उत्तरपूर्वी सिरियाबाट अमेरिकी फौज फिर्ता भएलगत्तै टर्कीले त्यस क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बाक्लो बनाएको छ।
टर्कीले कुर्दिस फौजविरुद्ध हमलाका निम्ति आफू तयार भएको बताएलगत्तै टर्कीले सिरियासँगको सीमा क्षेत्रमा दर्जनौं सैन्य गाडी पठाएको हो।
सरकारी सञ्चार संस्था अनाडोलुका अनुसार मंगलबार राति बख्तरबन्द गाडी तथा ट्यांकरहरूको लस्कर टर्कीको सीमा नगर अक्काकेलतर्फ लागेका छन्।
कुर्दिस सेनाको बाहुल्य रहेको सिरियाको उत्तर-पूर्वी क्षेत्रमा टर्कीका सैनिक ट्यांक गएपछि त्रास फैलिएको छ।
बीबीसीका अनुसार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले फौज फिर्ता ल्याउने निर्णयको बचाउ गर्दै कुर्दहरूलाई भने नत्यागेको बताएका छन्।
उनको विवादास्पद निर्णयको अमेरिकाभित्र र बाहिर निकै आलोचना भएको छ।
टर्कीले कुर्दिस मिलिसियालाई आतंकवादी मान्छ। ती मिलिसिया सिरियामा इस्लामिक स्टेट आइएस समूहविरुद्ध लडेको अमेरिका-समर्थित एसडिएफको मुख्य समूह हो।
अमेरिकाले कुर्दिस समूह रहेको इलाकाबाट आफ्नो फौज फिर्ता लगेर उनीहरूविरुद्ध टर्कीको हमलाका लागि बाटो खोलिदिएको कतिपयको विश्लेषण छ।
यसैबीच कुर्दिस फौजले अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयलाई धोकापूर्ण भनेका छन्। उक्त फौजले इस्लामिक स्टेट आइएस पराजित गर्न अमेरिकालाई सघाएको थियो।

प्रतिक्रिया