर्दै दबाब दिन लागेको शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारीले बताए। बैठकले भेलामा पेश गरिने विषयहरू तय गर्न सबै प्रदेशमा समन्वयात्मक बैठक समेत गर्ने तयारी गरेको छ। 

नमिलेका विषयमा छलफलपछि विकल्पसहित मिलन बिन्दुको दस्तावेज समेत सार्वजनिक गरिने तयारी भएको कागेश्वरीका मेयर कार्कीले बताए। राष्ट्रिय सभागृह वा प्रज्ञा–प्रतिष्ठानमध्ये एक हल १६ गतेका लागि बुक गरिने गोकर्णेश्वर मेयर दिपक रिसालले जानकारी दिए। सातै प्रदेशबाट करिब २० जना मेयरको बैठकमा सहभागिता रहेको थियो। 

बैठकमा जनकपुर उपमहानगरपालिका मेयर मनोज साह, कैलाली गोदावरी नगरपालिकाका मेयर विरेन्द भट्ट, कालिकोट तिलागुफा नगरपालिकाका मेयर शंकर उपाध्याय, दोलखा नगरपालिकाका मेयर लवश्री न्यौपाने, विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, हलेसी नगरपालिकाका मेयर विमला राई, भानु नगरपालिकाका मेयर आनन्द त्रिपाठी, चितवन रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटा, कीर्तिपुर नगरपालिकाकाका मेयर कृष्णमान ढंगोल, ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठलगायतको सहभागिता रहेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad