पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपति विद्यादेवी भण्डारी भेट्नका लागि निवासमे आउँदा आफूलाई खुसी लागेको बताएका छन्।
शनिबार दिउँसो राष्ट्रपति भण्डारी नेता खनाललाई भेट्न उनको निवास डल्लु पुगेकी थिइन्। उनले खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन्।
राष्ट्रपतिसँगको भेटवार्तापछि पत्रकारसँग कुरा गर्दै नेता खनालले राष्ट्रको अभिभावकले भेट्दा खुसी लागेको प्रतिक्रिया दिए। उनले राष्ट्रपति आफ्नो पुरानो कार्यकर्ता समेत भए पनि अहिले सम्मानित ठाउँमा पुगेको भन्दै पुराना नेतालाई भेट्नु खुसीको कुरा भएको बताए।
‘राष्ट्रपति सिंगो राष्ट्रको अभिभावक हो, संविधानको परिपालक हो। यो लोकतन्त्र र गाणतन्त्रको पनि अभिभावक हो। हाम्रो पार्टीमा लामा समयदेदि र म नेता हुँदा पनि उहाँ कार्यकर्ता नै र पछि नेता भएर काम गर्नुभएको थियो। अहिले सम्मानित स्थानमा पुग्नुभएको छ’, उनले भने, ‘राष्ट्रको परिपालक भएको हिसाबले पार्टीका पहिलेका नेताहरुलाई सम्झिनु खुशीको कुरा हो। म कहाँ आज आउनु भयो मलाई खुशी लागेको छ।’
उनले आफ्नो, परिवार र निवासमा रहेको सबै टिकको तर्फबाट स्वागत गरेको बताए।
उनले राष्ट्रपतिसँग पार्टीभित्र देखिएको विवादका विषयमा पनि कुराकानी भएको बताए। उनले राष्ट्रपति भण्डारीले पनि पार्टीमा देखिएको विवाद समाधान भएर जाओस् भन्ने चाहना व्यक्त गरेको बताए।
‘हामीले एकछिन भलाकुसारी गर्यौं। विगत र वर्तमान स्थितिको बारेमा पनि अलिकति कुराकानी गर्यौं’, नेता खनालले भने, ‘उहाँले पार्टी, आन्दोलन एकतावद्ध भएर जाओस, लोकतन्त्र राम्रो भएर जाओस, सुदृढ भएर जाओस, मेरो राष्ट्रपतिको हैसियतले यही चाहना छ भन्ने कुराहरु व्यक्त गर्नुभयो।’
उनले राष्ट्रपतिले लोकतन्त्र बलियो बनाउन पार्टी पनि बलियो हुनुपर्ने भन्दै मिलेर जान सुझाब दिएको बताए।
‘लोकतन्त्र बलियो बनाउनलाई पार्टीहरु नै बलियो हुनुपर्छ। सबै पार्टीहरु बलिया हुन, एकीकृत पार्टी पनि सकेसम्म नफुटोस र नेकपा एमाले पनि बलियो होस भन्ने नै मेरो चाहना रहेको हो। तपाईहरु अहिले पनि सकेसम्म मिलेर जानुहोस भन्ने सुझाव दिनुभयो’, उनले भने।
उनले भेटमा राष्ट्रपति भण्डारीले आफ्नो स्वास्थ्यको बारेमा पनि चिन्ता गरेको र आफूले व्यक्तिगत स्वास्थ्य भन्दा पार्टीको चिन्ता रहेको बताए।
राष्ट्रपति भण्डारी आउने सूचना पाएपछि नेता खनाल पार्टीको स्थायी समिति बैठकमा नगई घरमै बसेका थिए।

प्रतिक्रिया