कतार विश्वकप विजेता अर्जेन्टिनालाई फिफाले कारबाही गर्ने घोषणा गरेको छ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप फाइनलका क्रममा गरेको अर्जेन्टिनाले देखाएको अपमानजनक व्यवहार र फेयर प्लेको नियम उल्लघंन गरेको आरोपमा अनुशासनको कारबाही गर्ने जनाएको हो। फिफाले अर्जेन्टिनाले केही खेलाडी र अधिकारीहरुले दुर्व्यवहार गरेको उल्लेख छ।
अर्जेन्टीनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै ३६ वर्षपछि विश्वकपको उपाधि जितेको थियो।
फिफाले अर्जेन्टिनी फुटबल संघले विश्वकपको समयमा मिडिया र मार्केटिङका नियम पनि उल्लङ्घन गरेको आरोप लगाएको छ।
फिफाले कारबाही गर्ने घोषणा गरे पनि टोलीका कुन सदस्यलाई कुन अपराधमा भन्ने कुरा प्रस्ट छैन।
विश्वकपको फाइनलपछि अर्जेन्टिना तथा एस्टोन भिल्लाका गोलरक्षक एमिलियानो मार्टिनेजले आफुले पाएको उत्कृष्ट गोलरक्षकको ट्रफी लिएपछि अभद्र व्यवहार देखाएका थिए। मैदानमा मात्र हैन, उनले ड्रेसिङ रुममा पनि फ्रान्सका स्टार फरवार्ड केलियन एमबाप्पेको खिल्ली उडाएका थिए।
फिफाले अर्जेन्टिनाले अनुसासन संहिताको तीन नियम उल्ल्लघन गरेको पुष्टि गरेको छ। जसमा धारा ११ को आपत्तिजनक व्यवहार र निष्पक्ष खेलको सिद्धान्त, धारा १२ को खेलाडी र अधिकारीहरुले दुर्व्यहार र धारा ४४ को मार्केटिङका नियम उल्लंघन गरेको बताएको छ।
विश्वकपकै दौरान सेमिफाइनल खेलमा क्रोएसियाका खेलाडीलाई गरेको भेदभावका साथै खेलमा सुरक्षाको सम्भावित नियम पनि उल्लंघन गरेको बारेमा पनि अनुसन्धान भइरहेको छ।
यस्तै कतार विश्वकपअन्तगर्त नै समूह जीको खेलमा स्विटजरल्यान्डसँग ३–२ ले हारेपछि आफ्ना समर्थकले लगाएको नाराका कारण पनि सर्बियाले कारबाहीको सामना गर्नुपर्ने भएको छ।
फिफाले सर्बियालाई ५० हजार स्विस फ्रैंक जरिवाना गर्नाका साथै २५ प्रतिशत सिट खाली राख्न भनेको छ।
त्यसैगरी मेक्सिको र इक्वेडरबिचको खेलमा समर्थकले लगाएको नाराका कारण फिफाले कारबाही गरेको छ। फिफाले मेक्सिकोलाई १ लाख स्विस फ्रैंक जरिवाना सुनाउनाका साथै बन्द रगंशलामा घरेलु मैदानमा हुने खेल खेल्न निर्देशन दिएको छ। इक्वेडरले भने २० हजार स्विस फ्रैक तिदै आधा दर्शकलाई मात्र रंगशाला प्रवेश गर्न दिनेछ।
प्रतिक्रिया