नेपाली कांग्रेस बागमती संसदीय दलको नेतामा २२ मतसहित विजयी भएका इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनपर्ने बताएका छन्।
दलको नेता निर्वाचित भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिदैँ नवनिर्वाचित दलका नेता बानियाँले दलका नेता भएको हैसियतमा मुख्यमन्त्री बनेका बहादुर सिंह लामाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका हुन्। उनले अब पनि राजीनामा नदिए आफू पुनः लोकतान्त्रिक पद्धतीमा गएर पदमुक्त गराउने चेतावनी दिए।
‘बहादुर सिंह लामा दलको नेता भएको हैसियतले दुई दलीय गठबन्धनमा मुख्यमन्त्री बन्नुभएको हो। अहिले दलको नेताबाट पदमुक्त भएर म निर्वाचित भैसकेको छु,’ बानियाँले भने ‘त्यसकारण नैतिकता, राजनीतिप्रति इमान्दारीता, लोकतान्त्रिक पद्धती र पार्टीका कुरा उहाँले मान्नुभएन भने उहाँले लोकतन्त्रको कुरा हो। प्रक्रिया लामो भए पनि प्रक्रियामै गएर भएपनि पदमुक्त गराउन बाध्य हुनेछौं।’
आफ्नै दलभित्र भएको अन्तरसंघर्षलाई ठूलो रुप दिनसमेत बानियाँले आग्रह गरे। लोकतन्त्रमा अन्तरद्वन्द्व, अन्तर संघर्ष हुनु समान्य र लोकतन्त्रको सुन्दर पक्ष भएको बताउँदै उनले थपे,‘दलका नेताले सही ढंगबाट कार्य सम्पादन नगर्दा आफ्नो पार्टी कमजोर होला भनेर नेतृत्व अदलीबदली हुन्छ। एकदलीय तानाशाही व्यवस्था र निरकुंश व्यवस्थामा दलको नेता परिवर्तन गर्न पाइँदैन। त्यसकारण प्रजातन्त्रको, संघीयताको र समावेशीताको सुन्दर पक्ष नै यही हो।’
यसअघि १३ पुस २०७९ मा भएको संसदीय दलको चुनावमा लामा बानियाँलाई ५ मतान्तरले पराजित गर्दै विजयी भएका थिए। त्यसको साँढे २ वर्षपछि बानियाँले दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गराएर लामा नेतृत्वको सरकार ढलाउने खेलमा जुटे।
अविश्वासको प्रस्तावमा मत विभाजन हुँदा २२ सांसदले अविश्वासको प्रस्तावको पक्षमा हस्ताक्षर गरेपछि दलको नेताबाट लामा पदमुक्त भएका थिए।
दलका नेता चुन्नका लागि बुधबार(आज) भएको निर्वाचनमा बानियाँ २२ मतसहित विजयी भए भने लामाको पक्षमा १४ मत खस्दा १ मत बदर भएको निर्वाचन समितिका संयोज हरिशरण श्रेष्ठले जानकारी दिए।
Shares

प्रतिक्रिया