राजनीति


मुख्य सचिवमा गोविन्दबहादुर कार्की नियुक्त

मुख्य सचिवमा गोविन्दबहादुर कार्की नियुक्त

नेपालखबर
असार २४, २०८३ बुधबार १६:४७, काठमाडौँ

नेपाल सरकारको मुख्य सचिवमा गोविन्दबहादुर कार्की नियुक्त भएका छन्। 

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।

२०८१ भदौ २० गते उनी सचिवमा बढुवा भएका थिए। कार्की सचिव बनेको २२ महिनामै मुख्य सचिव बनेका हुन्।

बालेन सरकार गठनलगत्तैको मन्त्रिपरिषदले तयार पारेको सय बुँदे कार्ययोजनाको ‘प्रशासनिक सुधार, पुनर्संरचना र मितव्ययिता’ शीर्षकमा मन्त्रालयको संख्या घटाएर १७ कायम गर्ने उल्लेख थियो।

चैत २२ मा बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल सरकारअन्तर्गतका सबै मन्त्रालय, सचिवालय, आयोग तथा मातहतका निकायहरूको संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्णय गरेको थियो। 

उक्त निर्णय कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका तत्कालीन सचिव कार्कीको नेतृत्वमा ६ सदस्यीय पुनर्संरचना व्यवस्थापन सचिवालय बनेको थियो। 

कार्की प्रधानमन्त्री कार्यालयमा बसेर कर्मचारी प्रशासन र सुशासनका विषयमा बालेन सरकारलाई सहयोग गरिरहेका थिए।

२०२७ पुस २५ गते कोशी प्रदेशको भोजपुरमा जन्मिएका कार्की २०५३ पुस ७ गते निजामती सेवामा प्रवेश गरेका हुन्। सचिव पदमै रहे उनी २०८५ पुस २५ गतेसम्म निजामती सेवामा रहने थिए।

हालका मुख्यसचिव सुमनराज अर्याल अनिवार्य अवकाशमा जान लागेकोले सरकारले नयाँ मुख्यसचिव नियुक्त गरेको हो।

अर्याल यही असार २६ गतेदेखि अनिवार्य अवकाशमा जाँदै छन्। कार्कीले अर्यालको अवकाशपछि मुख्यसचिवको जिम्मेवारी सम्हाल्ने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad