राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीका उपाध्यक्ष एवम् विघटित प्रतिनिधि सभाका सांसद दुर्गा पौडेललाई मन्त्री बन्न राखेको प्रस्ताव पार्टीले अस्वीकार गरेको बताएका छन्।
पौडेललाई मन्त्री बनाउने र बदलामा तत्कालिन पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी प्रदेश सरकारलाई समर्थन गर्न ओलीले राखेको प्रस्ताव आफ्नो पार्टीले अस्वीकार गरेको अध्यक्ष केसीले बताए। पार्टीले सो प्रस्ताव स्वीकार नगरेका कारण गण्डकी सरकार ढलेपछि ओलीले अहिले आफ्नो पार्टीलाई बदनाम गर्न निराधार आरोप लगाएको केसीको आरोप छ।
असार १४ गते मदन भण्डारी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा ओलीले ‘आफ्ना एक जना सांसदलाई मन्त्री बनाउन राष्ट्रिय जनमोर्चा कांग्रेसको पछि लागेको’ आरोप लगाएका थिए।
राजमो अध्यक्ष केसीले विहीबार प्रेसित गरेको विज्ञप्तिमा ओलीको त्यो अभिव्यक्ति निराधार र पूरै असत्य भएको बताएका छन्। आफ्नो पार्टीले उपाध्यक्ष पौडेललाई मन्त्री बनाउन कहिल्यै दौडधुप नगरेको बरु ओलीले नै मन्त्रीका लागि प्रस्ताव गरेको केसीले बताए।
‘दुर्गा पौडेललाई मन्त्री बनाउने प्रस्ताव पनि ओलीले आफ्ना दूतहरूद्वारा हामीकहाँ पठाएका थिए। गण्डकी प्रदेशमा पृथ्वीसुब्बाको सरकारका विरुद्ध अविश्वासको प्रस्ताव राखिएपछि राष्ट्रिय जनमोर्चाका सांसदहरूको मत नै निर्णयात्मक हुने अवस्था थियो। त्यो बेला राष्ट्रिय जनमोर्चालाई पृथ्वी सुब्बाको सरकारलाई समर्थन गर्नका लागि हामीसित कैयौँ तहबाट सम्पर्क गरिएको थियो’ केसीले भनेका छन्, ‘त्यस सिलसिलामा ओली सरकारले एकपल्ट तात्कालीन मन्त्री टोपबहादुर रायमाझी र अर्कोपल्ट प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापालाई नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहलाई भेट्न पठाएर गण्डकी प्रदेशको सरकारलाई समर्थन गर्ने र दुर्गा पौडेललाई मन्त्री बनाउन समेत सन्देश पठाएका थिए।’
यस्तै केसीले हालका उपप्रधानमन्त्री विष्णु पौडेलले नेत्री दुर्गा पौडेललाई उपसभामुख बनाउन आफूसँग प्रस्ताव गरेका बताएका छन्। त्यस्तै, तत्कालिन महान्याधिवक्ता अग्नि खरेल पनि सो प्रस्ताव लिएर आफूकहाँ आएको तर पार्टीले सो प्रस्ताव अस्वीकार गरेको केसीले जनाएका छन्।
सो कुराको खुलासा प्रधानमन्त्री ओलीले गत वैशाख २७ गते प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिन प्रस्ताव राख्ने क्रममा गरेका थिए।
उनले भनेका थिए, ‘उपसभामुख बनिदिनुस् न भन्दा षडयन्त्रका रुपमा बुझ्नुभयो। हाम्रो एक जनामात्रै सांसदको मुख बुझो लगाउने अर्थमा उहाँहरु (राजमो) ले लिनुभयो।’
अध्यक्ष केसीले राष्ट्रिय जनमोर्चा पदका लागि नभइ लोकतन्त्र र राष्ट्रियताका लागि राजनीति गर्ने पार्टी भएको स्पष्ट पार्दै प्रतिगमनविरोधी राजनीतिक दलहरुलाई बदनाम गर्ने उद्देश्यले ओलीले विभिन्न लाञ्छना लगाइरहेको र त्यसको कुनै अर्थ नरहेको बताएका छन्।

प्रतिक्रिया