राजनीति


बालेनको ‘शैली’प्रति रविको समर्थन, गुटबन्दी रोक्ने सन्देश

बालेनको ‘शैली’प्रति रविको समर्थन, गुटबन्दी रोक्ने सन्देश

सुनिता विष्ट
असार ७, २०८३ आइतबार २२:२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन जारी छ। आइतबार आज)बाट चितवनको भरतपुरमा जारी महाधिवेशनको उद्घाटन सत्र सकिएसँगै भोलि बन्दसत्र सुरु हुनेछ। सत्तारुढ दलको ऐतिहासिक महाधिवेशन भएका कारण पनि देशभरका नागरिको ध्यान यतिबेला रास्वपाको नयाँ कार्यसमितिमा को आउला भन्नेमा केन्द्रित भएको देख्न सकिन्छ। 

धेरैले रास्वपामा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहबीच गुटबन्दी भएको आंकलन गरिरहेका बेला महाधिवेशनको उद्घाटन सत्रको क्रममा एकले अर्कालाई सम्मान गरेपछि गुटबन्दीमा लागेका कार्यकर्ताहरू नै अचम्ममा देखिन्थे। उद्घाटन सत्रमा मन्तव्य राख्दै प्रधानमन्त्री तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले यसअघि बोलेका र विवादमा परेका विषयवस्तुमाथि खण्डन गरे। 

पार्टीको कार्यक्रममा सम्भवतः सबैभन्दा लामो समय बोलेका शाहले कहिले आफ्नो सरकारले गरेका कामबारे स्पष्ट पारे। उनले आफ्नो शासनशैलीसहित पार्टी राजनीतिबारे पनि चर्चा गरे। 

उनीभन्दा पहिले शुभकामना मन्तव्य राखेका नेपाली कांग्रेसका सभापति गगन थापालाई कटाक्ष गर्दै सरकार र रास्वपाबारे विपक्षी दलहरूले चिन्ता लिन आवश्यक नरहेको बताए। 

‘हाम्रो गाडी लोकल वे मा हिडेँको गाडी होइन, एक्प्रेस रोडमा हिँडेको गाडी हो,’ सम्बोधनका क्रममा उनले भने, ‘बीचमा रोकिदैँन। गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ। जनताको मत हावा जस्तो कहिले यताबाट चल्छ, कहिले उताबाट चल्छ भनेर सरकारप्रति चिन्ता लिनुभएको छ, त्यसका लागि धन्यवाद पनि दिन चाहान्छु। तर चिन्ता लिन पर्दैन। हामी हावा जस्तो जता पनि फर्कने छैनौँ। खोला जस्तो छौँ। जुन एकपटक बगेपछि एउटै गतिमा बगिरहन्छ।’  

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई ५ घण्टासम्म केरकार गरेको र सीमा विवादको विषयमा समेत प्रष्ट्याउन भ्याए। उनले भने, ‘सरकारी सम्पत्ति दोहन भएको छ भने अख्तियारलाई ५ घण्टा मात्रै होइन ५ वर्ष नै सोधपुछ गर्छौँ। त्यसमा चिन्ता लिन पर्दैन। देशको सीमाको विषयमा पनि चिन्ता लिइरहनु भएको छ। लिपुलेक र कालापानी फिर्ता ल्याउँछौँ भनेको हो। यसमा आशंका मान्न पर्दैन।’ 

आफ्नो पार्टी विकास गर्ने पार्टी भएका कारण पुराना कुराहरू खोतलेर प्रतिशोध नसाँध्ने उनले स्पष्ट पारे।

वरिष्ठ नेता शाहले ९ मिनेट २१ सेकेन्ड बोल्दा हरेक शब्दमा शासनशैली झल्किएको थियो। सरकारले गरेका सबै ठिक छन् भन्ने अभिव्यक्ति दिइरहेका शाहलाई रास्वपा सभापति लामिछानेले काउन्टर देलान् की भन्ने कार्यक्रममा उपस्थित नेता कार्यकर्ताहरूले अड्कल काटेका थिए।

महाधिवेशनका बेला दुई गुटका नेताहरूले धारणा फरक आउला, एकले अर्कालाई पेलेर अघि बढ्लान् भन्ने आशंका थियो। तर माहोल यस्तो बन्यो, जसले प्यानल बनाएर निर्वाचनमा होमिने तयारी गरिरहेका प्रतिनिधिहरूलाई समेत सोच्न बाध्य बनायो। 

सभापति रवि लामिछानेले बालेन्द्र शाहपछि १६ मिनेट ४७ सेकेन्ड सम्बोधन गरे। आफ्नो भाषणभर उनले शाहले उठाएका विषयमा कुनै प्रतिवाद गरेनन्, बरु शाहले प्रस्तुत गरेको शासनशैली र सोचप्रति समर्थन जनाए। लामिछानेले रास्वपालाई लड्नै परे आफ्नै गोडामा अल्झेर लड्ने तर कसैको तागतले लड्ने अवस्था नआउने दाबी गरे। उनको यो अभिव्यक्तिलाई पार्टीभित्र गुटबन्दी नरहेको सन्देश दिन खोजिएको रूपमा समेत हेरिएको छ।

तथापि, महाधिवेशन स्थलको अवस्था हेर्ने हो भने प्रतिनिधि दुई धारमा विभाजन भएको प्रष्ट देख्न सकिन्छ। उनीहरूले आजदेखि नै आफ्ना नेताको नाम लिएर मत माग्न थालिसकेका छन्। रास्वपाको विधान अनुसार दुई चरणमा निर्वाचन हुनेछ। पहिलो चरणमा सभापति र सदस्यहरूको निर्वाचन हुन्छ भने दोस्रो चरणमा निर्वाचित सदस्यहरूमात्रै पदाधिकारीको प्रतिस्पर्धामा उत्रन पाउँछन्।

नयाँ नेतृत्व चयनको प्रक्रिया सोमबारबाट सुरु हुनेछ। हालसम्मको अवस्था हेर्ने हो भने सभापतिमा रवि लामिछाने नै दोहोरिने छन् भने अन्य पदका लागि भने निर्वाचन हुने भएको छ। जसका लागि देशभरबाट ४ हजार २ सय ११ प्रतिनिधि छनोट भएर आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad