आउने जेठ ६ गते राष्ट्रिय सभाको उपचुनाव हुँदैछ।
त्यसका लागि नेकपा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र एमालेकै माधवकुमार नेपाल पक्षसमेत संलग्न गठबन्धनबाट डा. खिमलाल देवकोटाले शुक्रबार उम्मेदवारी दिइसकेका छन्।
माओवादी केन्द्र छाडेर एमाले बनेपछि दल त्यागको कारबाहीमा परेर गृहमन्त्री थापा राष्ट्रिय सभाको सदस्य पदबाट बर्खास्त भएका कारण रिक्त स्थानमा पदपूर्ति गर्न यसअघि उनी निर्वाचित बागमती प्रदेशमा उपचुनाव हुन लागेको हो।
त्यसमा प्रधानमन्त्रीका तर्फबाट पुनः थापालाई उम्मेदवार बनाइएको हो भने नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको नेपाल पक्ष र जनता समाजवादी पार्टीका तर्फबाट डा. देवकोटाको उम्मेदवारी दर्ता गरिएको हो। खासमा दुवै एमालेका उम्मेदवार हुन्।
यसैगरी नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले पनि आफ्ना नेता कृष्णबहादुर तामाङलाई उम्मेदवार बनाएको छ।
तर प्रमुख प्रतिस्पर्धा थापा र देवकोटाबीच नै हुने पक्का छ।
कसले जित्ला चुनाव?
उसो त उम्मेदवारी दर्ता गर्नासाथ गृहमन्त्री रामबहादुर थापा र डा. खिमलाल देवकोटा दुवैले आफैंले चुनाव जित्ने दाबी गरिसेका छन्। तर डा. देवकोटा पनि असन्तुष्ट पक्षबाट एमालेकै उम्मेदवार रहेकाले गृहमन्त्री थापा जोखिममा छन्।
चुनावमा बागमती प्रदेश सभाका सदस्य र प्रदेशस्थित सबै स्थानीय तहका प्रमुख र उप्रमुखले मतदान गर्नेछन्। जसअनुसार सबैभन्दा बढी मतदाता एमालेकै छन्। तर एमाले ओली र नेपाल दुई समूहमा विभाजन भएकाले यो मत पनि बाँडिने निश्चित छ।
यस्तो छ, मतदाताको हिसाब
९ हजार ५ सय ६४ मतभार रहेको बागमती प्रदेशमा सबैभन्दा बढी एमालेको ५ हजार १ सय ३० र नेपाली कांग्रेस–माओवादी केन्द्रको को ३ हजार ९ सय ७८ मतभार छन्।
बागमती प्रदेश सभाका ११० र प्रदेशस्थित १३ जिल्लाका ११९ स्थानीय तहका २३८ जना गरी कूल मतदाताको संख्या ३४८ हुन्छ। जसमा एक जना प्रदेश सांसदको मतभार ४८ र स्थानीय तहका एक जना प्रतिनिधिको मतभार १८ हुनाले ११० प्रदेश सांसदको जम्मा मतभार ५ हजार २ सय ८० र स्थानीय तहका प्रमुख/उपप्रमुख २३८ जनाको जम्मा मतभार ४ हजार २ सय ८४ हुन जान्छ। अनि दुवै मिलाएर कूल मतभार ९ हजार ५ सय ६४ हुन्छ।
अब हिसाब गरौं, पार्टीगत मतको
बागमती प्रदेश सभामा सबैभन्दा बढी एमालेका ५७ सदस्य छन् भने स्थानीय तहतर्फ पनि १३३ प्रमुख/उपप्रमुख छन्। दुवै गर्दा जम्मा एमालेका मतदता १९०।
जसको कूल मतभार हुन्छ– ५ हजार १ सय ३०। तर यसमा एमालेका दुवै समूहले बराबर मत आफ्ना पक्षमा रहेको दाबी गरेका छन्। यसले गर्दा गृहमन्त्री थापालाई यसको आधा मत मात्र प्राप्त हुने अनुमान गर्न सकिन्छ।
उता नेपाल पक्षको गठबन्धनमा रहेका नेपाली कांग्रेससँग प्रदेश सभामा २२ र स्थानीय तहमा ६८ जना गरी ९० मतदाता छन्। जसको कूल मतभार २ हजार २ सय ८० हुन्छ ।
त्यस्तै नेकपा माओवादी केन्द्रसँग प्रदेश सभामा २३ र स्थानीय तहमा ३३ जना गरी ५६ जना मतदाता छन् । जसको कूल मतभार १ हजार ६ सय ९८ हुन्छ । यी दुई दलको जोड्दा जम्मा मतभार ३ हजार ९ सय ७८ हुन्छ।
यसमा एमालेकै नेपाल पक्षको मतभारसमेत जोडिँदा विपक्षी गठबन्धनका उम्मेदवार डा. खिमलाल देवकोटाले जित्ने निश्चितजस्तै देखिन्छ।

प्रतिक्रिया