राजनीति


प्रधानमन्त्री बालेनले सीमाबारे स्पष्टीकरण त दिए तर नेपाललाई होइन, भारतलाई

प्रधानमन्त्री बालेनले सीमाबारे स्पष्टीकरण त दिए तर नेपाललाई होइन, भारतलाई

आइतबार रास्वपा महाधिवेशन उद्घाटन समारोहमा सम्बोधनका क्रममा प्रधानमन्त्री बालेन


नेपालखबर
असार ८, २०८३ सोमबार ६:१, काठमाडौँ

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले ‘नबोलौँ भन्छु बोल्ने दिन आइहाल्छ है’ भन्दै आइतबार चितवनको भरतपुरमा आयोजित आफ्नो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गरे। 

यस क्रममा उनले विपक्षी दलले व्यापक विरोध गरिरहेको नेपाल-भारत सीमाबारे संसद्‌मा आफूले दिएको विवादित अभिव्यक्तिबारे स्पष्टीकरण पनि दिने प्रयास गरे। 

उनले भने, 'सीमाको विषयमा पनि चिन्ता व्यक्त गरिएको छ। हामीले सीमाको विषयमा बोल्दा उहाँहरूले आपत्ति जनाउनुभयो। मलाई अचम्म लाग्यो। ठिक छ, तपाईंसँग प्रमाण छ भने ल्याउनुस्, हामीसँग त प्रमाण छ। हामीसँग कालापानी, लिपुलेकको प्रमाण छ। र, त्यसका लागि पहिले ब्रिटिसहरूले राज गर्दाका प्रमाणहरू हामी ल्याउँछौँ भनेका हौँ। हामीले बिट्रिसलाई मध्यस्थकर्ता राख्न खोजेका होइनौँ।'

उनले थपे, 'हामी छिमेकीहरूसँग आफैँ कुरा गरेर मिलाउँछौँ। हामीसँग प्रमाण छ र हामी ल्याउँछौँ। त्यो कुरा हामीले गरेका हौँ। यसमा आशंका मान्नुपर्दैन। मेरो राष्ट्रियताप्रति कुनै आशंका मान्नुपर्दैन, कसैले पनि मान्नुपर्दैन।'

तर विपक्षीले जुन कुराका लागि संसद् नै अवरुद्ध पारेका थिए त्यस विषयमा भने फेरि पनि उनी बोलेनन्। 

त्यो हो- 'नेपालले पनि भारतको जग्गा मिचेको छ।'

तर यस विषयमा आइतबार उनले केही भनेनन्। वास्तवमा उनले सीमाबारे आफ्नो अभिव्यक्तिका विषयमा नेपालको संसद्ले चासो दिएको कुरामा होइन, भारतले प्रश्न उठाएको कुरामा मात्र स्पष्टीकरण दिए।

जसमा भारतले भनेको थियो- द्विपक्षीय मामिलामा कुनै तेस्रो पक्षको प्रवेश स्वीकार गर्दैनौँ। 

यस्तो छ उनको पूरा सम्बोधन

नबोलौँ भन्छु बोल्ने दिन आइहाल्छ है। राष्ट्रिय स्वतन्त्र पार्टीको यस ऐतिहासिक पहिलो महाधिवेशनमा उपस्थित पार्टीका सभापति रवि लामिछानेज्यू, विशेष अतिथिका रूपमा आउनु भएका पूर्वप्रधानमन्त्रीज्यू, प्रमुख प्रतिपक्षी दलका सभापतिज्यू तथा सम्पूर्ण विशिष्ट अतिथिहरू, पार्टीका पदाधिकारीहरू, मन्त्री गणहरू, सांसदज्यूहरू तथा उपस्थिति सम्पूर्ण देशप्रेमी, राष्ट्रिय स्वतन्त्र पार्टीप्रेमी सबैलाई हार्दिक शुभकामना दिन चाहन्छु।

कुरा कताबाट सुरु गरौँ त आज! खासमा महाधिवेशन भनेको पार्टीको विषयमा बोल्ने, पार्टीलाई कसरी सुदृढ बनाउने, पार्टीलाई कसरी बलियो बनाउने हाम्रो पार्टी जुन एउटा सानो महत्त्वाकांक्षा, सानो इच्छा, देश बनाउने हुटहुटीले सुरु भएको पार्टी आज महाधिवेशनको पहिलो दिनसम्म आउँदै गर्दा खेरी, यो पार्टी आन्दोलनको रूपमा भएको पार्टी, भावनाको रूपमा भएको पार्टीलाई संस्थागत गर्ने स्थापित गर्ने दिनमा आउँदा खेरी हामीले धेरैजसो पार्टीलाई कसरी एक ठाउँमा ल्याउने भन्नेनै कुरा गर्नुपर्छ।

आज विभिन्न विशिष्ट अतिथिहरूले विभिन्न सल्लाह दिनु भएको छ, शुभकामना दिनुभएको छ, सुझावहरू पनि दिनुभएको छ, चिनता पनि लिनुभएको छ।

सरकार भनेको त गाडी जस्तो हो, गाडीमा एक्सिलेटर मात्रै होइन, ब्रेक पनि लगाउनुपर्छ भनेर चिन्ता पनि मान्नुभएको छ। त्यस्तो चिन्ता चाहिँ लोकल रोडहरूमा हिँड्दा खेरी गाडी सीधा गइराख्दा खेरी कहिले लेफ्टबाट गाडी आउँछ कहिले राइटबाट मान्छेहरू आउँछ। तर हाम्रो गाडी लोकल रोडमा हिँडेको गाडी होइन, हाम्रो एक्सप्रेस वेमा हिँडेको गाडी हो, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ।

गन्तव्यमा पुग्नुभन्दा अगाडि ब्रेक लगाउन जरुरी हुँदैन। र, हाम्रो गाडी अनियन्त्रित पनि छैन। वातावरण पनि मिलेर गएको छ। त्यही भएर हाम्रो पार्टीप्रति हाम्रो सरकारप्रति जुन चिन्ता लिनुभएको छ, धेरैधेरै धन्यवाद पनि दिन चाहन्छु ।

चिन्ता लिनु राम्रो कुरा हो। जनता र जनताको भोट भनेको हावाजस्तो हुन्छ, हावा कहिले यताबाट चल्छ कहिले उताबाट चल्छ भनेर चिन्ता लिनुभएको छ।

हामीले कुनै हावा चलाएका छैनौँ। हामीले बाढी ल्याएर खोला फर्काएका छौँ। र, खोला एकचोटि सिधा बाटो आफ्नो सही बाटोमा फर्किएपछि निरन्तर त्यही बाटो बगिरहन्छ।

यो हावा जस्तो कहिले लेफ्टराइट, उत्तरदक्षिण, पूर्वपश्चिम बग्दैन। त्यही भएर चिन्ता लिनहुनेहरूलाई धेरैधेरै धन्यवाद दिन चाहन्छु। यस्तै चिन्ता हामीलाई दिइराख्नुहोला, हामीलाई मार्गदर्शन दिइराख्नु होला।

मेरो एक जना अनन्य मित्र अहिले उहाँ हुनुहुन्न। उहाँले सधैँ भन्नुहुन्थ्यो मलाई मैले म्युजिक गर्दा खेरी– बालेन स्पटलाइटमा आउन सहज हुन्छ, तर त्यो स्पटलाइटलाई मेन्टेन गर्न गाह्रो हुन्छ सधैँ। त्यस्तै चिन्ता आज यहाँ हाम्रा आदरणीय नेता गणले पनि लिनुभएको छ। त्यो स्पटलाइटमा राष्ट्रिय स्वतन्त्र पार्टी आएको छ, दुई तिहाइ आएको छ, यो मेन्टेन गर्न गाह्रो हुन्छ। तर यहाँहरू सबैलाई के भन्न चाहन्छु भने हामीलाई स्पटलाइटमा हामीले ल्याएको होइन, जनताले ल्याएको हो। र, जनता सधैँ स्पटलाइटमा थियो, स्पटलाइटमा छ, स्पटलाइटमै रहन्छ।

हामीले दिएको प्रकाश नेतालाई दिएको प्रकाश होइन, हाम्रो सूर्य नेताप्रतिमात्रै चम्किँदैन। हाम्रो सूर्यले जनतालाई प्रकाशित गर्छ। त्यही भएर यो जनता सधैँ अगाडि नै रहन्छ। र, आज पार्टीप्रति। र, आज पार्टीको विषयमा विशेष गरी कुरा राख्नुपर्छ भनेरै हाम्रो पार्टीको चिन्तन कस्तो हो लेफ्ट हो, राइट हो, सेन्टर हो, धेरै चिन्ता लिइराख्नुपर्दैन। हाम्रो पार्टी विकासवादी पार्टी हो, काम गर्ने पार्टी हो।

हाम्रो पार्टी अगाडि बढ्ने पार्टी हो, हामी प्रतिशोध साँध्ने, पुरानो पुरानो कुरा लिएर निहुँ खोज्दै बस्ने होइन। निहुँ खोज्नु परे अगाडि बढ्दै गर्दा निहुँ खोजिन्छ। कस्तो केसमा मात्रै भन्दा खेरी विगतका दिनहरूमा कुनै फटाही भएका छन्, सरकारी सम्पत्तिको दोहन भएको छ, सरकारी रकमको दोहन भएको छ भने त्यहाँ निहुँ खोज्न जरुरी हुन्छ। त्यहाँ निहुँ खोज्छौँ हामी। र, निहुँ खोज्दै गर्दा खेरी अख्तियारलाई ५ घण्टा सोधपुछ गर्नुपर्छ, सरसल्लाह लिनुपर्छ भने हामी ५ घण्टा मात्रै होइन, ५ वर्ष गर्छौँ। ५ वर्ष अख्तियारलाई राखेर सरसल्लाह गरिन्छ। त्यसमा चिन्ता लिइराख्नुपर्दैन।

हामीले नियम कानुन मिच्दैनौँ। नियममा बसेरै काम गर्छौँ, नियमभन्दा बाहिर जाँदैनौँ। हाउभाउ हेर्दा खेरी अलिकति अनियन्त्रित देखिएला। त्यो देखिएको मात्रै हो, सबै चिज नियन्त्रणमा छ, कुनै चिज आउटअफ कन्ट्रोल गएको छैन।

चिन्ता कुनै विषयमा लिनुपर्दैन। सीमाको विषयमा पनि चिन्ता लिनुभएको थियो। हामीले सीमाको विषयमा बोल्दा खेरी, पक्कै पनि जुनसुकै देशसँग सीमाको विषय कुरा गर्दाखेरी उहाँहरूले पनि आफ्नो आपत्ति जनाउनुहुन्छ। आपत्ति जनाउनुभयो मलाई अचम्म लाग्यो। ल ठिक छ तपाईंहरूसँग प्रमाण छ भने ल्याउनुस्, हामीसँग प्रमाण छ।

हामीसँग कालापानी, लिपुलेकको प्रमाण छ। र, त्यो प्रमाण लिनलाई हामीले पहिला ब्रिटिसले राज गर्दा त्यो प्रमाण ल्याउनुपर्छ भने ल्याउँछौँ भनेका हौँ, हामीले ब्रिटिसलाई मध्यस्थकर्ता राख्न खोजेका होइनौँ।

हामी हाम्रो छिमेकीहरूसँग आफैँ कुरा गरेर मिलाउँछौँ। हामीसँग प्रमाण छ र, हामी ल्याउँछौँ। त्यो कुरा गरिएको हो। यसमा आशंका मान्नु पर्दैन। मेरो राष्ट्रियता प्रति कुनै आशंका मान्नुपर्दैन। कसैले पनि मान्नु पर्दैन। र, विशेष गरी पार्टीको कुरा गर्दा खेरी पार्टीको महाधिवेशन चल्दै छ, भोलि चुनाव होला र पार्टीको महाधिवेशनमा पहिलेदेखि हाम्रो संस्कार कताकता बिग्रिएको थियो। गुट बनाउने, उपगुट बनाउने।

यहाँ महाधिवेशन प्रतिनिधिहरू हुनुहुन्छ होला, केन्द्रीय सदस्य उठ्छु भनेर बस्नुभएको व्यक्तिहरू हुनुहुन्छ होला, पदाधिकारी उठ्छु भनेर बस्नुभएका व्यक्तिहरू हुनुहुन्छ होला। तपाईंहरूलाई एउटा कुरा स्पष्ट के भन्न चाहन्छु भने एउटा राम्रो नेता बन्नलाई, एउटा राम्रो राजनीतिज्ञ बन्नलाई जनताको आस्था, जनताको माया जित्नुपर्छ, कुनै समूहको मायाले हुँदैन। त्यही भएर समूह बनाउनेको पछाडि नलाग्नुहोला। त्यस्तो बिउ अहिले नै नरोप्नु कि त्यो बिउ भोलि रुख बनेर बीचबाट फाँड्नुपरोस्। त्यही भएर यस्तो बिउ रोप्ने काम, यस्तो रुख पलाउने कामहरू हामी चाहिँ नगरौँ। हामीले पुरानाहरूबाट सिक्नुपर्छ।

र, एउटा कुरा के भन्न चाहन्छु भने हामी नयाँ पार्टी हौँ, नयाँ सोचले गर्दा हो। हामीले हरेक चुनावमा एउटै एजेन्डा बोकेर जाने, सुशासन ल्याउँछु भन्या छ, सुशासनको लागि एजेन्डा बोक्या छ, सुकुम्वासी समस्या हटाउँछु भन्या छ, हामीले यही कार्यकालमा सुकुम्वासी समस्या समाधान गर्छौँ, सहकारी समस्या समाधान गर्छौँ। अर्को चुनावमा फेरि यही एजेन्डा बोकर जाँदैनौँ। अर्को चुनावमा नयाँ एजेन्डा बोकर जाने हो।

भोलि पर्सि हुने चुनाव भयो। अथवा केही भयो। चुनावमा कसैलाई सीसीएम बन्न लाग्छ, कसैलाई पदाधिकारी। बन्नुभयो ठिकै छ बन्नुभएन भने पनि चिन्ता किन लिनुपर्दैन भन्दा खेरि हाम्रो गठबन्धनको सरकार होइन, हाम्रो एकल पार्टी सरकार हो।

र, एकल पार्टीको सरकार हुँदा के बुझ्नुपर्छ भन्दा हरेक मन्त्री प्रधानमन्त्री हो, हरेक सांसद प्रधानमन्त्री हो, हरेक पदाधिकारी प्रधानमन्त्री हो, हरेक सीसीएम प्रधानमन्त्री हो, हरेक कार्यकर्ता प्रधानमन्त्री हो, हरेक आस्था राख्ने मान्छे प्रधानमन्त्री हो। तपाईंले सीसीएम जित्नुभएन, म सीसीएम भएको भए यो गर्थेँ भन्ने छ भने आउनुस् भन्नुस् पार्टीलाई भन्नुस्। तपाईं सांसद हुन सक्नुभएको छैन, म सांसद भएको भए यो काम गर्थेँ भनेर लिएर आउनुस्, तपाईंलाई जे जे गर्न मन लाग्छ यो पार्टीले गर्छ। यो सरकारले गर्छ।

हाम्रो पार्टीका पदाधिकारीहरू र सीसीएमहरू विभिन्न जिल्लाबाट आउनुभएको छ। उहाँहरूसँग कनेक्ट भएर उहाँहरू र सरकार एउटै हो भन्ने अनुभूति गराउन अनुरोध गर्न चाहन्छु।

अझै बोलौँ? के गरौँ?

ठिकै छ, अब नबोलौँ भन्दा भन्दै पनि  बोल्ने दिन आइहाल्छ भन्या जस्तै। ठिकै छ अब अर्को यो पछाडिको मन्तव्य हाम्रो सभापतिज्यूको रहेको नै छ। एउटा कुरा फेरि अन्तिममा के भन्न चाहन्छु तपाईंहरूलाई भन्दा खेरी पार्टी चाहिँ एकै ठाउँमा राख्ने कुरा हो। पार्टीलाई एक बनाउनुपर्छ। आज, भोलि, पर्सि चाहिँ हामी पार्टीको बारेमा सोचौँ, त्यो पछाडि ५ वर्ष देशको बारेमा सोचौँ, धेरैधेरै धन्यवाद।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad