कारोबार


वार्षिक ४ लाख रोजगारी सिर्जना गर्ने ‘भिजन पेपर–२०३०’ ल्याउँदै महासंघ

वार्षिक ४ लाख रोजगारी सिर्जना गर्ने ‘भिजन पेपर–२०३०’ ल्याउँदै महासंघ

नेपालखबर
चैत २१, २०७७ शनिबार १३:३०,

हरेक वर्ष चार लाख रोजगारी सिर्जना गर्ने लक्ष्यसहित नेपाल उद्योग वाणिज्य महासंघले ‘भिजन पेपर २०३०’ ल्याउने भएको छ।

महासंघले चैत २८ गते सय अर्ब डलरको अर्थतन्त्र र हरेक वर्ष चार लाख रोजगारी गर्ने योजनसहितको भिजन पेपर सार्वजनिक गर्न लागेको हो।

शेखर गोल्छाको अध्यक्षतामा नयाँ नेतृत्व आएसँगै महासंघ मुलुकको आर्थिक विकासमा विशेष भूमिका खेल्नुपर्ने योजनासहित उक्त भिजन पेपर तयारीमा जुटेको थियो।

महासंघले सय अर्ब डलरको अर्थतन्त्र र हरेक वर्ष चार लाख रोजगारी सिर्जना गर्ने लक्ष्यसहित भिजन पेपर ल्याउन लागेको अध्यक्ष शेखर गोल्छाले बताए।

महासंघले भर्खरमात्र गठन गरेको स्टार्टअप एन्ड इनोभेसन समितिले आगामि २ वर्षका लागि तयार गरेको योजनाका बारेमा जानकारी दिँदै अध्यक्ष गोल्छाले भिजन पेपरका लागि समितिहरुले तयार गरेको कार्यक्रमले ठूलो सहयोग हुने बताए।

हरेक वर्ष चार लाख रोजगारी कसरी सिर्जना गर्न सकिन्छ भनेर स्पष्ट रुपमा क्षेत्रहरुको छुट्याएको उनले बताए। ‘मुख्यगरी तीन क्षेत्रलाई प्राथमिकतामा राखेर यसका योजना बनाएका छौं,’ उनले भने।

उनका अनुसार योजनाको पहिलो प्राथमिकता कृषिमा रहेको छ। मुख्यगरी कृषि क्षेत्रलाई आमूल परिवर्तन गर्दै त्यसबाट रोजगरी सिर्जना गर्न सकिने महासंघको ठहर छ। ‘हामीले कृषि क्षेत्रमा कसरी र कस्तो आमूल परिवर्तन गर्न सकिन्छ भनेर अन्र्तराष्ट्रिय विज्ञसँग बसेर योजना बनाएका छौं,’ गोल्छाले भने।

दोर्सो हो सेवा क्षेत्र। सेवा क्षेत्रमा कस्तो खालको सुधार गर्नुपर्छ भनेर पनि टोलीले अध्ययन गरेको छ। त्यसका कुन–कुन कुरालाई सुधार गर्ने भनेर प्राथमिकताका साथ योजना बनाएको उनले बताए।

तेस्र्रो हो उद्योग। मुलुकको आर्थिक विकास गर्न र रोजगारी सिर्जना गर्न उद्योगको ठूलो भूमिका हुनेछ। यसमा पहिलोदेखि धेरै समस्या रहेको र यस बारेमा सरकार पनि जानकार छ। ‘यो भिजन पेपरले यी सबै समस्यालाई कसरी समाधान गर्न सकिन्छ भनेर सम्बोधन गर्नेछ,’ उनले भने।

महासंघमा उद्योग व्यवसायमा सफल उद्योगी व्यवसायीको रहेकाले मुलुकको अर्थतन्त्रको विकासमा महासंघ र यसका प्रतिनिधिहरुले ठूलो भूमिका खेल्ने उनले बताए। महासंघ मुलुकको आर्थिक विकास गर्न के–के गर्न सकिन्छ भनेर एकजुट भएर लागिपरेको उनको भनाइ छ।

उनले यस भिजन पेपरमा स्टार्टअप र इनोभेसनको पनि ठूलो महत्व रहेको बताए। ‘हामी इनोभेसनमा धेरै नै पछि परेका छौं’ उनले भने, ‘इनोभेसनमा जबसम्म अगाडि बढ्दैनौं तबसम्म हाम्रो लक्ष्य प्राप्ति हुनसक्दैन।’

हरेक देशले स्टार्टअपलाई विशेष योजना ल्याएको हुने भए पनि नेपालमा भने कर्जा प्राप्ति, तालिम, जोखिम मूल्यांकन गर्न नसकेको उनले बताए।

नवीनतम् सोँचमा आधारित रहेका ५० स्टार्टअपलाई लगानी जुटाउन महासंघ लागि परेको भन्दै यो भिजन पेपरको लागि एक खुट्किलो भएको गोल्छाले बताए।

उद्योग वाणिज्य महासंघको पहलमा ५० वटा स्टार्टअपलाई ५० व्यवसायीबाट लगानी जुटाउन लागिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad