ad ad

राजनीति


सुदूरपश्चिममा सत्ता गठबन्धनलाई ‘पहिलो गाँसमै ढुंगा’, सभामुख चयन अन्योलमा

गठबन्धनभित्र उन्मुक्ति, बाहिर कांग्रेसको घेराबन्दी
सुदूरपश्चिममा सत्ता गठबन्धनलाई ‘पहिलो गाँसमै ढुंगा’, सभामुख चयन अन्योलमा

गोकुल जोशी
पुस ३०, २०७९ शनिबार ८:१२, कञ्चनपुर

सुदूरपश्चिम प्रदेशसभाको सभामुख निर्वाचनअघि बिहीबारको सर्वदलीय बैठकमा नेकपा एमाले नेतृत्वको सत्ता गठबन्धन त्यही दिन मतविभाजन गराउने पक्षमा थिएन। 

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस भने बिहीबारै मतविभाजन गराउने अडानमा थियो। सभामुखको निर्वाचन सार्ने रणनीतिमा रहेको गठबन्धनकै कारण दिउँसो १ बजेका लागि तोकिएको संसद् बैठक पटकपटक स्थगन भयो। 

नवनियुक्त मुख्यमन्त्री राजेन्द्रसिंह रावलसहित माओवादी केन्द्रका खगराज भट्ट र एमालेकी सन्तोषीकुमारी थापा (शर्मा) ले मन्त्री पदको शपथ खाएपछि संसद् बैठक बसेको थियो।

बिनाविभागका मन्त्री नियुक्तिले सत्तारुढ गठबन्धनमा असन्तुष्टि देखापरेको थियो। त्यसको प्रभाव सभामुखको निर्वाचनमा पर्ने आकलन गरेर गठबन्धन निर्वाचन धकेल्ने ‘मुड’मा थियो।

गठबन्धनभित्र कलहको बीजारोपणको सुइँको पाएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बिहीबारै निर्वाचन गराउन झनै जोडबल गर्‍यो। अन्ततः बिहीबार बेलुकाको प्रदेशसभा बैठकमा सभामुख चयनका लागि मतविभाजन प्रक्रिया अघि बढ्यो।

सुरुमा कांग्रेसतर्फ सभामुखका उम्मेदवार मानबहादुर रावलका पक्ष/विपक्षमा मत विभाजन भएको थियो। जसमा पक्षमा २३ र विपक्षमा २७ मत खस्यो।

बहुमत नजुट्दा कांग्रेसको प्रस्ताव प्रदेशसभाबाट अस्वीकृत भएको थियो। कूल ५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभाको सभामुख चयन गर्न मतविभाजनमा ५० जना सांसद उपस्थित थिए। 

कांग्रेसका शिवराज भट्टले बैठकको अध्यक्षता गरिरहेकाले उनले मतविभाजनमा भाग लिन पाएनन्। सत्तारुढ दल नेकपा एमालेका प्रदेश सांसद चक्र मल्ल र नागरिक उन्मुक्तिका प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरी अनुपस्थित रहे।

कांग्रेसका सभामुख उम्मेदवार मानबहादुर रावलका विपक्षमा सत्ता साझेदार दलबाट खसेको २७ मत पछि गठबन्धनका माओवादीका भीमबहादुर भण्डारीका लागि मतविभाजन हुँदा आएन। एक मत बदर भएर २६ मत मात्रै आयो। 

सत्ता साझेदार माओवादी केन्द्रका सभामुखका उम्मेदवार भीमबहादुर भण्डारीले प्रदेशसभाबाट बहुमत जुटाउन सकेनन्। सत्तारुढ गठबन्धनको एक मत बदर भएको थियो। भण्डारीका पक्षमा २६ र विपक्षमा २३ मत खसे। 

बिहीबार कसैले बहुमत जुटाउन नसक्दा प्रदेशसभाले सभामुख पाउन सकेन। जसले गर्दा शुक्रबारका लागि तोकिएको प्रदेशसभा बैठक बस्नै सकेन। सभामुख चयनका लागि अब कसरी अगाडि बढ्ने भन्ने स्पष्ट व्यवस्था नहुँदा यसबीच कांग्रेसले पनि उल्झन सिर्जना गरेको छ। 

‘बिहीबार सत्तारुढ गठबन्धन सभामुखको निर्वाचन गराउने पक्षमा थिएन, कांग्रेसको जोडबलमा प्रक्रिया अघि बढेको हो’, सर्वदलीय बैठकमा सहभागी एक नेताले भने, ‘शुक्रबार कांग्रेसले अड्को थापेर दोस्रोपटक सभामुखको निर्वाचन हुन दिएन।’

सुदूरपश्चिम प्रदेशसभामा नेकपा एमाले नेतृत्वको सत्तारुढ गठबन्धनलाई ‘पहिलो गाँसमै ढुंगा’ लागेजस्तो भएको छ। 

सभामुखमै बहुमत पुर्‍याउन सकस पर्दा गठबन्धनभित्रको खटपट मुख्यमन्त्री रावललाई खतरा बन्न सक्ने विश्लेषण छ। सत्तारुढ गठबन्धनलाई गठबन्धनभित्र नागरिक उन्मुक्ति र बाहिर नेपाली कांग्रेसले घेराबन्दीमा पारेको छ। 

सत्तारुढ गठबन्धनलाई सभामुख चयनमा सकस पर्नुको पछाडि गठबन्धनभित्रको खटपट हो। ‘हामीले पूर्ण तयारी गर्न सकेनौं, आफ्नो मत बचाउन नसक्दा सभामुखमा बहुमत जुटाउन सकेनौं’, एक नेताले भने, ‘असन्तुष्ट साथीहरूप्रति ध्यान गएन, दललाई जानकारी नदिई बैठकमा अनुपस्थित भएकाले यो कारबाहीको विषय बन्छ।’ 

प्रदेश सरकारको नेतृत्व गरिरहेको एमालेका सांसद चक्र मल्ल डोटीको प्रदेशसभा १ (१) बाट प्रत्यक्ष जितेका सांसद हुन्। उनी पहिलो चरणमै मन्त्री बन्ने लाइनमा थिए। त्यसैअनुसार उनले लबिङ पनि गरेका थिए। तर, उनले मन्त्री पाएनन्। 

गठबन्धनमा छलफलै नगरी मन्त्री चयन गरिएकाले नागरिक उन्मुक्ति पार्टी पनि असन्तुष्ट छ। 

‘गठबन्धनमा आबद्ध दलहरुले हामीसँग छलफल नै नगरी मनोमानी ढंगले एकलौटी मन्त्रीलाई शपथ गराउनुभयो, यसमा हाम्रो गम्भीर असहमति छ’, सांसद कैलाश चौधरीले भने, ‘गठबन्धनलाई समर्थन गरिसकेपछि हामीसँग पनि छलफल हुनुपर्ने हो, तर यस्तो भएन।’

सुरुवातदेखि नै गठबन्धनका दलप्रति दबाब बढाइरहेको नागरिक उन्मुक्तिले शुक्रबार सत्तारुढ गठबन्धनसँग तीन मन्त्रालय र दुई संसदीय समिति सभापतिमा दाबी गरेको छ।

यसमा लिखित सहमति नभएसम्म सभामुख निर्वाचनमा भाग नलिने उसकोे अडान छ। नेपाली कांग्रेसका सांसदसमेत रहेका सभाध्यक्ष शिवराज भट्ट शुक्रबार गाडी र सुरक्षाकर्मी प्रदेशसभामै छाडेर गायब भए।

प्रदेशसभा बैठक अनिश्चितकालका स्थगित गरेर उनी बेलुकासम्म सम्पर्कमै आएनन्। प्रमुख प्रतिपक्ष दलको मिलोमतोमा सभाध्यक्ष भट्ट सम्पर्कविहीन बनेको आरोप नेकपा एमालेका सांसद धर्मराज पाठकले लगाए। 

अल्पमतका रहेको कांग्रेससंगको मिलेमतोमा सभाध्यक्ष गायब भएर संवैधानिक संकट सिर्जना गर्न खोजिएको दाबी उनको छ। 

‘सभाध्यक्ष सम्पर्कमा आउनुभएन, मुख्य दलहरूसँग परामर्श नै नगरी अनिश्चितकालका लागि सदन बन्द गर्नुभएको छ’, उनले भने, ‘कांग्रेससँगको मिलमतोमा संवैधानिक संकट खडा गर्न खोजिएको छ।’

सभाध्यक्षको यो कदमले संवैधानिक व्यवस्थामै प्रश्न उठ्ने खतरा बढेको उनको भनाइ छ। सुदूरपश्चिम प्रदेशसभाको सभामुख चयन प्रक्रिया अन्योलमा परेको छ।

प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र त्यसपछि सभामुखले उपसभामुखको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ। सोहीअनुसार माघ २ गते सम्म सभामुख र उपसभामुख चयन गरिसक्नुपर्छ।

प्रदेशसभाको ज्येष्ठ सदस्य मानबहादुर रावल सभामुखको उम्मेदवार रहेकाले भट्टले सभाध्यक्षता गरिरहेका थिए। 

सभामुख चयनका लागि बिहान ११ बजे बोलाइएको प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगन भएको थियो। सर्वदलीय बैठकमा अपराह्न ४ बजे बैठक बस्ने सहमति भएको थियो। तर सभाध्यक्ष भट्ट सम्पर्कविहीन भइदिए। 

कांग्रेस सभामुख चयन प्रक्रिया अड्काउने पक्षमा नरहेको सांसद मेघराज खड्का बताउँछन्। सभामुख चयनमा कांग्रेसले संवैधानिक संकट निम्त्याउने काम नगरेको दाबी गर्दै उनले सत्तारुढ गठबन्धनभित्रको खटपटका कारण सभामुख चयन हुन नसकेको बताए। 

‘सत्तारुढ गठबन्धनमा मेल देखिएन, हिजो उहाँहरूका दुई सांसद उपस्थित भएनन्, एक मत बदर भयो’, उनले भने, ‘गठबन्धनका साथीहरूबीच नै समस्या देखिँदा सभामुखले बहुत पाएनन्, आफ्ना सांसदलाई ह्विप लगाउनसक्नुपर्थ्यो, आफूले कमजोरी गर्ने अनि अर्काको टाउकोमा दोष थोपरेर हुन्छ?’

सभाध्यक्ष शिवराज भट्ट गायब नभएको बताउँदै उनले उनी आफूहरूको सम्पर्कमा रहेको जानकारी दिए। 

‘दिनभर प्रदेशसभामै हुनुहुन्थ्यो, सत्तारुढ गठबन्धनमा समस्या नभएको भए पहिलो चरणमै सभामुख चयन भइसक्थ्यो’, उनले भने, ‘पहिलो चरणमा सभामुख चयन नहुँदा दोस्रो चरणका लागि के गर्ने भनेर नियमावली स्पष्ट व्यवस्था नभएकाले उहाँ कानुनी परामर्शमा हुनुहुन्थ्यो।’

सत्तारुढ गठबन्धनमा समस्या नभएको भए बिहीबारको प्रदेशसभा बैठकबाटै सभामुख टुंगो लागिसक्ने उनको दाबी छ।

प्रदेशसभामा कांग्रेसका १९, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपा र स्वतन्त्र सांसद १/१ जना छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .