नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्र प्राप्तिका लागि भएका विगतका संघर्ष र सहिदहरूको बलिदानलाई नजरअन्दाज नगर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आग्रह गरेका छन्।
चितवनमा आयोजित रास्वपाको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले उक्त धारणा राखेका हुन्। नयाँ राजनीतिक शक्तिका रूपमा रास्वपाको उदय र उत्साहलाई सकारात्मक रूपमा लिँदै महामन्त्री थापाले विगत ३५ वर्षमा केही पनि भएन भन्ने भाष्य र पञ्चायतकालीन संघर्षका कथाहरूलाई अवमूल्यन नगर्न सुझाव दिए।
सभापति थापाले विगतका कमीकमजोरीबाट सिक्दै र सच्याउँदै अघि बढ्नुपर्नेमा जोड दिए। उनले कुनैपनि राजनीतिक दलको वास्तविक शत्रु अर्को दल नभई गरिबी, अज्ञानता, विभेद र अक्षमता भएको उल्लेख गरे। वर्तमान राजनीतिक व्यवस्था र संविधानको रक्षा गर्दै जनताको अवस्था बदल्न सबै दलहरू जिम्मेवार हुनुपर्ने उनको तर्क थियो।
उनले भने, ‘भोलि हजारौँ प्रतिनिधि यही नीलो झण्डामुनि बसेर नेपालको भविष्यबारे छलफल गर्दै हुनुहुन्छ, त्यसका लागि शुभकामना। अगाडि बढ्दा विगतलाई इन्कार गर्नु हुँदैन। हामीसँग प्रेरणादायी इतिहास पनि छ र सिक्नुपर्ने कमजोरीहरू पनि छन्। विशेष गरी लोकतन्त्रका लागि बलिदान दिने सहिदहरू र आन्दोलनका योद्धाहरूको योगदान कहिल्यै बिर्सनु हुँदैन।’
उनले रास्वपा सभापति रवि लामिछाने लगायत सिङ्गो टोलीलाई अधिवेशनको सफलताका लागि शुभकामना समेत व्यक्त गरे।
हामीले नेतालाई भगवान र ‘बा’ बनाएर गल्ती गर्यौँ, रास्वपाले त्यो गल्ती नदोहोर्याओस्
सभापति थापाले राजनीतिक दलका नेताहरूलाई भगवान र ‘बा’ बनाएर पछ्याउने राजनीतिक संस्कारले गलत परिणाम गलत परिणाम भोग्नुपरेको स्वीकारे।
उनले दलभित्रका नेताहरूमाथि प्रश्न गर्ने संस्कार विकास गर्न ढिलाई गरेकै कारण मुलुकको राजनीति जटिल बनेको बताए। उनले कांग्रेसले आफ्ना कमजोरी पहिचान गर्न ढिलाइ गरेको स्वीकार गर्दै त्यसको राजनीतिक मूल्य अहिले पनि चुकाईरहेको बताए।
उनले अन्य राजनीतिक दलका विगतका कमजोरीबाट सिकेर अघि बढ्न रास्वपाका सदस्यहरूलाई आग्रह गरे।
सभापति थापाले भने, ‘हामीले हाम्रा दलका नेताहरुलाई भगवान बनाएर गल्ति गरिसक्यौँ, बा बनाएर गल्ती गरिसक्यौँ तपाईले नगर्नुहोला। गल्ती गरेको बेलामा आफ्नै नेतालाई पनि प्रश्न गर्नुहोला। हामीले ढिलो गर्यौं, त्यसैले सजाय पनि पायौँ। हामीले हाम्रो पार्टी लास र दासहरुको पार्टी होइन भन्ने कुरा केही अगाडि भन्न सक्नुपर्थ्यो सकेनौँ। ढिलो गर्यौँ। त्यसबाट पनि सिक्नुहोला म प्रत्येक राष्ट्रि स्वतन्त्र पार्टीका सदस्यहरुलाई म भन्न चाहन्छु।’
उनले पार्टीको नीति र नेतृत्व चयनको संघारमा रहेको रास्वपालाई शुभकामना व्यक्त गरे।
Shares

प्रतिक्रिया