त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सबै आंगीक क्याम्पसलाई स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का संरचना हटाउन निर्देशन दिएपछि कांग्रेसनिकट नेपाल विद्यार्थी संघले आपत्ति जनाएको छ।
सोमबार एक विज्ञप्ति जारी गर्दै नेविसंघले यस्तो निर्देशन तुरुन्त स्थगित गर्न माग गरेको हो।
‘संघ त्रिभुवन विश्वविद्यालय र शिक्षा मन्त्रालयलाई संविधानको पालना गर्दै सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेशको तत्काल सम्मान गर्न र यो विवादित पत्र एवं निर्देशनलाई तुरुन्त स्थगित गर्न जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
‘अदालतको उक्त आदेश बहाल रहँदारहँदै, त्यसको डेढ महिनापछि असार ९ मा मन्त्रालयले पत्र काट्नु र असार १५ मा त्रिविले निर्देशनात्मक पत्र जारी गर्नु स्पष्ट रूपमा अदालतको अवहेलना हो,’ अध्यक्ष करुणा कटुवालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
साथै बलजफ्ती कदम चालिएमा शान्तिपूर्ण एवं रचनात्मक संघर्षका मार्गहरू अपनाउन बाध्य हुने पनि विज्ञप्तिमा जनाइएको छ।
सोमबार त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले मातहतका सबै आंगिक क्याम्पसलाई पत्र पठाएर स्ववियुका संरचना हटाउन भनेको छ।
निर्देशनालयका उपप्रशिक्षक सन्देशकुमार रेग्मीको हस्ताक्षर रहेको पत्रमा ६० दिनभित्र दलिय विद्यार्थी संगठन हटाउन भनेको छ।
यससँगै निर्देशनालयले स्ववियुको ठाउँमा ‘स्टुडेन्ट काउन्सिल’ वा ‘भ्वाइस अफ स्टुडेन्ट’ गठन गर्न पनि भनेको छ। पत्रमा ९० दिनभित्र ‘स्टुडेन्ट काउन्सिल’ गठन गरी त्यसको जानकारी निर्देशनालयमा गराउन भनिएको छ।
Shares

प्रतिक्रिया