सञ्चारकर्मी रूपा सुनार प्रकरणमा मुछिएका शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले मानव अधिकार आयोगसमक्ष आइन्दा त्यस्तो गल्ती नगर्ने प्रतिबद्धता जनाएका छन्।
मंगलबार कार्यालयमै डाकेर आयोगले घटनाबारे मन्त्री श्रेष्ठसँग स्पष्टीकरण लिएको हो। त्यस क्रममा उनले आफूबाट गल्ती भएको र आइन्दा त्यस्तो नगर्ने बताएका हुन्।
मंगलबार मानव अधिकार आयोगका पदाधिकारीसँग शिक्षामन्त्री श्रेष्ठ। तस्बिर : आयोगका सदस्य लिली थापाको फेसबुकबाट।
घटनाबारे मानव अधिकार आयोगले प्रेस विज्ञप्ति जारी गर्ने तयारी गरिरहेको छ।
यही असार १ गते सञ्चारकर्मी रूपा सुनारलाई काठमाडौं बबरमहलकी सरस्वती प्रधानले सुुरुमा आफ्नो घरको कोठा दिने सहमति गरिसकेर अन्त्यमा जात थाहा पाउनासाथ बहिष्कार गरेकी थिइन्। यसविरुद्ध सुनारले प्रहरीमा उजुरी दिएकी थिइन्।
यसपछि महानगरीय प्रहरी वृत्त (सिंहदबार) ले प्रधानलाई पक्राउ गरेको थियो। तर अनुसन्धान जारी रहेकै बेला असार ९ गते शिक्षा मन्त्री श्रेष्ठ आफैं प्रहरी कार्यालय पुगेर ३ दिनदेखि हिरासतमा रहेकी घरबेटी प्रधानलाई छुटाएनन् मात्र, आफ्नै झन्डावाल (सरकारी) गाडीमा राखेर घर पुर्याइदिए।
यसरी सरकारले नै छुवाछूतको पक्ष लिएको भन्दै उनको चौतर्फी आलोचना भइरहेको छ। यस क्रममा प्रधानमन्त्री ओलीले समेत उनलाई स्पष्टीकरण सोधेको र आइन्दा यस्तो गल्ती नगर्ने भनेर शिक्षामन्त्री श्रेष्ठले प्रतिबद्धता जनाएको खबर हिजो मंगलबार मात्र सार्वजनिक भएको थियो।
यस क्रममा अहिले मानव अधिकार आयोगले पनि स्पष्टीकरण लिएको र शिक्षामन्त्री श्रेष्ठले गल्ती महसुस गरी आइन्दा यस्तो हर्कत नगर्ने प्रतिबद्धता व्यक्त गरेको खबर सार्वजनिक भएको हो।
यी पनि :
–प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्नः छुवाछूतका आरोपितलाई छुटाउने शिक्षामन्त्री अझै किन कायम?
–विप्लवनिकट युवा संगठनले भन्योः रूपा सुनारलाई जातीय भेदभाव गर्ने घरबेटीलाई कारबाही हुनुपर्छ
–आफूविरुद्ध अफवाह फैलाउने ९ अनलाइनविरुद्ध रूपा सुनारले दिइन् उजुरी
–यस्तो संवाद भएको रहेछ, रूपा सुनार र घरबेटी सरस्वती प्रधानबीच (जस्ताको तस्तै)
–रूपा सुनारको नाममा सामाजिक सञ्जालमा दलितलाई दुत्कार्ने को हुन्?

प्रतिक्रिया