ad ad

राजनीति


मतगणना भइरहेका तीन क्षेत्र : कांग्रेसको २ र माओवादीको १ स्थानमा अग्रता

बाजुरा र स्याङ्जामा कांग्रेस, दोलखामा माओवादी
मतगणना भइरहेका तीन क्षेत्र : कांग्रेसको २ र माओवादीको १ स्थानमा अग्रता

फाइल तस्बिर।


नेपालखबर
मंसिर १६, २०७९ शुक्रबार ७:४३, काठमाडौँ

गत ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ। बागमती प्रदेशको दोलखा, सुदूरपपश्चिम प्रदेशको बाजुरा, र गण्डकी प्रदेशको स्याङ्जा २ बाहेक अन्य सबै क्षेत्रको अन्तिम मतपरिणाम आइसकेको छ। 

१६५ निर्वाचन क्षेत्रमध्ये १६२ क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको र बाँकी ३ वटामा मतगणना जारी भएको निर्वाचन आयोगले जनाएको छ। 

बाजुरामा रोकिएको मतगणनामा बिहीबारदेखि सुरु भएको हो। स्याङ्जा–२ मा बुधबार रातिबाटै मतगणना सुरु भएको थियो। दोलखामा भने बुथ कब्जा भएको निष्कर्षसहित आयोगको निर्देशनपछि बिहीबार (१५ मंसिर) पुनः मतदान भएको थियो। मतदान सकिए लगत्तै त्यहाँ पनि मतगणना जारी छ। 

जारी रहेका तीन क्षेत्रमा २ वटामा नेपाली कांग्रेस र एउटामा नेकपा माओवादी केन्द्रका उम्मेदवारहरूले अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अनुसार बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डेले सुरुवातदेखि नै अग्रता कायम राखेका छन्। 

पाण्डेले ४ हजार २ सय १४ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी एमालेका कर्ण बहादुर थापाले ३ हजार ६६ मत प्राप्त गरेका छन्। 

त्यस्तै, स्याङ्जा २ मा नेपाली कांग्रेसका उपसभापति समेत रहेका उम्मेदवार धनराज गुरुङले अग्रता लिइरहेका छन्। गुरुङले २४ सय १८ मतले अग्रता लिएका छन्। निर्वाचन आयोगका अनुसार गुरुङले ११ हजार ९ सय २० मत प्राप्त गरेका छन्। 

गुरुङका प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार पद्‍मा कुमारी अर्यालले ९ हजार ५ सय २ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। 

उता, दोलखामा पनि सत्ता गठबन्धनकै उम्मेदवारले अग्रता लिएका छन्। नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेका माओवादीकी गंगा कार्कीले २ हजार ३ सय ३९ मत प्राप्त गरेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले ९ सय ३२ मत प्राप्त गरेको श्रेष्ठले नेपालखबरलाई जानकारी दिए। उनीहरुबीचको १४ सय ७ मतको अन्तर छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .