गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आज (शुक्रबार) विश्वासको मत लिँदै छन्।
आज बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिने भएका हुन्।
यसअघिका मुख्यमन्त्री एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले विश्वासको मतमा पराजित भएर पदबाट हटेपछि बहुमतको आधार पेस गरेर कांग्रेस संसदीय दलका नेता नेपाली गत जेठ २९ गते मुख्यमन्त्री बनेका हुन्।
त्यसको ३० दिनपछि प्रदेश सभाका विश्वासको मत पुष्टि गर्नुपर्ने संवैधानिक प्रावधान छ। तर मुख्यमन्त्री नेपालीले एक हप्तामै विश्वासको मत लिन लागेका हुन्।
नेता नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जसपा र स्वतन्त्र सांसद दीपक मनाङे गरी ठिक्क बहुमत ३१ जनाको समर्थनमा मुख्यमन्त्री बनेका हुन्। यसमा यताउता भएका खण्डमा उनको पद जान पनि सक्छ।
तर पार्टीको ह्विपविपरीत यसअघि गुरुङले विश्वासको मत लिँदा तटस्थ बसेका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई पार्टीले कारबाही गरी सांसद पदबाट बर्खास्त गरेकाले अहिले गण्डकी प्रदेश सभाको कायम सदस्य संख्या ५९ पुगेको छ। यसअघि ६० थियो। योसँगै अब न्यूनतम बहुमतको संख्या पनि ३० मा झरेको छ।
विश्वासको मत लिएपछि मात्रै मुख्यमन्त्री नेपालीले मन्त्रिपरिषद् विस्तार तथा यसअघि बनाएका मन्त्रीलाई जिम्मेवारी दिने तयारी गरेका छन्।
बाढीपीडित क्षेत्र अनुगमनका लागि बिहीबार मनाङ गएका मुख्यमन्त्री नेपाली आज बिहान पोखरा (प्रदेश सभा) आइपुग्ने कार्यक्रम छ।
प्रतिक्रिया