नेकपा–एमाले नेता रामकुमारी झाक्रीले राजनीतिक विषयमा व्यक्तिगत लेनदेन हुन नसक्ने बताएकी छन्।
तर राजनीतिक विषयमा उधारो सम्झौता पनि हुन नसक्ने उनको जिकिर छ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल पक्षका नेताहरुलाई एक्लाएक्लै तथा समूह समूहमा भेट गरिरहेका बेला सांसद समेत रहेकी झाक्रीले सो टिप्पणी गरेकी हुन्।
बैशाख २७ गते संसदबाट विश्वासको मत लिन लागिरहेका ओलीले पार्टीभित्रको असन्तुष्ट समूहका नेताहरुलाई आफ्नो पक्षमा तान्ने प्रयास गरिरहेका छन्।
‘राजनीति व्यक्तिगत लेनदेनको मामिला होईन। राजनीतिक विषयमा उधारो संझौता पनि हुनसक्दैन। युद्धमा होमिएका क्रान्तिकारीहरूका निम्ति विजय र मृत्यूको बराबर सम्भावना हुन्छ,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘जनता, राष्ट्र, संविधान र व्यवस्थाको रक्षाका लागि जुनसुकै जोखिम उठाउन तयार हुनुपर्छ।’
ओलीले हिजो नेपाल पक्षका घनश्याम भूसाल, योगेश भट्टराई, गोकर्ण विष्ट लगायतका नेतालाई बालुवाटार बोलाएर सहमति जुटाउने प्रयास गरिरहेका बेला झाक्रीले सामाजिक सञ्जालमा टिप्पणी गरेकी हुन्।
यो पनिः
- ओलीको नजर गोकर्ण विष्टमा, बालुवाटार बोलाएर मनाउने प्रयास
- प्रधानमन्त्री ओलीसँग कुनै सहमति भएको छैन, भ्रममा नपर्नू : माधव नेपाल
प्रतिक्रिया