नेकपा एमालेका नेता घनश्याम भुसालले सरकारले चुनाव घोषणा गरेर संविधानै काम नलाग्ने बनाउन खोजेको आशंका व्यक्त गरेपछि एमालेकै अर्का नेता शंकर पोखरेलले टिप्पणी गरेका छन्।
शनिबार अपराह्न पूर्वमन्त्रीसमेत रहेका नेता भुसालले सामाजिक सञ्जालमा ‘...त्यसपछि कमरेड ओलीको उपादेयता सकिन्छ। नयाँ खिलराजहरूको अभ्यास हुनेछ। त्यसपछि फेरि ‘नयाँ’ संविधानको कोर्समा मुलुकलाई धकेलिनेछ’ लेखेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका ओलीनिकट नेता पोखरेलले सामाजिक सञ्जालमार्फत नै जवाफ दिएका हुन्।
पोखरेलले लेखेका छन्, ‘संविधानतः मध्यावधि (चुनाव) मा जाँदा ओलीको नेतृत्वलाई अस्वीकार गर्न खोज्दा हो ‘खिलराज रेग्मी’ जन्मिने। अन्यथा जननिर्वाचित नेतृत्व रहन्छ नै।’
गणतन्त्र दिवसको शुभकामना दिँदै भुसालले लेखेको वक्तव्यको पूर्ण पाठ यस्तो छ :
मेरो स्पष्टीकरण
म दैनन्दिन सूचनाको खोजीमा खासै चासो राख्दिनँ। दलाल पुँजीवादले हाम्रो संविधानमाथि आक्रमण गरिरहनेछ भन्ने मेरो अर्थराजनीतिक र भूराजनीतिक बुझाइबारे बोल्दै–लेख्दै आएको छु। एकजना कमरेडले करिब दुई वर्षदेखि हाम्रो भूराजनीति र यो लोकतान्त्रिक गणतन्त्रमाथि आइलाग्ने खतराबारे भन्दै आउनुभएको छ। त्यस्तो विश्लेषण केही भारतीय संस्थापन नजिकका मिडियामा पनि देखिएकै हो।
तर पोहोर सालको वैशाख ८ मा दल विभाजनसम्बन्धी अध्यादेश आएको भोलि वा पर्सिपल्ट सूचनाका सौखिन एकजना राजनीतिकर्मीले भनेको कुरा अझ स्पष्ट थियो, जुन कुरा मैले धेरै साथीहरूलाई बताएको छु।
उनले भनेका थिए : नेकपाको विवाद समाधान हुँदैन। अदालतद्वारा नेकपा एमाले र माओवादी ब्युँताइनेछ र तपाईंहरूलाई विभाजित गरिनेछ। संसद् विघटन गरेर निर्वाचनको घोषणा गरिनेछ तर निर्वाचन हुने छैन वा भयो भने पनि जिताइने र हराइनेहरू पहिले नै निश्चित हुनेछन्, त्यसले वैधता गुमाउनेछ। संविधानले काम गर्दैन। त्यसपछि कमरेड ओलीको उपादेयता सकिन्छ। नयाँ खिलराजहरूको अभ्यास हुनेछ। त्यसपछि फेरि ‘नयाँ’ संविधानको कोर्समा मुलुकलाई धकेलिनेछ।
घटनाहरू जस्ताको त्यस्तै अगाडि बढ्दै छन्। अहिले नेकपा एमालेका केही सांसदहरूले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरे भनेर विरोध वा टिप्पणी भएको छ। एउटा सांसदको हिसाबले हेर्दा मबाट संसदीय मर्यादा उल्लंघन भएको स्वीकार गर्छु। तर हाम्रो संविधान र राजनीतिका लागि मैले उल्लंघनको विकल्प रोज्नुपर्ने ठाउँमा पुगें। मेरो निर्णय लोकतान्त्रिक स्थिरताका साथ बाँच्न चाहने नेपालको आकांक्षाका पक्षमा हो, जसका लागि लाखौं नेपालीको रगत/पसिना बगेको छ।
गणतन्त्र दिवसका उपलक्ष्यमा सबैलाई शुभकामना।

प्रतिक्रिया