नेकपा एमालेमा माधव नेपाल पक्षका नेता योगेश भट्टराईलाई अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले धन्यवाद दिँदै दुइटा प्रश्न गरेका छन्।
नेता भट्टराईले २ दिनअघि सामाजिक सञ्जालमार्फत पार्टी एकताका लागि हरसम्भव प्रयासका लागि सबैसँग गरेको अपिलप्रति ओली समूहका एमाले केन्द्रीय सदस्य थापाले आज (शनिबार) सामाजिक सञ्जालबाटै प्रतिक्रिया जनाएका हुन्।
पार्टी एकताका लागि गरेको अनुरोधलाई ‘सच्चाइबोध’को संज्ञा दिँदै थापाले भट्टराईलाई धन्यवाद भनेका छन्, तर सँगसँगै दुइटा प्रश्न राखेका छन्।
पूर्व पर्यटनमन्त्रीसमेत रहेका नेता भट्टराईले गत बिहीबार ट्विटरमा लेखेका छन्, ‘नेकपा एमालेको एकता कायम राख्न सबैले हरसम्भव कोसिस गरौं। थोरै पनि लचकताबाट यो सम्भव छ। बिग्रेपछि हुने नोक्सानीले मुलुकलाई दसकौं पछि धकेल्नेछ। अतिवाद र अस्थिरताले केसम्म गर्छ निकट विगतलाई सम्झे मात्र पुग्छ।’
जवाफमा आज (शनिबार) सूर्य थापाले लेखेका छन्, ‘योगेशजीको सच्चाइबोधलाई धन्यवाद ! तर यी तथ्य बिर्सनै नमिल्ने छन् : १. बिगार्न बाँकीचाहिँ के नै राख्नुभयो? पुस ५ गतेयता हेरिटेज गार्डेनसम्मका तथाकथित भेलाहरूमा आफ्नै भूमिकाको आत्मसमीक्षा गर्नुभएको छ? २. फागुन २३ पछि पार्टीनिकट पत्रकारहरूका फुटगत भेला कतिवटा गर्नुभयो?’
Shares
प्रतिक्रिया