राजनीति


नागरिक समाजका नाममा राजनीति नगर्न शिक्षामन्त्रीको आग्रह

नागरिक समाजका नाममा राजनीति नगर्न शिक्षामन्त्रीको आग्रह

नेपालखबर
भदौ २७, २०७६ शुक्रबार ११:३६,

 शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नागरिक समाजका नाममा राजनीति नगर्न आग्रह गरेका छन्।

शैक्षिक संस्थाहरुको सञ्जाल शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालको नवनिर्वाचित कार्यसमितिसँग शुक्रबार सिंहदरबारमा छलफल गर्दै मन्त्री पोखरेलले सरकारले सार्वजनिक शिक्षा सबलीकरणको विषयलाई उच्च प्राथमिकता दिएको बदलिँदो परिस्थितिमा नागरिक समाजको भूमिका परम्परागतभन्दा फरक हुने भएकाले त्यस मर्मलाई आत्मसात् गरेर सहकार्य गर्न अनुरोध गरे।

मन्त्री पोखरेलले भने, ‘नागरिक चेतना र नागरिक समाज फरक फरक ढङ्गले गएको पनि देखिन्छ। कतिपय संस्था स्थानीय तहमा नगई काठमाडौँ केन्द्रित भएका छन् र शिक्षाका नाममा अन्य काम गरिरहेका छन्। यो शैलीमा परिवर्तन आउन आवश्यक छ।’ उनले नागरिक क्षेत्रबाट हुने आलोचनात्मक सहयोग विध्वंसात्मक नभई रचनात्मक हुनुपर्नेमा जोड दिँदै अन्य उद्देश्यबाट अभियानकर्मी प्रभावित हुन नहुने सुझाब दिए।

सार्वजनिक शिक्षाको सुदृढीकरणका लागि राष्ट्रिय शिक्षा नीति ल्याइने बताउँदै उनले दिगो विकास लक्ष्यअन्तर्गत नेपालले विद्यार्थी भर्नादर, लैंगिक समानताजस्ता उल्लेख्य प्रगति गरेको जिकिर गरे।

मन्त्री पोखरेलले शिक्षक दरबन्दी पुनःवितरण, राष्ट्रिय विज्ञान नीति र विदूषी योगमाया आयुर्वेद विश्वविद्यालयको विधेयकलाई मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति लिइएको जानकारी दिए।

एनसिई नेपालका अध्यक्ष डिल्लीराम सुवेदीले सार्वजनिक शिक्षालाई केन्द्रमा राखेर शिक्षा नीति र संघीय शिक्षा ऐन चाँडै आउनुपर्नेमा जोड दिँदै स्थानीय तहको शैक्षिक अधिकारको कार्यान्वयनका लागि सहजीकरण गर्न माग गरे। एनसिई नेपालको यही भदौ २१ गते सम्पन्न छैटौँ राष्ट्रिय सम्मेलनले पारित गरेका १७ बुँदे समसामयिक शैक्षिक सुधारका बुँदा मन्त्री पोखरेललाई हस्तान्तरण गरिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad