राजनीति


राजेन्द्र महतो भन्छन्: बालुवाटार बिक्री भइसक्यो, सिंहदरबार कहिले हुन्छ?

राजेन्द्र महतो भन्छन्: बालुवाटार बिक्री भइसक्यो, सिंहदरबार कहिले हुन्छ?

नेपालखबर
असोज २, २०७६ बिहिबार १२:१५,

राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारले संविधानको सर्वस्वीकार्यता लाई प्राथमिकता नदिएको भन्दै सरकारको चर्को आलोचना गरेका छन्।

संघीय संसदको चौथो अधिवेशन अन्त्य हुदै गर्दा प्रतिनिधिसभाको विहिबारको तेश्रो बैठकमा बोल्दै राजपाका सांसद महतोले संविधान संशोधन गर्ने प्रतिवद्धता जनाएर पनि डेढ बर्ष सम्म पनि संविधान संशोधन नगरिएकोमा गम्भीर असहमति जनाएका हुन्। उनले संविधान संशोधन नभए यसअघिका संविधान जस्तै संघीय संविधान पनि फाल्नुपर्ने अवस्था श्रृजना हुने भन्दै त्यसतर्फ गम्भीर बन्न चेतावनी दिए।

सरकारले दिपावलीको उर्दी जारी गरेर दिपावली नहुने भन्दै उनले संविधानदिवसको दिन ७० प्रतिशत जनताले ब्ल्याकआउट गर्ने चेतावनी दिए। संविधानलाई असफल बनाउने र प्रहार गर्ने काम सरकारकै क्रियाकलापबाट भएको दाबी पनि उनले गरे।

निर्मला प्रकरण, वाईडवडी, सुन काण्ड, बालुवाटार जग्गा प्रकरण लगायतका घटनाका दोषीलाई कारवाही नभएकोमा पनि उनले सरकारको ध्यानाकर्षण गराए।
उनले भने, ‘बालुवाटार बिक्री भईसक्यो। सिंहदरबार कहिले बिक्री हुने हो त्यो पनि बताईदिनु पर्यो।’

नागरिकताका सम्बन्धमा न्यायाधीशपिच्छे अलग अलग फैसला आउने गरेको भन्दै उनले भने, ‘कहिले खोल्ने कहिले बन्द गर्ने लोडसेडिङको बेलामा बत्ति आउने जाने जस्तो अदालतको फैसला पनि त्यही भएको छ नागरिकताको सवालमा।’

उनले सरकारमै सहभागी भएको पार्टीले संविधान दिवस नमनाएपछि सरकारमाथि नै बैधानिकताको प्रश्न उठेको टिप्पणी गरे। उनले समाजवादी पार्टीका अध्यक्ष एवं सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादवलाई संविधान दिवस नमनाउने भनेर सरकारमै बसिरहन नमिल्ने भन्दै धारणा स्पष्ट पार्न आग्रह गरे।

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सभामुखले दुई पटक गरेको रुलिङलाई नमानेर सरकारले संसदीय अभ्यासमाथि नै अपमान गरेको भन्दै उनले संसद अधिवेशनलाई नै ‘कालो अध्याय’को रुपमा रहेको टिप्पणी गरे।

उनले भने, ‘तपाईको रुलिङलाई पनि सरकारले लगौटी लगाईदियो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad