राजनीति


नेपालको परराष्ट्र नीति राष्ट्रिय हित र बदलिँदो वैश्विक परिवेश अनुकूल हुनुपर्छ: परराष्ट्रमन्त्री खनाल

नेपालको परराष्ट्र नीति राष्ट्रिय हित र बदलिँदो वैश्विक परिवेश अनुकूल हुनुपर्छ: परराष्ट्रमन्त्री खनाल

नेपालखबर
असार १५, २०८३ सोमबार २०:५, काठमाडौँ

परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीति राष्ट्रिय हितमा केन्द्रित रहँदै बदलिँदो वैश्विक परिस्थितिअनुसार परिमार्जित र सुदृढ हुनुपर्नेमा जोड दिएका छन्।

सोमबार काठमाडौँमा आयोजित ‘प्राध्यापक यदुनाथ खनाल व्याख्यान श्रृङ्खला’को पाँचौँ संस्करणलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्। 

‘नेपालको परराष्ट्र नीतिः भू–राजनीतिक र भू–आर्थिक प्रवृत्तिहरूको मार्गनिर्देशन’ विषयक कार्यक्रममा मन्त्री खनालले अन्तर्राष्ट्रिय वातावरणमा भइरहेका गहन परिवर्तनहरू, प्रमुख शक्ति राष्ट्रहरूबीचको प्रतिस्पर्धा र प्रविधिको तीव्र विकासले नेपाल जस्ता राष्ट्रका लागि चुनौती र अवसर दुवै सिर्जना गरेको उल्लेख गरे।

उनले नेपालले यी परिवर्तनहरूलाई स्पष्टता, आत्मविश्वास र विवेकपूर्ण ढङ्गले सामना गर्नुपर्ने बताए। मन्त्री खनालले नेपालको परराष्ट्र नीति संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशीलको सिद्धान्त, असंलग्नता र शान्तिपूर्ण सहअस्तित्वमा दृढ रहेको पुनरावृत्ति गरे।

असंलग्नतालाई निष्क्रियताका रूपमा बुझ्न नहुने तर्क गर्दै उनले यसलाई राष्ट्रिय हितका आधारमा स्वतन्त्र निर्णय लिन सक्ने सक्रिय नीतिका रूपमा परिभाषित गर्नुपर्ने बताए ।

कुटनीतिलाई मुलुकको आन्तरिक वस्तुस्थितिको प्रतिबिम्बका रूपमा अर्थ्याउँदै उनले भने, ‘स्वदेशमा राजनीतिक स्थिरता र आर्थिक प्रगति भए मात्र वैदेशिक क्षेत्रमा कुटनीतिक साख बलियो हुन्छ। त्यसैले सरकारले सुशासन र तिब्र आर्थिक विकासलाई प्राथमिकतामा राखेको छ। नेपालको वैदेशिक सम्बन्ध कुनै पनि शक्ति राष्ट्रको पक्षमा उभिने जेरो–सम गेम होइन। हामी सबै मित्र राष्ट्रहरूसँग सन्तुलित र रचनात्मक सम्बन्ध कायम राख्न चाहन्छौँ।’

उनले हालको कुटनीति परिणाममुखी र विकास केन्द्रित हुनुपर्ने भन्दै विदेशस्थित नेपाली नियोगहरूलाई आर्थिक कुटनीति, व्यापार प्रवद्र्धन, लगानी आकर्षण र पर्यटन विकासमा परिचालन गरिएको जानकारी दिए। भू–राजनीतिलाई केवल अवरोधका रूपमा मात्र नहेरी यसलाई जोड्ने पुलका रूपमा सदुपयोग गर्नुपर्ने मन्त्री खनालको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad