राजनीति


प्रदेश २ सरकार हेरफेर गर्दै उपेन्द्र, कांग्रेसलाई निम्तो

प्रदेश २ सरकार हेरफेर गर्दै उपेन्द्र, कांग्रेसलाई निम्तो

नेपालखबर
जेठ २१, २०७८ शुक्रबार १०:४३,

आफ्ना पक्षका नेताहरु महन्थ पक्षमा लागेपछि जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रदेश २ सरकार हेरफेरको तयारी थालेका छन्।

ठाकुर पक्षमा गएका नेताहरुलाई हटाएर यादवले कांग्रेसलाई समेत सरकारमा ल्याउने तयारी गरेका हुन्।

यादवले ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ललगायत ४ जनालाई पार्टीबाट निष्काशित गरेका छन् ।

उता ठाकुरले पनि यादवलाई हटाएका छन् ।

जसपा विभाजन भइसकेको छ । यस्तो अवस्थामा आफ्नो पक्षमा रहेका नेताहरुलाई टिकाउन यादवले प्रदेश २ मा सुरुमा कांग्रेसलाई सरकारमा ल्याउने पहल थालेका हुन् ।

त्यही विषयमा शुक्रबार विहान जसपाका अध्यक्ष उपेन्द्र यादव र कांग्रेसका उपसभापति विमलेन्द्र निधिबीच छलफल भएको हो ।

निधिलाई भेट्न यादव उनकै निवास पुगेका थिए ।

निधिका प्रेस संयोजक रामजी दाहालका अनुसार प्रदेश २ को सरकारमा कांग्रेसलाई सहभागी हुन आग्रह गरेका थिए ।

जवाफमा निधिले कांग्रेसलाई नेतृत्व दिन आग्रह गरे ।

‘२ नम्बर प्रदेश सरकारमा कांग्रेसलाई सहभागी गराउनुस्’, उपेन्द्रले भने, ‘मिलेर सरकार चलाऔँ।’

जवाफमा निधिले केन्द्रको जस्तै गठबन्धन बनाएर जाने प्रस्ताव राखेको दाहालले नेपालखबरलाई बताए।

‘हुन्छ मिलेर जाऔँ, केन्द्रकै गठबन्धन फलो गरौँ प्रदेशमा पनि’, निधिको जवाफ उद्धृत गर्दै दाहालले भने, ‘तीन वर्ष तपाईंहरूले मुख्यमन्त्री चलाउनुभयो, अब कांग्रेसका संसदीय दलका नेता रामसरोज यादवलाई मुख्यमन्त्री बनाऔँ।’

तर, यादवले मुख्यमन्त्री कसलाई बनाउने भन्ने विषयमा पछि छलफल गर्ने बताए ।

‘मुख्यमन्त्रीको विषयमा पछि छलफल गरौँला। अहिले मन्त्रीमण्डलमा सहभागी हुनुस्’, यादवले भने ।

जसपा अध्यक्ष यादवले २ नम्बर प्रदेशको राजनीतिको विषयमा कुराकानी भएको स्वीकार गरे ।

‘सरकारकै विषय मात्रै नभनौँ समग्र राजनीतिबारे छलफल भयो’, उनले नेपालखबरसँग भने।

आफूनिकट केही नेताहरु महन्थ ठाकुर पक्षमा खुलेपछि यादवले प्रदेश २ मा सरकार परिवर्तन गर्ने तयारी थालेका छन्। त्यसका लागि उनले कांग्रेसको साथ खोजेका हुन्।

प्रदेशमा रहेका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल महन्थ पक्षमा छन् भने सोही मन्त्रालयकी राज्यमन्त्री डिम्पल झा, सामाजिक विकास राज्यमन्त्री अविराम शर्मा, उद्योग तथा पर्यटन राज्यमन्त्री सुरेश मण्डल महन्थ पक्षमा छन्।

उनीहरूलाई हटाएर सरकारमा कांग्रेसलाई सहभागी गराउने तयारी सुरू भएको हो।

प्रदेश २ सरकारमा पूर्वराजपाबाट ३ मन्त्री र ३ राज्यमन्त्री रहेपनि २ जना मन्त्री उपेन्द्र यादवको पक्षमा खुलेका छन्।

पूर्वराजपाबाट मन्त्री बनेका नवलकिशोर साह र रामनरेश राय उपेन्द्र पक्षमा छन्।

सरकारमा सहभागिता र मन्त्रीमण्डल फेरबदलबारे कांग्रेस र जसपाबीच फेरि वार्ता हुने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad