राजनीति


प्रतिगामीका अवैज्ञानिक कुरामा मुलुक अल्झँदैनः प्रधानमन्त्री

प्रतिगामीका अवैज्ञानिक कुरामा मुलुक अल्झँदैनः प्रधानमन्त्री

नेपालखबर
असोज १, २०७६ बुधबार ७:१६,

प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिलाई उत्पादनसँग जोडेर ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षापूर्तिमा सघाउन वैज्ञानिकहरुलाई आग्रह गरेका छन्।

सातौँ राष्ट्रिय विज्ञान दिवसको अवसरमा बुधबार आयोजित मूल कार्यक्रममा प्रधानमन्त्री ओलीले देशमा राजनीतिक उपलब्धि हासिल र स्थिर सरकार गठन भइसकेकाले शान्तिपूर्ण ढङ्गले सुशासनका साथ अगाडि बढेको सरकारलाई विकास र समृद्धिमा वैज्ञानिकहरुले सघाउनुपर्ने बताएका हुन्।

प्रधानमन्त्री ओलीले भने, ‘हामीमा आलोचनात्मक रवैया र असन्तुष्टि व्यक्त गर्ने बानी पनि छ। तर, बदलिएको समयअनुसार आर्थिक उन्नति गर्दै समृद्ध देश बनाउनुपर्ने छ। वीर र विद्वान् पूर्खाका सन्तान रहेको, प्राकृतिकरुपमा सम्पन्न मुलुकलाई पछाडि पर्नुपर्ने आवश्यकता छैन।’

उनले विज्ञान प्रविधिलाई आत्मसात गरी पुराना पाराले नभई आजको आधुनिक समाजअनुकूल उत्पादनसँग प्रविधिलाई जोडेर अगाडि बढ्नुपर्ने आवश्यकता औल्याउँदै अब अल्मलिने समय नभएको उल्लेख गरे। प्रधानमन्त्री ओलीले भने, ‘केही स्वार्थी तत्वहरु अहिले पनि विकास, सुशासन भन्दा उत्ताउला र प्रतिगामी, जन्मसिद्ध श्रेष्ठताको अवैज्ञानिक कुरा गरेर हिँडिरहेका छन्। अब देश यस्ता कुराहरुमा अल्झँदैन।’

उनले विज्ञानका क्षेत्रलाई बजेट थपेर काम गर्ने वातावरण दिनुपर्ने भएकाले सरकारले त्यो उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। ‘यस क्षेत्रमा राजनीतिक पार्टीका आधारमा नभइ योग्यताका आधारमा नियुक्त गर्छौँ’, उनले भने, ‘हाम्रो परम्परा अन्धविश्वासी होइन वैज्ञानिक र प्रयोगात्मक हो यस परम्परालाई आधुनिक प्रविधिसँग जोडेर उन्नत समाज विकासमा लाग्नुपर्छ।’

समारोहमा समृद्ध नेपालको लक्ष्यअनुकूल ‘राष्ट्रिय विज्ञान तथा नव–प्रवर्तन नीति, २०७६’ सार्वजनिक गरिएको थियो। ‘विज्ञान, प्रविधि र नवप्रवर्तनः सामाजिक आर्थिक रुपान्तरण’ को नारासहित आज सातौँ राष्ट्रिय विज्ञान दिवस मनाइएको हो। समारोहमा पूर्व प्रधानमन्त्री झलनाथ खनालले विज्ञान र प्रविधिको क्षेत्रलाई वर्तमान सरकारले प्राथमिकता दिएकाले आफ्नो विवेक र क्षमताको उच्चतम् प्रयोग गरी राष्ट्र निर्माणमा लाग्न आग्रह गरे।

प्रदेश र स्थानीय तहमा समेत यही भदौ २६ गतेदेखि शुरु भएको दिवसको सप्ताहअन्तर्गत विभिन्न कार्यक्रम भइरहेको छ। सप्ताहअन्तर्गत हाजिरीजवाफ, निबन्ध र कविता प्रतियोगिता, नवप्रवर्तनात्मक कार्यक्रम, संवाद, कला र आविष्कार प्रदर्शनी आदि गतिविधि भइरहेका छन् । दिवसका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा मूलसमारोह समिति गठन गरिएको थियो।

कार्यक्रममा कक्षा १२ मा विज्ञान विषयमा उत्कृट अंक ल्याउने सात प्रदेशका सामुदायिक र निजी विद्यालयका एक एक गरी १४ विद्यार्थीलाई पुरस्कृत गरियो। यसैगरी, विज्ञान विषयमा कलम चलाउने पत्रकार साइन्स इन्फोटेकका गोपाल भण्डारी र एबिसी टेलिभिजनका सन्तोषी अधिकारीलाई रु १५ हजार राशिको पुरस्कार प्रदान गरियो।

दिवसका अवसरमा बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जभेटरी, विज्ञान शिक्षक समाज, रोबोटिक्स एशोसिएसनलगातले पनि विभिन्न प्रदर्शनी गरेको थिए। साताव्यापी कार्यक्रम असोज ५ गतेसम्म चल्नेछ।

नेपाल सरकारले विज्ञान र प्रविधिको उपयोग र जनचेतना फैलाउने लक्ष्यका साथ २०६९ साल मंसिर ८ गते हरेक वर्ष असोज १ का दिन विज्ञान दिवस मनाउने निर्णय गरेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad