३९ वर्षका लियो मेस्सी खेलको अधिकांश समय हिँडेर वा उभिएर बिताउँछन्। उता अर्जेन्टिनी टोलीका अरु खेलाडी धैर्यपूर्वक छोटोछोटो पास खेल्दै उनको इसारा पर्खिरहन्छन्। जब मेस्सी अचानक दौडिन थाल्छन्, यसको अर्थ हुन्छ– उनले आसन्न गोल देखिसकेका छन् र अब उनी बल चाहन्छन्।
गत शुक्रबार मेस्सीको नयाँ होमटाउन मायामीमा केप भर्डविरुद्धको खेलमा सेन्टर ब्याक लिसान्द्रो मार्टिनेजले उनलाई ४० गज टाढाबाट बल पास दिए। अरु जुनसुकै खेलाडीका लागि पनि टाउको माथिबाट आएको त्यस्तो पास बढीमा २५ प्रतिशत मौका बन्थ्यो होला। मेस्सीका लागि त यो साधारण कुरा थियो। उनले एकचोटि छोएर बल नियन्त्रण गरे र अर्को चोटि छुनेबित्तिकै बल किपर भोजिन्हालाई पार गरेर जाली चुम्न पुग्यो। यो यसपालिको विश्वपकमा मेसीको चौथो खेलमा सातौँ गोल थियो।
१९६२ मा ब्राजिलपछि पहिलो पटक अर्जेन्टिना उपाधि रक्षा गर्ने लक्ष्यमा छ। फाइनलसम्म पुग्ने बाटो पनि अर्जेन्टिनाका लागि अत्यन्तै सजिलो छ। त्यसको सुरुवात मंगलबार एट्लान्टामा इजिप्टविरुद्ध टप १६ को खेलबाट हुँदैछ। अर्जेन्टिनाको निलो र सेतो रङमा यो मेस्सीको अन्तिम संस्करण हो। उसोभए यसले कस्तो स्वरूप लेला त?
यो विश्वकप खेल्ने अपेक्षा मेस्सी स्वयंले पनि गरेका थिएनन्। २०२२ को विश्वकपमा कतारमा सेमिफाइनल खेल जितेपछि ३५ वर्षका मेस्सीले भनेका थिए, ‘विश्वकपमको फाइनलमा पुगेर आफ्नो यात्रा टुंग्याउन पाउँदा, अन्तिम खेल फाइनल खेल्न पाउँदा म अति खुसी छु।’
फ्रान्समाथिको जित त कसैले रचेको कथाको सुन्दर अन्त्यजस्तो भयो। र, अन्ततः डिएगो म्याराडोनाको कठिन विरासत तोड्न उनी सफल भए। जसले १९८६ मा लगभग एक्लो दममा अर्जेन्टिनालाई विश्वकप जिताएका थिए।
त्यसको केही महिनापछि मेस्सी इन्टर मायामी सरे। झण्डै २० वर्ष गम्भीर फुटबल खेलपछि आराम गर्न उनी अमेरिकी मेजर लिगमा आएका थिए, जहाँ बुढा खेलाडीहरू करिअरको अन्त्यमा बिसाउन आउँछन्। तर, उनको जादु रित्तिएन। यसबाट उनी आफैँ पनि चकित होलान्।
मेस्सी साह्रै कम बोल्छन्। तर, बार्सिलोना क्लबका बारेमा किताब लेख्ने क्रममा उनका सहकर्मी, प्रशिक्षक र क्लबका पदाधिकारीहरूसँग अन्तर्वार्ता लिएपछि मलाई उनका बारेमा धेरैकुरा थाहा भयो। क्लबका थुप्रै मान्छे उनीसँग डराउँथे किनकि बार्सिलोनमा उनीसँग डरलाग्दो शक्ति थियो। कुन प्रशिक्षक नियुक्त गर्ने वा कुन खेलाडी किन्नेजस्ता हरेक ठूला निर्णय गर्नुअघि जिम्मेवार अधिकारीहरू आफैँलाई सोध्ने गर्थे, ‘लियोको चाहना के होला?’
यस्ता निर्णयबाट मेस्सी खुसी भएनन् भने उनी आफ्नो बेखुसी प्रकट पनि गर्थे, तर शब्द वा बोलीबाट होइन, क्रुद्ध नजर र रिसका माध्यमबाट। त्यसैले अर्जेन्टिनाझैँ बार्सा पनि उनको इच्छावरिपरि घुम्थ्यो। त्यसको बदलामा क्लबलाई जिताउनु आफ्नो जिम्मा हो भन्ने मेस्सी ठान्थे। खासगरी अर्जेन्टिनाका लागि नतिजाको जिम्मा नै उनी स्वयंले लिए। यसको बोझ यति धेरै थियो कि, कहिलेकाहीँ खेलअघि तनावले उनी उल्टी नै गर्ने गर्थे।
आजभोलि उनी बिनाकुनै दबाब खेल्छन्। किनकि उनलाई अब केही पनि प्रमाणित गर्नु छैन। उनी भन्छन्, ‘ईश्वरले मलाई सबथोक दिए, अब सबैथोक आनन्दका लागि गर्ने हो।’ विश्वकप उनको प्रतियोगिता बनेको छ। कीर्तिमानहरूमा उनी छाएका छन्। सबैभन्दा बढी गोल (२०), एसिस्ट, मौका सिर्जना र सबैभन्दा बढी खेलेको समय। अस्ति मायामी रंगशालामा उपस्थित लगभग सबै अर्जेन्टिना फ्यानको जर्सीपछाडि लेखिएको थियो, ‘मेस्सी’।
सबैभन्दा अचम्मको कुरा त मेस्सी आजभोलि आफ्नो भावना पोख्न थालेका छन्। विमानस्थलमा अर्जेन्टिनी टोलीको सुरक्षा जाँच गर्ने क्रममा सुरक्षाकर्मीले उनको टोलीका सदस्य क्रिस्टियन रोमेरोको झोलामा बार्बिक्यु गर्ने चिम्टा फेला पार्दा मेस्सी जोडजोडले हाँसे। अल्जेरियाविरुद्धको खेलमा उनी मैदानमै रोए, सायद बिरामी बुवालाई सम्झेर। त्यही खेलमा उनले विपक्षी खेलाडीको पिँडुलामा टेकिदिए। उनलाई पहेँलो कार्डधरी दिइएन। किनकि मेस्सीका लागि फुटबलमा विशेष नियम छ। उदाहरणका लागि, आफूलाई कसैले फाउल गरेको लागेमा फ्रिकिक दाबी गर्ने अनुमति उनलाई छ।
आजभोलि अर्जेन्टिना मेस्सीले चाहेजसरी नै खेलिरहेको छ। सायद त्यसैले पनि उनी स्वतन्त्र महसुस गर्छन्। जब मेस्सी मैदानमा ओर्लिन्छन्, दुवै टोलीले ‘मेस्सी रणनीति’ तयार पारेका हुन्छन्। उनलाई कसरी मौका सिर्जना गर्ने भन्ने अर्जेन्टिनाको रणनीति, उनलाई कसरी रोक्ने भन्ने विपक्षीको रणनीति। वर्षौंसम्म अर्जेन्टिनाको मेस्सी रणनीति गलत साबित भयो। एक अर्जेन्टिनी प्रशिक्षकले पेरिसको एउटा होटलमा मलाई आफ्नो मेस्सी रणनीति सुनाएको मलाई सम्झना छ। केही महिनापछि त्यो रणनीति असफल सिद्ध भयो र अर्जेन्टिना आधाउधी विश्वकपबाटै घर फर्कियो।
२०१८ मा लियोनल स्कालोनी अर्जेन्टिनाको मुख्य प्रशिक्षक बने। सुरुमा उनी अर्जेन्टिना पनि युरोपजस्तै तेज फुटबल खेलोस् भन्ने चाहन्थे। तर, मेस्सीले त्यसलाई रुचाएनन्। उनको फुटबल बुझ्नका लागि उनले बार्सिलोनामा खेलअघि टोलीलाई दिएको भाषण हेर्नुपर्छ। खेलअघि प्रशिक्षकको भाषणलगत्तै मेस्सी आफ्नो परिचित एकरसको आवाजमा शान्त हुन आग्रह गर्छन्।
‘शान्त, सधैँझैँ। होस गुमाउने होइन। धेरै छिटो गर्ने पनि होइन,’ एकपटक उनी भन्छन्। २०१९ मा लिभरपुलविरुद्ध बार्सिलोनामा खेल्नुअघि उनले लिभरपुलले चाहेजसरी अघि र पछि दौडिनु हुँदैन भनेर चेताएका थिए। ‘हाम्रो नियन्त्रण भयो भने कथा अर्कै हुन्छ,’ उनले भनेका थिए।
स्कालोनी खेलका क्रममा मेस्सीलाई साथ राखेर अर्जेन्टिनी टोलीसँग कुरा गर्छन्।
बलमा नियन्त्रित अधीन अहिले अर्जेन्टिनाको खेल हो। उपन्यासकार समेत रहेका अर्जेन्टिनाका सहायक प्रशिक्षक मातियास माना भन्छन्, ‘अर्जेन्टिनाको शैली भनेको छोटो पास हो। बल छुन सबै एकसाथ आउने। यो अर्जेन्टिनी टच हो, युरोपेली शैलीको नक्कल होइन।’ २०२२ मा उनले भनेका थिए, यस्तो शैलीलाई पुरानो भनेर खारेज गर्नु युरोपीकरण हो।
त्यसैकारणले अर्जेन्टिनाले मिडफिल्डमा जटिल पास खेल्छ। क्रस तथा काउन्टर अट्याकको कोसिस विरलै हुने गर्छ। मेस्सी जहाँ मन लाग्छ, त्यतै टहलिन्छन्। कहिले बल अघि बढाउन आफू मैदानको पछाडिको भागमा आउँछन्, कहिले दायाँपट्टि बरालिन्छन्। तर, उनको ध्याउन्न सधैँ पेनाल्टी एरियाबाहिर पुग्ने हुन्छ। अर्जेन्टिनाको आक्रमणको निसाना त्यही ठाउँ हुने गर्छ। विङमा खेल्ने खेलाडीहरू विपक्षीलाई छल्ने काम मात्र गर्छन्। तिनले मेस्सीको सिकार खेल्ने ठाउँ अर्थात् मध्ये भागबाट विपक्षीलाई टाढा लैजान्छन्।
मेस्सीले आफ्नो गति गुमाइसकेका छन्, त्यसैले आजभोलि विरलै ड्रिबल गर्छन्। त्यसको सट्टा मेस्सी पक्का गोल गर्ने खेलाडी बन्न पुगेका छन्। जबकि यो उनका ४१ वर्षीय पोर्चुगाली प्रतिस्पर्धी क्रिस्टियानो रोनाल्डोको सपना थियो।
तथापि, सानो केप भर्डलाई हराउन अर्जेन्टिनालाई निकै मुस्किल पर्यो। मेस्सीमाथिको निर्भरता अत्यधिक छ। बिनागतिको खेल खेल्नु कमजोरी हो। त्यही भएर अर्जेन्टिनाको डिफेन्स खराब छ। उनीहरू विरोधीविरुद्ध विरलै दबाब सिर्जना गर्छन्।
यदि ३९ वर्षीय मेस्सीले अर्जेन्टिनालाई पुनः उपाधि जिताए भने त्यो विश्वकप इतिहासकै सबैभन्दा ठूलो व्यक्तिगत उपलब्धि हुनेछ।
(फाइनान्सियल टाइम्सबाट)
Shares

प्रतिक्रिया