काठमाडौंको भृकुटीमण्डपमा अहिले फर्निचर एक्स्पो चलिरहेको छ। थरिथरिका फर्निचर सामग्री एक्स्पोमा राखिएका छन्।
एक्स्पोमा नेपालको एउटा प्रमुख फर्निचर कम्पनी ‘फर्निचर ल्याण्ड’ ले पनि सहभागिता जनाएको छ। विदेशका चर्चित र इन्जिनियरिङ भएका फर्निचर नेपालमा बिक्रीवितरण गर्दै आएको रिटेलर फर्निचर कम्पनीका रुपमा फर्निचर ल्यान्डले आफ्नो व्यवसाय थालनीको एक दशक बढी समय कटाइसकेको छ।
नेपालमा विदेशी फर्निचर बिक्रेताको अग्रपंक्तिमा आउने यो कम्पनीका म्यानेजिङ डाइरेक्टर सौरभ जोशी भन्छन्, ‘पारिवारिक पेसाका रुपमा जोशी परिवारले सन् २००१ मा फर्निचर ल्याण्डको परिकल्पना गरेको हो।’
त्यसमा जोशी परिवारसहित अन्यको पनि लगानी रहेको थियो।

सन् २००७ मा सौरभका बुबा मदनलाल जोशीले फर्निचर व्यवसायलाई काठमाडौंमा सुरू गरेका थिए। हाल मदनलाल फर्निचर ल्याण्डका प्रमुख छन्। सुरुवातमा साझेदार भए पनि काठमाडौं आएपछि उनले आफ्नो एकल लगानीबाट यो व्यवसायको विस्तार गरेका छोरा सौरभ बताउँछन्।
मदनलालले काठमाडौंमा फर्निचर ल्याण्ड खोल्दा सौरभ पढाइका सिलसिलामा अमेरिकामा थिए। तर उनी पढाइ सकेर बुबाकै व्यवसायमा सामेल हुन नेपाल फर्किए, सन् २०११ मा।
नेपाल आएर फर्निचर ल्याण्डको मार्केटिङ हेर्न थालेका सौरभ अहिले कम्पनीको म्यानेजिङ डाइरेक्टरको भूमिकामा छन्। पछि सन् २०१५ देखि जोशीको सपरिवार यही व्यवसायमा लागेका छन्।
सौरभ भन्छन्, ‘हाम्रो अर्को फर्निचर बिजनेस पनि थियो, तर त्यसलाई छोडेर हामी यतातिर लागेका हौँ।’
अहिले जोशी परिवारले दिलोज्यान दिएको फर्निचर ल्याण्डको अवस्था कस्तो छ त?
सौरभ भन्छन्, ‘हाम्रो सुरुवात धेरै लामो नभएकोले धेरै ग्रोथ त गर्न सकिरहेका छैनौँ तर पनि यसलाई विस्तार गर्ने योजनासहित काम गरिरहेका छौं।’

उपत्यकामा फर्निचर ल्याण्ड
विदेशी ब्रान्डका फर्निचर बिक्री गर्दै आएको यो कम्पनी राजधानीको थापाथलीस्थित ब्लुबर्ड कम्प्लेक्समा रहेको छ। यसको अर्को शाखा वा शो रुम माइतीघरमा छ। यसबाहेक उपत्यकामा कलंकी, बालकुमारी र महाराजगञ्जमा पनि फर्निचर ल्याण्डका शोरुम छन्।
उपत्यकाबाहिर पोखरा समेत यो कम्पनी पुगिसकेको छ।

एमडीएफ बोर्डका डिजाइन
परम्परागत फर्निचर खोज्नेहरु सिंगो काठबाटै बनेका फर्निचरहरु खोज्न आउने गरेको सौरभको भनाइ छ।
‘हाल विश्वमा आएका उत्पादनहरु हेर्ने हो भने एमडीएफ बोर्डहरुबाट उत्पादन र डिजाइन भएका फर्निचरहरु धेरै छन्’, उनी भन्छन्, ‘हामीले धेरै बिक्री गर्ने पनि यही फर्निचर नै हो।’
यी फर्निचर तेस्रो मुलुकबाट आउने गरेको उनी बताउँछन्। ग्राहकको मागअनुसार चीन र थाइल्यान्डबाट आयात गरी फर्निचर बिक्री गर्दै आएको छ, फर्निचर ल्याण्डले।
‘सबै विदेशी’
यो कम्पनीको व्यवसाय विदेशी फर्निचरमा आधारित छ। फर्निचर ल्याण्डले नेपालका कुनै पनि फर्निचर बिक्री नगरेको सुनाउँछन् सौरभ।
त्यसो किन त?
सौरभ भन्छन्, ‘सन् २०१७ तिर नेपालमा उत्पादन भएका पनि बिक्री गर्ने योजनासहित लागेका थियौँ। तर ग्राहकहरुको रुचि नदेखिएकाले यसलाई बन्द गर्यौँ।’

ग्राहकको अनाकर्षण किन भयो त नेपाली फर्निचरमा?
नेपालमै पनि गुणस्तरका फर्निचर हुने सौरभ स्वयं बताउँछन्, तर ग्राहकको खासै रुचि नदेखिएपछि जोशी परिवारले विदेशी प्रडक्ट नै नेपालमा बिक्री गरिरहेको उनको भनाइ छ।
आगामी दिनमा ग्राहकको माग तथा नेपाली उत्पादन पनि राम्रो हुँदै गयो भने त्यसमा आउने योजना भने फर्निचर ल्याण्डले बनाएको छ।
व्यवसाय सुरु गरेको बेलाभन्दा अहिले धेरै राम्रो भएको सौरभको अनुभव छ।
‘ब्राण्डिङकै कारण अहिले राम्रो भएको हो, राम्रो ब्राण्ड खोज्ने ग्राहकहरुले फर्निचर ल्याण्ड नै खोज्न थालेका छन्’, उनी भन्छन्, ‘हामीले राम्रो उत्पादनहरु ल्याएर ग्राहकलाई दिन सक्नु नै हाम्रो आजको उपलब्धि मानेका छौँ।’
एक्स्पो अनुभव
भृकुटीमण्डपमा चलिरहेको फर्निचर एक्स्पोमा सहभागी भएको यो कम्पनीबारे धेरै कुरा त्यहाँबाट पनि ग्राहकले बुझ्न सक्ने सौरभको भनाइ छ। ग्राहकलाई आफ्ना प्रडक्ट र व्यवसायबारे अझै धेरैलाई जानकारी दिन सकिने भएकाले फर्निचर ल्याण्ड त्यहाँ सहभागी भएको सौरभ बताउँछन्।
एक्स्पोले कम्पनीको ‘बिजनेस भ्यालु’ बढाउने र त्यसलाई गुणस्तरीयतातर्फ डोर्याउन सहयोग पुग्ने सौरभको अनुभव छ।

नजिकिँदो दशैँका बीच एक्स्पो हुनु निकै राम्रो भएको उनी बताउँछन्। त्यसलाई लक्षित गरेर फर्निचर ल्याण्डले नयाँ प्रडक्ट पनि ल्याएको छ। कम्पनीले एक्स्पोमा जाडो र गर्मी दुवैलाई हुने अर्थात् कुसन परिवर्तन गर्न सकिने सोफा ल्याएको उनले जानकारी दिए।
कम्पनीले ९९ हजारमा नयाँ किसिमको बेड रुम नै हुने नयाँ प्रडक्ट पनि ल्याएको छ।
उनी भन्छन्, ‘हामीले २५ प्रतिशत हरेक वस्तुमा छुट अफर दिएका छौँ।’

बेडरुम, लिभिङ रुम, डाइनिङ रुम, अफिस र गार्डेनमा आवश्यक पर्ने सबै फर्निचरहरु फर्निचर ल्याण्डमा पाइने सौरभले जानकारी दिए। माग भए अनुसारका फर्निचर उपलब्ध गराउने गरेको उनी बताउँछन्।
सबैभन्दा कम मूल्यको साधारण दुई हजारको ल्याम्पदेखि अधिकतम पाँच लाख २५ हजार रुपैयाँसम्मको उच्चस्तरको सोफा फर्निचर ल्यान्डमा उपलब्ध रहेको उनको भनाइ छ।

प्रतिक्रिया