पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको परराष्ट्र नीतिलाई परम्परागत रक्षात्मक अवस्थाबाट माथि उठाई समयसापेक्ष र गतिशील बनाउनुपर्नेमा जोड दिएका छन्।
सोमबार काठमाडौँमा आयोजित ‘यदुनाथ खनाल स्मृति व्याख्यान’ श्रृङ्खलामा ‘नेपालको परराष्ट्र नीतिः भू–राजनीतिक र भू–आर्थिक प्रवृत्ति’ विषयक कार्यपत्र प्रश्तुत गर्दै उनले यस्तो धारणा राखेका हुन्। डा. भट्टराईले पृथ्वीनारायण शाहको पालादेखि प्रचलनमा रहेको ‘दुई ढुङ्गाबीचको तरुल’ को रूपकलाई बदलिएको विश्व परिवेशमा परिमार्जन गर्नुपर्ने तर्क गरे।
वैदेशिक सम्बन्धमा व्यावहारिक आदर्शवादको नयाँ दर्शन अघि सार्दै पूर्वप्रधानमन्त्री भट्टराईले आदर्श र व्यवहारलाई एउटै सिक्काका दुई पाटाका रूपमा व्याख्या गरे। नेपालमा २०७२ को संविधान जारी भएसँगै राजनीतिक संघर्षको चरण पूरा भई विकास र सुशासनको नयाँ युग शुरु भएको उनको भनाइ थियो। बदलिएको राजनीतिक परिदृश्यमा नेपालको परराष्ट्र नीति अब ‘विकास कुटनीति’मा केन्द्रित हुनुपर्नेमा उनले जोड दिए।
उनले भने, ‘पूर्व–औद्योगिक कालमा हाम्रो अर्थतन्त्र अन्तर्मुखी हुँदा ‘तरुल’को रूपक सान्दर्भिक थियो। तर चौथो औद्योगिक क्रान्तिको वर्तमान युगमा नेपालले आफ्नो छुट्टै पहिचानसहित विश्वसँग जोडिनुपर्छ। अब हामी दुई ढुङ्गाबीच थिचिएको तरुल मात्र होइन, दुई विशाल छिमेकीका बीचमा आफ्नो सौन्दर्य र पहिचानसहित फुल्ने लालीगुराँस बन्नुपर्छ। हामी व्यावहारिक हुनुपर्छ, तर हामीसँग स्पष्ट आदर्श र सैद्धान्तिक लक्ष्य हुनुपर्छ।’
छिमेकी मुलुकहरूले नेपालका कयौँ विकास परियोजनाहरूलाई आर्थिक दृष्टिकोण भन्दा पनि सुरक्षाको कोणबाट हेर्ने गरेको उल्लेख गर्दै डा. भट्टराईले यसलाई चिर्न संस्थागत क्षमता अभिवृद्धि गर्नुपर्ने सुझाव दिए। उनले प्रधानमन्त्री कार्यालयले विभिन्न मन्त्रालयहरूबीच समन्वय गरी विकास कुटनीतिलाई प्रभावकारी रूपमा अगाडि बढाउन नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए।
नेपालको राजनीतिमा वैकल्पिक शक्तिको उदय र सामाजिक–राजनीतिक परिवर्तनले नयाँ आधारभूमि तयार पारेको चर्चा गर्दै उनले परराष्ट्र नीतिमा समेत पुरानै निरन्तरतामा सिमित नभई ‘नयाँ प्रस्थान’ गर्न आवश्यक रहेको औंल्याए। उनले आफ्नो कार्यपत्रमा उल्लेख गरिएका विषयहरूमा थप छलफल र बहस गर्न आफू सधैँ तयार रहेको समेत स्पष्ट पारे।
Shares

प्रतिक्रिया