शुक्रबारदेखि एक्कासी काठमाडौँ उपत्यकाको आकाशमा बाक्लो तुवाँलाले ढाकेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशका केही जिल्लामा डढेलो लागेको र सोबाट सिर्जित प्रदूषणका कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई पारदर्शिता घटेको हो।
आइतबारसम्म मौसमस्थिर रहने विभागका मौसमविद् गंगा नगरकोटीले जानकारी दिए। उनका अनुसार सोमबारदेखि केही बादल विकसित भई हावा पनि चल्ने देखिएकाले मौसममा केही सुधार हुने सम्भावना रहेको छ।
विभागका अनुसार देशमा स्थानीय वायुसँगै पश्चिमी वायुकोसमेत आंशिक प्रभाव रहेको छ। दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। देशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन÷चट्याङसहित फाट्टफुट्ट तथा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव छ डिग्री र अधिकतम तापक्रम २८ दशमलव दुई डिग्री सेल्सियस रहेको छ।
त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम एक दशमलव ९ डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३४ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ। रासस

प्रतिक्रिया